बागलुङ, १८ पुस– बागलुका साहित्यकार नारायणप्रसाद गौतमको कविता संग्रह ‘भावमञ्जरी’ शनिबार विमोचन भएको छ । धौलागिरी कला तथा साहित्य मञ्च बागलुङले एक कार्यक्रमको आयोजना गरी कविता संग्रह विमोचन गरेको हो ।
विमोचन कार्यक्रममा सहभागीहरुले पछिल्लो समय पाश्चात्य साहित्यका कारण साहित्यीक गतिविधिहरु हराउँदै गएको भन्दै चिन्ता व्यक्त गरे । समाज रुपमान्तरणमा कला र साहित्यको महत्वपूर्ण भूमिका रहने भन्दै वक्ताहरुले कविता संग्रहले समाजको यथार्थ बोलेको दाबी गरे ।
साहित्यकार प्रेम छोटाले धर्म, संस्कृती र समुदायको वास्तविकता समेटिएको कविता संग्रह विमोचन गर्न पाएको भन्दै खुसी व्यक्त गरे । श्रष्टाका सिर्जनालाई पाठकको माझ पु¥याएर साहित्य प्रबद्र्धनको प्रयास गरिरहेको मञ्चका अध्यक्ष सिर्जना कार्कीले बताईन् ।
कृतिकार गौतमले हराउँदै गएको साहित्यप्रतिको रुची विकास हुनेगरी कविता संग्रह तयार पारेको बताए । उनले सामाजिक, सांकृतिक र धार्मिक पक्षहरुसँग सम्बन्धित विषयवस्तुका कविता संग्रहमा समाबेश रहेको बताए ।
मञ्चका अध्यक्ष सिर्जना कार्कीको अध्यक्षता, सदस्य शिव सस्मितको स्वागत र सचिव गोविन्द सुवेदीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।





