
बेनी, १७ पुस– कोरोना भाइरस (कोभिड—१९)का कारण बन्द भएका हिमालपारिको जिल्ला मुस्ताङका होटल ९ महिनापछि खुलेका छन् । कोरोनाको त्रासले गतवर्षको चैतदेखि बन्द रहेका मुस्ताङका धार्मिक तथा पर्यटकीय स्थलमा आन्तरिक तथा बाह्य पर्यटकलाई आवतजावत गर्न रोक लगाइएपछि म्याग्दी र मुस्ताङका होटल ब्यवसायीको पहलमा होटल तथा रेष्टुरेण्ट सञ्चालन गर्ने निर्णय भएको हो । मुस्ताङका होटल बन्द हुँदा धवलागिरीभित्रका म्याग्दी, बागलुङ र पर्वतका व्यवसाय समेत संकटमा परेपछि होटल व्यवसायी संघ म्याग्दीले जिल्ला प्रशासन कार्यालय म्याग्दीमार्फत ज्ञापनपत्र समेत बुझाएको थियो । यसअगाडी मुस्ताङमा प्रवेश गर्न अनिवार्य पिसिआर रिर्पोट माग्ने गरिएकोमा अव जनस्वास्थ्यको मापदण्ड प्रयोग गरी होटल व्यवसाय नियमित सञ्चालन गर्ने निर्णय भएको मुस्ताङ उद्योग वाणिज्य संघका अध्यक्ष खगेन्द्र तुलाचनले बताए ।
‘जनस्वास्थ्यको मापदण्डलाई पालना गर्न अनुरोध गरेका छौँ,मुस्ताङ प्रवेशमा कुनै समस्या छैन’, अध्यक्ष तुलाचनले भने । यसअघि मुस्ताङका होटल व्यवसायीले फागुन १ गते मात्र होटल खोल्ने बताएपछि म्याग्दीका ब्यवसायीले प्रशासनमार्फत समन्वय गरेका थिए । मुस्ताङ प्रवेशमा सहज बनाउन म्याग्दीका प्रजिअ उमाकान्त अधिकारीले मुस्ताङका प्रजिअ हिरादेवी पौडेलसँग समेत सहज वातावरणका लागि सहजीकरण गर्न अनुरोध गरेसँगै मुस्ताङमा जान सहज भएको म्याग्दी होटल व्यवसायी समितिका अध्यक्ष ताराप्रसाद आचार्यले बताए । ‘व्यवसायीको अनुरोधमा साथ दिने सबै सरोकारवाला प्रति आभारी छु,सिजन अफ भएपनि व्यवसायमा केही सहज हुन्छ’, अध्यक्ष आचार्यले भने । उनले धार्मिकस्थल मुक्तिनाथ मन्दिर दर्शनका लागिसमेत सहज वातावरण बनाउनुपर्ने बताए । मुस्ताङ घुम्न जाने अधिकांस मुक्तिनाथ मन्दिर दर्शनका लागि जाने गरेका छन् । बेनी–जोमसोम सडकखण्डअन्तर्गत पर्ने अधिकांश होटलको ठूलो कारोबार मुस्ताङमा घुम्न जाने आन्तरिक तथा बाह्य पर्यटकमा निर्भर रहेको छ ।





