बागलुङ, १२ पुस– दिनभर काम गरेन भने परिवारको बिहान बेलुकाको छाक टर्दैनथ्यो । श्रीमान र श्रीमती मिलेर दिनभर कमाएको पैसाले खर्चको जोहो गरेर चार जनाको परिवारको हातमुख जोड्ने बाटो बनाउँथिन टुल्की ।
गाउँमा सिजनमा हुने काम र काम नहुँदा गिटी कुट्ने र दाउरा चिर्नेसम्मका काम उनीहरु दुवै मिलेर गर्थे । टुल्कीको घरमा चुल्हो नबलेको दुई साताभन्दा धेरै भयो । त्यहि चुल्होमा आगो बल्नका लागि मेहनत गर्ने पर्वतको जलजला गाउँपालिका–७ की चित्रकुमारी दर्जि (टुल्की) र उनका श्रीमान सेतु परियार दुई सातादेखि बिपी कोईराला मेमोरियल क्यान्सर अस्पतालमा छन् ।
दुईभाई स–साना छोरा छिमेकीको सहारामा छन् । ज्याला लिएरै परिवार पालेकी टुल्की अहिले अस्पतालको शैयामा जीवन मरणको दोसाँधमा छन् । उनलाई चिकित्सकले पाठेघरको क्यान्सर भएको भनेका छन् । टुल्कीको समस्या पहिला पनि थियो । उपचार खर्चको अभावमा उनी समयमा अस्पताल पुग्नै सकिनन् । आर्थिक अभावमै रुमलिएका सेतुले पनि समयमा टुल्कीलाई अस्पताल पुराउन नसकेको बताउँछन् ।
‘जाँच्न पर्छ भन्ने त थाहा थियो तर उपाय थिएन्’ सतु भन्छन् ‘अहिले अस्पतलामा छौं, घर छोराको हातमुख जोर्ने बाटो छैन, यता बुढीको उपचार गर्ने खर्च ।’ समय धेरै घर्केकाले टुल्कीको मृगौलामा समेत समस्या रहेको चिकित्सकहरु बताउँछन् । मजदुरी गरेर खाने परिवारमा ठुलो रकम खर्चेर उपचार गर्नुपर्ने अवस्था आएको परियारले गुनासो गरे ।
‘मेरो मात्रै त केही चल्दैन, कसैले सहयोग गर्नुभयो भने उपचार होला, नत अचल सम्पत्ति छ नत पैसा’ परियार भन्छन् ‘उपचार खर्च नपाएरै हामी गरिबलाई मर्नुपर्ने भो ।’ दुई साता पहिले अस्पताल पुगेका उनीहरुले घरबाट निस्किने बेला लिएको ऋणले काम चलाएका छन् । आँदो साता चिकित्सकले उपचारमा लाग्ने खर्चबारे जानकारी गराउँछु भनेका छन् । लाखौं रुपैयाँ लाग्ने अनुमान चिकित्सकले गरेका आँफुहरुले गुहार मागिरहेको परियारले बताए ।
दैनिक ज्याला मजदुर गर्दै जिविकोपर्जन गरेका दर्जी परिवारले आर्थिक समस्या भएको भन्दै उपचारमा आर्थिक सहयोग गर्नको लागि सहयोगको अअनुरोध गरेको छ । ३९ वर्षकी टुल्कीको ज्यान बचाउन सक्दो सहयोग गरीदिन स्थानिय युवा विकास गिरीले बताए । ‘दुखले परिवार पालेका थिए, बज्र परेको छ, हामीले दिनसक्ने सानो सहयोगले ज्यान बच्छ भने सहयोग किन नगर्ने’ गिरीले भने सहयोग अभियान चलाउँछौं, ससाना भाईहरुको मुख हेरेर सहयोग गरीदिन सबैमा अनुरोध छ ।’ सहयोग संकलनका लागि युवाहरुले सांग्रिला विकास बैंकमा खाता खोलेका छन् ।





