बागलुङ, ३ माघ– पछिल्लो समय बागलुङका होटलहरुमा पर्यटकको चाप बढ्न थालेको छ । पर्यटकीय स्थलहरु खुला भएको, सहज यातायातका साधन चल्न थालेको र पाहुनालाईपनि सत्कार गर्न थालिएपछि होटल भरिन थालेका हुन् ।
ढोरपाटन सहितका पर्यटकीय क्षेत्रमा सहजै जाने अबसर बनेको, मुक्तिनाथ खुला भएको लगायतको कारणले बागलुङको बाटो भएर पाहुना आउन थालेको होटल संघ बागलुङका अध्यक्ष निलेस राजभण्डारीले बताए ।
एक महिनादेखि सामाजिक, राजनीतिक र व्यवसायिक क्रियाकलाप समेत चल्न थालेका छन् । ती क्रियाकलापकालागि आएका पाहुना, सहभागि लगायतले होटल धमाधम बुक गर्न थालेका हुन् । ‘नेपाल उद्योग बाणिज्य महासंघ गण्डकी प्रदेशले निर्वाचनपछिको आफ्नो पहिलो बैठक बागलुङमा राख्दापनि होटललाई राम्रो राहत मिल्यो’ राजभण्डारीले भने, ‘बैठक सहित बागलुङको साधारणसभा र उद्योग्हिरुले गरेका अन्य कार्यक्रमबाट होटल बुक बढेको हो ।’ हिउँदको समय पारेर घुम्न निस्कने युवा, आमा समूह र व्यवसायीबाट वातावरण सहज बनिसकेको उनले बताए ।
बलेवा स्थित बन्जीजम्पका लागि आएकाहरुले पनि पहिलो दिन बागलुङ बसेर दोश्रो दिन मात्रै बन्जीमा जान थालेका छन् । बागलुङ बसेको दिन उनीहरुले बागलुङ कालीका, पञ्चकोट र नेपालकै लामो झोलुंगे पुल घुम्न रुचाएका छन् । ‘पहिला मन्दिर र पुल घमेपछि बन्जीमा जाँदा हौसला आउने रहेछ’ चितवनबाट आएका रमेश अधिकारीले भने, ‘मौषम खुलेको दिन बागुङका पर्यटकक्षेत्रमा निकै मज्जा आयो ।’
यस्ता समूहमा आउनेहरुले बागलुङका राम्रा मानिने होटल रिर्जभ गर्न थालेका छन् । होटलले पनि यस अघिको तुलनामा कोठा र सेवाको सस्तो प्याकेज दिएका छन् । यस अघि २ वटा कोठाबाट लिने शुल्क अहिले ३ वटामा बढाएका हुन् । प्याकेज समेत पाएकोले कतिपयले आर्कषक होटल र कोठा रोज्न समेत थालेको बताए ।
एक महिनादेखि बागलुङका सबै धार्मिक र पर्यटकीय क्षेत्र खुला भएका छन् । ती स्थानमा चारपाँच जनादेखि २० जना सम्मको समूह मिलेर आउनेहरुले भरिभराउ भएको अर्का व्यवसायी एन्जिल शाक्यले बताए । ‘बन्जीजम्प गर्नेलेपनि पहिला कालीका दर्शन गर्ने, पञ्चकोट घुमेर लामो पुल हेरेपछि मात्रै जान थालेका छन्’ शाक्यले भने, ‘कतिपयले होटलबाटै बञ्जीको टिकट बुक गराउन थालेका छन् ।’ साहसिक पर्यटनकालागि आएकाले पनि पहिला धार्मिक क्षेत्र रोजेको उनले बताए । नौ महिना सम्म रित्तो घरको भाडा तिरेर व्यवसायी बसिरहेका थिए ।
मुस्ताङपनि खुला हुने खवर सुनेपछि माघको पहिलो साताकालागि पनि होटलहरु धमाधम बुक हुन थालेका छन् । ‘बागलुङबाट नियमित सबारी साधन पाइन्छ, आफ्नै गाडि ल्याएकाले पनि बागलुङबाट बिहान हिडेर दिउसो पुग्न सकिन्छ भन्ने प्रचार भएकोले पर्यटक आउन थालेका हुन्’ होटल व्यवसायी महासंघ गण्डकीका अध्यक्ष अर्जुन चोखालले भने, ‘स्तरीय सेवा दिने होटलको अझै खाँचो महसुस भएको छ ।’ संघका अनुसार बागलुङमा ३ सय आर्कषक कोठाहरु छन् । ती बाहेक धेरै पाहुना भएको बेला एकैपटक २ हजार जना सम्म राख्न सक्ने क्षमता बनेको राजभण्डारीले बताए ।
कोरोना संक्रमणले सुनसान बनेकोमा अहिले भने दैनिक एकहजार सम्म भक्तजन आउन थालेको बागलुङ कालीका भगवती गुठीका अध्यक्ष राजु खड्काले बताए । आएकाहरुले पञ्चकोट, शालीग्राम संग्राहलय र लामो पुल घुन्ने योजना बनाएका छन् । मानवसेवा आश्रमले संचालन गरेको मेची महाकाली यात्राका ४० जना सहभागि पनि अग्लो पुल र कालीका मन्दिर घुम्ने योजनाकैलाग एकदिन बागलुङ बसेर मात्रै फकिए ।
गत चैतको ५ गतेपछि यतिधेरै पर्यटक आएको पहिलो पटक हो । गतबर्षको फागुनमा जस्तै पुस महिनामा पर्यटक भित्रिएको खड्काले बताए । पहिला कालीका मन्दिरबाटै फर्कनेहरु अहिले बागलुङ एक दिन बस्न थालेका छन् । ‘घुम्ने र रमाउने क्षेत्र पाएकोले पर्यटकले एक दिनको बसाई लम्ब्याएका छन्’ खड्काले भने,‘कतिपयले ढोरपाटनको यात्रा पनि तय गरेका छन् ।’ ढोरपाटन जानेले कम्तिमा ३ दिनको बसाई गर्ने उनले बताए ।
मध्यपहाडी लोकमार्गको बाटो भएर रारा ताल जानेपनि बढेका छन् । व्यवसायी माधव शर्माको नेतृत्वले बागलुङ हुँदै रारा ताल सम्म साइकल यात्रा समेत गरेका छन् । उनीहरुले महेन्द्र राजमार्गबाट सुर्खेत हुँदै जाने सडक भन्दा बागलुङ देखि रुकुमको बाटो एकसय किमी छोटो भएको बताए । मध्यपहाडीको अधिकांस खण्ड कालोपत्रे भैसकेकोले यो सडकको प्रयोगकर्तापनि बढेका हुन् । ‘रारा जानेले पनि बागलुङ बसाइ गर्न थालेका छन्’ होटल व्यवसायी महासंघ गण्डकीका अध्यक्ष अर्जुन चोखालले भने, ‘पर्यटक बढ्दैछन् भनेपछि लगानीपनि बढ्नेक्रममा छ ।’ नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल र अर्का व्यवसायी अशोक शेरचनले पनि बागलुङमा स्तरीय होटल खोल्नकालागि काम थालेको बताए ।





