बागलुङ, २७ पुस– युगकवी सिद्धिचरण श्रेष्ठ प्रतिष्ठानले यहाँका बिद्यालयहरुमा सूचनाप्रविधि सामाग्री तथा स्टेशनरी र पुस्तकहरु बितरण अभियान थालेको छ ।
शिक्षा बिकास तथा समन्वय इकाई बागलुङ, पर्वत र म्याग्दीको सहकार्यमा आबस्यक पर्ने बिद्यालयलाई सेवा शुल्क र केही ढुवानी शुल्क मात्र लिएर सामाग्री बितरण थालेको हो । इकाइका बागलुङ प्रमुख कुश्मराज उपाध्यायका अनुसार उक्त संस्थाले ४० हजार रुपैया लिएर कम्प्युटर, प्रिन्टर, स्क्यान, फोटोकपी, सिसि क्यामेरा, ३२ जिबीको पेनड्रयाइभ र बिद्युतीय पुस्तकालयको सामाग्री र एक कार्टुन पुस्तक समेत हस्तान्तरण गर्ने अभियान थालेको हो ।
संस्थाले तीनवटा जिल्लामा एकएक सय बिद्यालयमा सहयोग गर्ने योजना बनाएको छ । ‘त्यसकालागि बिद्यालय छनौटमा सहजीकरण गरिदिन आग्रह भएको थियो, हामीले ग्रामीण क्षेत्रका बिद्यालयमा सहकार्य गर्न भनेका छौं’ उपाध्यायले भने, ‘बिद्यालयको पनि लगानी चाहिने भएकोले अनिवार्य भने छैन ।’ आबस्यकता महसुस भएको खण्डमा बिद्यालय बाहेक गैरसरकारी संस्था र सहकारी संस्थालेपनि यो सहयोग पाउन सक्छन् । कवि सिद्धिचरण श्रेष्ठका पुत्रहरुले सहयोग गरेपछि यो प्रतिष्ठानले अभियानको रुपमा देशभरका बिद्यालय र संस्थाहरुमा सहयोग अभियान चलाएको हो ।





