पोखरा, १७ पुस– पोखरा उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा प्यानलसहित उम्मेदवारी दिएका नारायण कोइरालाले बिहीबार लामाचौरबाट घरदैलो सुरु गरेका छन् । उनले प्यानलमा भएका सबै उम्मेदवारसहित घरदैलो अभियान थालेका हुन् । संघको ३३ औँ महाधिवेशनअन्गर्तत पुस २५ गते चुनाव हुँदैछ । नारायणलाई हालकी उद्योगतर्फकी उपाध्यक्ष विन्दु कोइरालाले पनि प्यानलसहित नै टक्कर दिएकी छन् ।
नारायण कोइरालाको समूहलाई नवआदर्श सामुदायिक विकास संस्थाले विशेष कार्यक्रम सहित उम्मेदवारहरुलाई स्वागत गरेको छ । त्यसपछि घरदैलोमा निस्किएको टोलीले लामाचौर, वगर, नयाँबजार, महेन्द्रपुल, साँघुको मुख, पन्थी गल्लीदेखि सिद्धार्थ चोक क्षेत्रका उद्योगी र व्यवसायीहरुलाई भेटेर आफ्ना भावी योजना सुनाउदै भोट मागेको हो ।
कोइराला प्यानलको वरिष्ठ उपाध्यक्षमा पवनकुमार प्रजापति, वाणिज्य उपाध्यक्षमा अर्जुन पोखरेल, उद्योग उपाध्यक्षमा चिनुकुमारी गुरुङ, महासचिवमा सुरेन्द्रमान विजुक्छे, कोषाध्यक्षमा बलराम आचार्य र उपमहासचिवमा केशवबहादुर खत्री छन् । सदस्यहरुमा अधिकांश पुरानै अनुहार दोहोरिएका छन् । कुमारीमुना बास्तोला, दिनेशचन्द्र बास्तोला, ऋषिराम भण्डारी, रामेश्वर अधिकारी, कीर्तिबल्लभ त्रिपाठी, हरिराज पन्त, देवेन्द्र केसी, शोभा गौतम, भरत केसी र सुदनबहादुर कोइराला कार्यसमिति सदस्यको उम्मेद्वार छन् । यस्तै, एशोसियट्स सदस्यहरुमा हरिहर सापकोटा र हर्कबहादुर अधिकारी (मिराज) उम्मेदवार बनेका छन् । उद्योग वाणिज्य संघमा विगत लामो समयदेखि काम गरेको समूह भएकोले आफुहरुले चुनाव जित्ने दावी कोइराला प्यानलको छ ।





