मंगलबार, कार्तिक ४ २०८३

मंगलबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

कडकनाथसहितका लोभलाग्दा चरा फार्म

कडकनाथसहितका लोभलाग्दा चरा फार्म


  • ढोरपाटन संवाददाता
  • पुष १४ २०७७, मंगलबार

बागलुङ, १४ पुस– चरा प्रजाति पालनबाट पनि लोभलाग्दो कमाई र धेरै मानिसको आर्कषणको केन्द्र बन्छ भन्ने कुरा बागलुङका एक किसानले देखाएका छन् ।

हाइब्रिड र ब्रोइलर कुखुरा पाल्ने र त्यसबाट फाइदा खोज्नेको भीडमा बागलुङ नगरपालिका वडा नं. ३ का बैकुण्ठ सापकोटाको लोकल कुखुरासहितका चरा प्रजातिको फर्मले धेरेको मन जितेको हो । अर्गानिक खेती गर्न खोज्नेहरु जस्तै सापकोटाको फर्ममा पनि धेरै फरक प्रजातिका चराहरु छन् । ती सबै अर्गानिक प्रकारकै छन् ।
लोकल उपभोक्ताको मन जित्नकालागि सापकोटाले केही वर्षदेखि यो नौलो काम थालेका हुन् । उनको यो कामबाट अर्गानिक स्वाद खोज्ने उपभोक्ताको माग पूरा भएको छ । उनको कमाई पनि बढेको छ ।

सापकोटाले केही वर्षदेखि थालेको लोकल कुखुराको उत्पादन बढाउ“दै चरा प्रजाति समेत थपेर आफ्नो फर्मलाई धेरैको आर्कषणको केन्द्र बनाएका हुन् । सापकोटाले कडकनाथ, जंगली कुखुरा (लुइचे), घाँटी खुइले, गुजुमुजे, उल्टे, साकिनी, फेन्सी, वेन्टम, पोलिस, सिल्की, बट्टाई चरा, टर्की चरा, जुरेली लगायतका चरा पालेका छन् । ती चरामध्ये एकदुइ प्रजाती देखाउनका लागि मात्रै हुन् । तर सौखिनको रुपमा पाल्नेले ती चराका चल्ला पनि हजारौं मूल्यमा लैजाने गरेका छन् । उनको फर्ममा लोकल र कडकनाथ कुखुरा खरिद गर्ने र फर्मका अन्य चरा हेर्नपनि मानिस आउन थालेका छन् ।

tarki bird

सापकोटाका मामा जगदिश पौडेलले दशकअघि कम्तिमा १२ घण्टा काम गर्न सुझाव दिएपछि उनले कुखुरा पालन थालेको बताए । ‘मामाको भनाइबाट बल्ल मैले काम गर्नुपर्छ भन्ने सिकेँ’, उनले भने, ‘आफ्नै फर्ममा काम गर्दा घरमै खरिद गर्नेको भीड लाग्ने गरेको छ ।’ सापकोटाले एकपटकमा २ हजार २ सय अण्डा कोरल्ने ह्याचरी मेसिनसमेत भित्राएपछि परिवारका चारजना सदस्यले दैनिक १२ घण्टा काममै बिताउनुपरेको बताए । सात लाख खर्चेर सापकोटाले ह्याचरी मेसिन ल्याएका हुन् । मेसिनमा मासिक ४ हजार अण्डा कोरल्न सकिन्छ । बागलुङसहित काठेखोला गाउँपालिका र पर्वतका विभिन्न गाउँबाट उनको मेसिनमा अण्डा कोरल्न आउने गरेका छन् । सापकोटाले लोकल कुखुरासहितका चराहरुको अण्डा कोरलेर मासिक ४ हजार वटासम्म बेच्ने गरेको बताए । लोकल भए प्रतिगोटा १ सय र कडकनाथको चल्ला भए प्रतिगोटा ३ सयसम्म कोरलेको लिने गरेका छन् ।

सापकोटाले थालेको अर्गानिक उत्पादनबाट कमाइ समेत बढेको बताए । उनको खोरमा झण्डै १ हजार ५ सय कुखुरा छन् । तीमध्ये १ हजार स्थानीय जातका छन् भने तीन सय कडकनाथ, दुई सय अन्य प्रजातिका कुखुरा छन् । ती सबै कुखुराहरु चरन मन पराउँछ । कडकनाथको बजार मूल्य प्रतिकेजी २ हजार ५ सय रुपैयाँ छ । फेन्सी कुखुरा एउटाको १० हजारसम्म पर्छ । लोकल प्रजातिका कुखुरा भएकोले सापकोटाले देशका २० जिल्लासम्म बिक्री गर्न सकेको बताए । उनले लोकल कुखुरा प्रति गोटा २ हजार देखि ४ हजार रुपैयाँसम्म बेच्न सकेको बताए । वन कार्यालयको अनुमति लिएर उनले कोइली समेत पाल्ने तयारी थालेका छन् । उनले वार्षिक १० लाखबढी कमाइ गर्न भ्याउ“छन् ।

सापकोटाको छिमेकी विजय शर्मा र गणेश शर्माले पनि उनको कामबाट प्रभावित भएर कुखुरा र भैँसी पालन थालेका छन् । सापकोटा प्राविधिक जेटिए समेत भएकोले उपचार र औषधिको मात्रा बारे राम्रो ज्ञान राख्छन् । लोकल र कडकनाथ कुखुराबाट धेरै प्रकारका रोगसमेत निको हुने भन्दै खरिदकालागि ग्राहक आउने गरेका हुन् । झण्डै १२ वर्षसम्म सापकोटा गैरसरकारी संस्थाको अगुवा भएर काम गरेका थिए । दाताको अनुदान पाएसम्म मात्र एनजिओले काम गर्छन् भन्ने आरोप चिरेर उनले आफै कृषि कर्म गरेर देखाएको उनका छिमेकी विजय शर्माले बताए । उनको कामबाट प्रभावित भएपछि भेटेनरी अस्पताल तथा पशुस्वास्थ्य कार्यालयले अनुदानकालागि तयारी गरेको पशुस्वास्थ्य अधिकृत केशव पौडेलले बताए । ‘मेहेनत गरेका किसानको लगानीमा साथ दिने कार्यालयको योजना छ’, उनले भने, ‘प्रक्रिया पुगेकालाइ सजिलै अनुदान मिल्छ ।’ जिल्लाका २९ व्यावसायिक किसानलाई चालुवर्ष अनुदानको व्यवस्था गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->