पर्वत, ७ माघ– पर्वतको जलजला गाउँपालिका–७ धाइरिङका युवा व्यवसायी बाबुराम कार्कीले विद्यालयमा पुगेर जन्मदिन मनाएका छन् । जन्मदिनमा हुने फजुल खर्चले विद्यार्थीको पठनपाठनमा सहयोग गर्ने भन्दै कार्की विद्यालय पुगेका हुन् ।
कार्कीले स्थानीय सरस्वती आधारभूत विद्यालयमा अध्ययनरत ४० जना विद्यार्थीहरुलाई स्टेशनरी सामाग्री तथा शान्ती निमावि जलजला–६ सालिजाको भोटेडाँडामा अध्यनरत विद्यार्थीको लागि एक दिनको लागि खाजा वितरण गरेका हुन् । बुधबार उनको जन्मदिन हो ।
केक काटेर गाउँले र साथीभाईलाई भोज गर्ने खर्चले न्युन आय भएका परिवारका विद्यार्थीलाई सहयोग गरेको उनले बताए । कार्कीले शान्ति आधारभुतका प्रअलाई खाजा बराबरको नगर र अति विपन्न विद्यार्थीलाई स्टेशनरी सामग्री हस्तान्तरण गरेको हुन् । सरकारले कक्षा १ देखि ५ सम्मको लागि खाजाको व्यवस्था गरेको विद्यालयमा कक्षा ६ देखि माथीका विद्यार्थीलाई खाजा खुवाएका थिए । प्राथमिक तहका विद्यार्थीको लागि उनले स्टेशनरी उपलव्ध गराए । विद्यालयमा सबै विद्यार्थीलाई खाजा खुवाउन समस्या भएकाले लन्च फन्ड बनाई स्थानीय अभिभावक र अन्य सहयोगी दाताहरूको सहयोगबाट खाजा खुवाउँदै आएको शान्ती निमाविका प्रअ शिव सुबेदीले बताए ।





