बागलुङ, २१ पुस– हिमाल पारीको जिल्ला मुस्ताङमा हिमपात भएको छ । उपल्लो मुस्ताङको लोमान्थाङ क्षेत्रमा भारी हिमपात भएको हो । सोमबार साँझदेखि यस बर्षको दोस्रो हिमपात भैरहेको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष सुबर्ण कुमार बिष्टले बताए ।
तल्लो मुस्ताङमा भने चिसो बढेको भएपनि हिमपात भैसकेको छैन् । लोमान्थाङमा सोमबार बेलुकीदेखि हिमपात भएपछि जनजीवन कष्टकर भएको छ । चिसो छल्नका लागि लोमान्थाङका अधिकांश स्थानीय जिल्ला बाहिर छन् । घर गोठ र पशुचौपायको सुरक्षाका लागि लोमान्थाङमै रहेकाहरुको दैनिकी कठिन हुँदै गएको बिष्टले बताए । ‘हामि धेरै पोखरा, काठमाण्डौमा छौं, गाउँमा भएका युवाहरु हिमपात पछि चिसो बढेको बताएका छन्’ बिष्टले भने ‘चौरी, च्याङ्ग्रा लगायतका चौपाय चराउन नपाएको खवर छ ।’ चिसो बढेपछि स्थानीय गुईँठा बालेर घरभित्रै बसेका छन् । चौरी खर्क र गोठहरु समेत हिउँले पुरीएका छन् । पश्चिमी वायुको प्रभावले आइतबारदेखि उच्च पहाडी र हिमाली जिल्लाहरुमा हिमपात भएको हो । बुधबारसम्म मौसम बद्ली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तल्लो मुस्ताङको मुक्तिनाथ मन्दिर क्षेत्रमा पनि सामान्य हिमपात भएको छ । मौसवको अवस्था स्थिर रहे मंगलवार साँझसम्म तल्लो मुस्ताङमा समेत हिमपात हुने स्थानीयले बताए ।







