मंगलबार, कार्तिक ४ २०८३

मंगलबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

लामो पुल रातमा पनि झिलीमिली, राती पनि पर्यटकको आकर्षण

लामो पुल रातमा पनि झिलीमिली, राती पनि पर्यटकको आकर्षण

बिजुली राखेकोले यो पुलले रातको समयमा आर्कषण बढाएको हो ।


  • ढोरपाटन संबाददाता
  • पुष ११ २०७७, शनिबार

बागलुङ, ११ पुस– पर्यटक आर्कषण गर्न बनाइएको नेपालकै लामो झोलुंगे पुलमा दिउँसो मात्र नभई रातमा पनि पर्यटक पुग्न थालेका छन् । रातको समयमा यो पुलमा राखिएका ३ सय बढी बत्तीले झिलीमिली बनाएपछि धेरैको आर्कषणको केन्द्र बनेको हो ।
बागलुङ सदरमुकामदेखि पर्वतको पाङ जोड्ने यो पुलले यात्रीलाई सहज मात्र बनाएको छैन, आर्कषण पनि थपेको छ । यहाँबाट धौलागिरी हिमाल स्पष्ट देखिन्छ । त्यस्तै मालढुंगादेखि बागलुङ आउने र बेनी जाने सडकका यात्रीले पनि यो पुलको आर्कषण देख्न सक्छन् ।
दिउँसोमा चासो नराखेका यात्रीले रातको समयमा झिलीमिली देखेर आर्कषित भएको पोखराकी सिर्जना पौडेलले बताइन् । ‘आउजाउ गर्दा अग्लो र लामो पुल देखिन्थ्यो, रातको समयमा यसले बढी आर्कषण दिने रहेछ’ उनले भनिन्, ‘रमाइलो लागेर श्रीमानसहित रातको समयमा पनि घुम्न गयौं ।’
बिजुली राखेकोले यो पुलले रातको समयमा आर्कषण बढाएको हो । लामो पुलले बागलुङका होटल व्यवसायमा पनि राम्रो प्रभाव परेको होटल संघका अध्यक्ष निलेस राजभण्डारीले बताए । बागलुङमा बस्नुपर्छ भन्ने मान्यता पुलले पनि दिन थालेको उनको भनाई छ ।
बागलुङ नगरपालिकाको रामरेखादेखि छिमेकी पर्वतको पाङ जोड्ने यो झोलुंगेपुल ५ सय ६७ मीटर लामो छ । कालीगण्डकी नदीदेखि १ सय ६५ मीटर उचाईमा बनेको यो पुल जति लामो ‘सिंगल स्पाम’ देशभर कतै छैन । यो पुलले डेढ घण्टाको बाटोलाई १० मीनेटमा छोटो बनाइदिएको छ ।
कालिका मन्दिर आएका धार्मिक पर्यटकलाई बागलुङमा एकदिन भएपनि अड्याउने अभियानमा पुल सहयोगी बनेको बानपा १ का वडा सदस्य सूर्य लामिछानेले बताए । बिहान मन्दिर आएको मानिसले दिउँसो पञ्चकोट घुम्ने र बेलुकी अग्लो पुलमा घुम्ने गरेका छन् । यसरी दिनभरी घुम्दा बागलुङका होटलमा बास बस्ने पर्यटक बढ्ने विश्वास व्यसायीको छ ।
कोरोना संकट विस्तारै कम भएकोले पर्यटकको आगमन बढिरहेको छ । पुल बनेकै कारण पर्वततर्फ होटल तथा रेष्टुरेन्ट खुलिसकेका छन् । ‘अग्लो र लामो पुल बनेको थाहा पाएर घुम्न आएका हौं’ चितवनबाट आएका सन्देश अधिकारीले भने, ‘पुलबाट कालीगण्डकीको खोंच, हिमाल हेर्न पाइने रहेछ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->