बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

पारदर्शीता खोज्दा काममा ढिलाई : अर्थमन्त्री किरण गुरुङ

पारदर्शीता खोज्दा काममा ढिलाई : अर्थमन्त्री किरण गुरुङ

पोउवा संघको ३३ औँ महाधिवेशनको सुरु ।


  • ढोरपाटन संवाददाता
  • पुष २५ २०७७, शनिबार

पोखरा, २५ पुस– पोखरा उद्योग वाणिज्य संघको ३३ औं महाधिवेशन शुक्रबारबाट सुरु भएको छ । महाधिवेशनको गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले समुद्घाटन गर्नुभयो । महाधिवेशनअन्तर्गत शनिबार हुने निर्वाचन कार्यक्रमले संघमा नयाँ नेतृत्वसमेत चयन गर्दैछ । संघको वरिष्ठ उपाध्यक्ष, औद्योगिक सदस्य र २ जना एसोसियट सदस्य चाहिँ निर्विरोध भइसकेका छन् । अध्यक्ष, उद्योग र वाणिज्यतर्फको उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, उपमहासचिव र १० जना साधारण सदस्य एवं ४ जना बस्तुगत सदस्यको लागि शनिबार निर्वाचन हुन लागेको हो ।
महाधिवेशनको उद्घाटन गर्दै गण्डकीका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले गण्डकी सरकारले स्थापना गरेको व्यवसाय जीवन रक्षाकोषलाई छिट्टै कार्यान्वयनमा ल्याइने बताए । गण्डकी प्रदेश सरकारले बजेट भाषणमार्फत् कोभिड–१९ को प्रकोपबाट पीडित भएका व्यवसायीको जीवन रक्षाको लागि भन्दै १ अर्ब रुपैयाँको व्यवसाय जीवन रक्षा कोष घोषणा गरेको थियो ।
‘गण्डकीमा रहेका साना र मझौला व्यवसायलाई लक्षित गरी हामीले यसको ( जीवन रक्षाकोषको ) कार्यविधि बनाएका छौँ’, कार्यक्रममा बोल्दै मन्त्री गुरुङले भने,‘हामी यो कार्यक्रमलाई यो आर्थिक वर्षभित्र सम्पन्न गर्नेछौँ भने अर्को आर्थिक वर्षमा यो कार्यक्रमलाई निरन्तरता दिइनेछ ।!
मन्त्री गुरुङले जीवन रक्षा कोषलाई प्रभावकारी बनाउन सरोकारवालासँग सहकार्य गरिनुे प्रतिवद्धता पनि व्यक्त गरे । पारदर्शीतालाई कडाईका साथ लागु गर्नुपर्छ भन्ने मान्यताका कारण सो कोष संचालनमा ढिलाइ भएको बताउँदै उनले अगाडि भने,‘पारदर्शीतालाई कडाईका साथ अघि बढाउँदा तथा सुशासनलाई जोड दिँदा बितरण र अनुदानका काम ढिलो हुँदो रहेछ ।’ उनले आर्थिक विकासको लागि राजनीतिक स्थिरता जरुरी भएको स्वीकार्दै संसद विघटन र निर्वाचन घोषणाले केही अन्यौलता थपेको बताए । आफ्नै पार्टीभित्रबाट सरकार चलाउन नदिएर अस्थिरता निम्त्याउन खोजेपछि बाध्य भएर प्रधानमन्त्रीले जनताकहाँ जान मध्यावधि चुनाव घोषणा गर्नु परेको उनको जिकिर थियो । जनताको बीचमा जानु र ताजा जनादेश लिनु भनेको तानशाही प्रवृत्ति नभएको बताउँदै उनले अगाडि भने,‘चुनावमा खर्च हुने पैसाले देशको अर्थतन्त्र तहसनहस हुँदैन ।’ उनले संघीय सरकारले पनि कोभिड–१९ को खोप ल्याउने तयारी गरिरहेको र गण्डकी प्रदेश सरकारले पनि यहाँका नागरिकलाई निःशुल्क खोपको व्यवस्थाको तयारी थालेको जानकारी दिए । गण्डकी सरकारले यतिबेला यहाँ कुन भ्याक्सिन ल्याउन उपयुक्त हुन्छ भन्नेबारे अध्ययन गरिरहेको उनको भनाई थियो ।
यसअघि बोल्दै नेपाल उद्योग वाणिज्य महासंघ तथा पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले संसद पुनःस्थापना वा चुनाव नै भएपनि देश आर्थिक रुपले पछि पर्ने अवस्था आउने बताएका थिए । देशले २–३ वर्षमा निर्वाचन धान्न सक्दैन भन्दै चुनावमा कालोधनको प्रवेश तथा चुनावताका हुने भ्रष्टाचारले प्रश्रय पाउने आशंका उनको थियो । उनले संघीय संसद भंग भएसँगै प्रदेश सरकार विघटनको हल्ला चल्दा निजी क्षेत्रमाथि पिरलो थपिएको जिकिर गरे ।
‘संसद विघटन संवैधानिक/असंवैधानिक हाम्रो चासोको विषय होइन’, उनले भने,‘के राजनीतिक दलहरुले आर्थिक विकासमा चासो नदेखाएकै हुन् त ? जनजिविकाको बाटो नहेरेकै हो त ?’
कार्यक्रममा भर्चुअल रुपमा जोडिएका नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दीनेश श्रेष्ठले कोभिड–१९ ले जर्जर बनाएको अर्थतन्त्रलाई सबै मिलेर माथि उठाउनुपर्ने बताए । उहाँले कोभिड–१९ ले निजी क्षेत्र प्रताडित भएकाले कर्जाको ब्याज चुक्ता गर्ने समयसीमा बढाउन सरकारसँग आग्रह गरे ।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कुविरकुमार श्रेष्ठले राजनीतिक अस्थिरताले लगानीको वातावरण खल्बल्याएको बताए । कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य दामु अधिकारीले छिमेकी देशमा पनि कोभिड–१९ विरुद्धको खोप लगाउने प्रक्रिया सुरु भएको स्मरण गर्दै छिटोभन्दा छिटो खोपको व्यवस्था गर्न एवं नागरिकको जीवन रक्षाप्रति संवेदनशील बन्न नेपाल सरकार र गण्डकी प्रदेश सरकारसँग आग्रह गरे । राजनीतिक अस्थिरताले निजी क्षेत्र चिन्तित भएको बताउँदै राजनीतिक दलहरुलाई धैर्य नगुमाउन र सहमतिका साथ अघि बढ्न उनको आग्रह थियो ।
लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष बलराम ढकालले कोभिड–१९ ले जर्जर बनाएको उद्योग÷व्यवसाय उत्थानमा सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिए । पोखरा पर्यटन परीषदका अध्यक्ष गोपीबहादुर भट्टराईले साना व्यवसायीले समयमा पुनर्कर्जा नपाए धेरै व्यवसायी पलायन हुने अवस्था भएको बताए । पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नारायण कोइरालाको धन्यवाद र महासचिव अर्जुन पोखरेलको संचालनमा सो कार्यक्रम सम्पन्न भएको थियो ।
उत्कृष्ट व्यवसायी सम्मान
पोखरा उद्योग वाणिज्य संघले वितवरण गर्ने पोखरा उद्योग वाणिज्य संघ उत्कृष्ट व्यवसायी सम्मान २०७७ बाट विनायक फ्रेस हाउस चिप्लेढुंगा र गण्डकी मेसिनरी प्रोडक्टस् औद्योगिक क्षेत्र सम्मानित भएका छन् । कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले विनायकका कैलाश पालिखे र गण्डकी मेसिनरीका युवराज शर्मालाई सम्मानित गरे । संघका निवर्तमान अध्यक्ष विश्वशंकर पालिखेको संयोजकत्व तथा संघका साधारण सदस्य राजेन्द्र बाटाजु,बलभद्र नकर्मी ज्ञानेश्वर श्रेष्ठ सदस्य रहेको मूल्याङ्कन समितिको सिफारिसमा उहाँहरु सम्मानित भएका हुन् ।
लक्ष्मी विद्यापदक वितरण
यता लक्ष्मी हाउसद्धारा स्थापित तथा पोखरा उद्योग वाणिज्य संघबाट संचालित लक्ष्मी विद्यापदकबाट यो वर्ष विविएसतर्फ लाग्राण्डी कलेजका डिक्सन लिम्बु र विविएसतर्फ गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसकी छात्रा सुप्रिया गुरुङ नगद, प्रमाणपत्र र मेडलसहित सम्मानित भइन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->