बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

लठ्याउने औषधि सुँघाएर पैसाको झोला लुटेर भागेकाहरू पक्राउ

लठ्याउने औषधि सुँघाएर पैसाको झोला लुटेर भागेकाहरू पक्राउ


  • ढोरपाटन संवाददाता
  • माघ ३ २०७७, शनिबार

पर्वत, ३ माघ– बाटोमा हिँडिरहेकी ७० वर्षिया महिलाको साथमा रहेको पैसाको झोला लुटेर भागेकाहरूलाई जिल्ला प्रहरी कार्यालय पर्वतले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बागलुङको बागलुङ नगरपालिका–१२ अमलाचौरका २३ वर्षिय शिव विश्वकर्मा र २० वर्षिय सागर सापकोटा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक विश्वराज अधिकारीका अनुसार प्रदेश २, ०३–०१० प, १५०३ नम्बरको स्कुटरमा सवार ती दुई लुटेराले पुस २९ गते बिहान आठ बजेको समयमा पर्वतको मोदी गाउँपालिका–६ पाउदीखेत भन्ने स्थानमा ती महिलामाथि लुटपाट गरेका थिए । महिला सडकमा हिँडिरहेको अवस्थामा लट्ठ्याउने औषधि सुँघाएर उनलाई लछारपछार पारी उनको साथमा रहेको झोला लुटेर भागेको सूचना पाएपछि प्रहरीले उनीहरूको खोजी गरेको थियो ।

हुलियाको आधारमा प्रहरी चौकी देउपुर र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले घटना भएको साढे तीन घण्टामा बिहान ११ बजे पर्वतकै कुस्मा नगरपालिका–११ पकुवाको सार्वजनिक स्थानबाट अपराधमा संलग्न दुवै जनालाई पक्राउ गरेको हो । ‘एक्लो ठाउँमा पारेर ती वृद्ध महिलालाई औषधि सुँघाएर लछारपछार पार्दै पैसाको झोला लुटेर भागेको भन्ने सूचनाका आधारमा हामीले खोजी थालेका थियौँ ।’ डिएसपी अधिकारीले भने, ‘हामीले तीव्र गतिमा खोजी थालेका कारण उनीहरू उम्किन पाएनन्। घटना भएको केही घण्टामा नै उनीहरूलाई पक्रिन सक्यौँ ।’

लुटेर लगिएको झोलामा नगद १९ हजार रुपैयाँ रहेको पाइएको छ । लुटेराहरूको साथबाट चोरीमा प्रयोग भएको पाँच सय मिलिलिटर क्लोरोफर्म नामक औषधि र कैँची बरामद भएको छ । उनीहरूको विरुद्धमा चोरी सम्बन्धी कसुरमा जिल्ला अदालत पर्वतबाट आठ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->