बागलुङ, १ माघ– बागलुङको काठेखोला गाउँपालिका वडा नं. ३ को धम्जामा जन्मेर गीत संगीतको क्षेत्रमा राष्ट्रिय पहिचान बनाएका गायक प्रकाश सपुत बिकलाई सम्मान गरिएको छ ।
आदर्श संचार सहकारी संस्थाले १४ औं वार्षिक साधारणसभाको अबसरमा सपुतलाई सम्मान तथा पुरस्कार प्रदान गरेको हो । सिर्जनशिल पत्रकारिता पुरस्कार प्रदान समारोहमा सपुतलाई सम्मान गरिएको थियो ।
आर्दश संचार सहकारी संस्थाले २५ हजार रुपैयाँको राशी सहित सम्मान गरेको थियो । उनले लोक गीत संगीतको क्षेत्रमा पु¥याएको योगदानको सम्मान गरिएको सहकारीले प्रकाशन गरेको धौलागिरी जागरण दैनिकका कार्यकारी सम्पादक तथा नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरिषले बताए । ‘गायन, गीत लेखन र अन्य प्रस्तुतीको क्षेत्रमा उनले गरेको योगदानलाई सम्मान गरिएको हो’शिरिषले भने, ‘उनको हरेक क्षेत्रमा देखिएको सिर्जनशिलतालाई सम्मान गर्दा सबैले गर्व गर्न लायक बनाएको छ ।’ सपुतले पनि सम्मानले काम गर्ने थप उर्जा र हौसला मिलेको बताए ।
जागरण र धौलागिरी एफएममा पनि काम गरेका सपुतले पत्रकारिता, रेडियो प्रस्तुतीकरण लगायतको क्षेत्रबाट उत्कृष्ठ गायक सम्मको यात्रा तय गरिसकेका छन् । दशबर्ष अघि उनी काठमाण्डौ प्रवेश गरेपछि लोकगीत संगीतको क्षेत्रमा चर्चामा पुगेका हुन् । उनका दर्जनौ गीतसंगीतहरु चर्चित भैसकेका छन् ।
गण्डकी प्रदेश सरकारले उनलाई पर्यटन दुतको रुपमा पनि मनोनित गरेको छ । बोलमाया गीत उनको सबैभन्दा चर्चित र बैदेशिक रोजगारीमा जानेको पीडा समावेश गरिएको गीत हो । त्यस्तै गलबन्दी, बदला मायालु, फुटेका चुरा जस्ता दर्जनौं चर्चित गीत अहिले पनि चर्चामा छन् । व्याटल र लोकदोहोरीमा पनि उनी स्थापित छन् ।
सफलता पाउनुमा स्थानीय रेडियो र पत्रिकाको भूमिका महत्वपूर्ण भएको बताए । ‘म सम्मानित हुनु भन्दापनि मलाई कलाकारितामा स्थापित गर्ने संस्था महत्वपूर्ण छ’ उनले भने, ‘सम्मानले कलाकारितामा थप सुधारगर्ने प्रेरणा मिलेको छ ।’ सपुत गीतसंगीत स“गै अभिनेताको रुपमा पनि उदाउ“दैछन् ।
यसैबीच पत्रकार सिर्जना पन्त र सन्तोष क्षेत्रीले बिबाह भोजको खर्च कटाएर बनाएको अक्षयकोषबाट यस बर्षको सिर्जनशिल पत्रकारिता पुरस्कार मुस्ताङका पत्रकार सुन्दरकुमार थकालीलाई प्रदान गरेका छन् । सहकारीले आयोजना गरेको पुरस्कार सपर्मण कार्यक्रममा उक्त पुरस्कार दिइएको हो । उक्त पुरस्कार १० हजार राशीको छ ।
पुरस्कार बितरण समारोहमा निर्वतमान सांसद मनकुमारी केसीले कलाकार र पत्रकारलाई सम्मान गरेर समाजको पहिचान गर्नेको सम्मान भएको बताइन् । उनले सहकारीहरु सिर्जनशिलता बिकासकालागि समेत लाग्नुपर्ने धारणा राखिन् ।
सहकारी संस्थाकी अध्यक्ष हुमाकुमारी जिसीको अध्यक्षता, कार्यकारी सम्पादक दिल शिरिषको संचालन र उपाध्यक्ष अनन्तबहादुर खड्काको स्वागतमा सम्पन्न कार्यक्रममा सम्मानित कलाकार प्रकाश सपुत बिक, पुरस्कृत पत्रकार सुन्दरकुमार थकाली, नेपाल पत्रकार महासंघ बागलुङका सचिव राम थापा अविरल, गण्डकी प्रदेश सदस्य संगम घर्तीमगर, पुरस्कार संस्थापक सन्तोष क्षेत्रीलगायतले पुरस्कृत र सम्मानितलाई शुभकामना दिएका थिए ।





