बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

गैँची र घन हानेर परिवार पालिरहेका महाशिलाका श्रमीक महिला

गैँची र घन हानेर परिवार पालिरहेका महाशिलाका श्रमीक महिला


  • संजय रेग्मी
  • माघ ११ २०७७, आइतबार

पर्वत, ११ माघ– पर्वतको महाशिला गाउँपालिकाका विभिन्न वडामा भइरहेका सडक सम्बन्धि कामहरु हेर्ने हो भने अहिले त्यहाँ कार्यरत मजदुरमध्ये अधिकांश संख्या महिलाको छ । महिलाले गह्रुङ्गो काम गर्न सक्दैनन्, त्यसमा पनि गल, घन र गैँची चलाउने काम त झनै कठिन मानिन्छ ।

तर महाशिला गाउँपालिकामा काम गरिरहेका महिलाहरुलाई नियाल्ने हो भने उनीहरुको काम गराई पुरुषको भन्दा कम छैन् । खाजाको रुपमा रोटी र मकै पोको पारेर काम गर्ने ठाउँमा नै लिएर गएका उनीहरु बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म ढुङ्गा उक्काउने, फुटाउने, नाली खन्ने, बाटो सोलिङ गर्ने लगायतका काममा ब्यस्त रहेका हुन्छन् । उनीहरुको काम गराईलाई उमेरले पनि अवरोध गरेको छैन । ३० बर्षदेखि ४५ वर्ष उमेर समूहका ती महिलाहरुले घन हानेर ढुङ्गा फुटाएको देख्दा बाँच्नका लागि गरिरहेको संघर्ष प्रष्ट हुन्छ ।

काम गरिरहेको स्थलमा पुगेर हेर्दा ४५ वर्षिया टुककुमारी नेपाली घनले ढुङ्गा फुटाउँदै थिईन् । नाली खन्ने, सडकमा सोलिङ गर्ने लगायतका काम गरिरहँदा साथीहरूलाई गीत गाउँदै सुनाएर उनले कामलाई सजिलो बनाउने प्रयास पनि गरीरहेकी हुन्छीन् । गल र गैँची चलाउँदा थकाई लागे पनि त्यसबाट आएको पैसाले परिवार चलाउन पाउँदा उनलाई खुसी लागेको छ ।

सोही ठाउँकी ३२ वर्षिया गोलमाया सुनारले अहिलेसम्म महिलाले घन र भ्mयाम्पल हान्ने काम गरेको देखेकी थिइनन् । तर काम गर्ने समूहमा घन ठटाउने काममा दक्ष मानिने सुनारलाई आँटले नै आम्दानीको स्रोत दिएको छ । ‘सुरुमा कठिन होला जस्तो लागेको थियो । तर आँटले म गर्छु भनेपछि सकिने रहेछ। महिलाले घन भ्mयाम्पल हानेको पहिलो देखेको थिइन तर आफैले गर्नुपरेको छ अहिले ।’ उनले भनिन्, ‘बेरोजगार भएर बस्नुभन्दा कमाई भएको छ । गरी खान पाइएको छ । अब १५ दिन मात्र होइन महिनैभर काम पाउन पाए हुने हो । घरमा सबै थोक बेसाउनु परेको छ ।’

टुककुमारी र गोलकुमारी जस्तै महाशिला गाउँपालिकाका धेरै जना महिलाहरू यति बेला गाउँपालिकाको विभिन्न वडामा यस्तै काममा जुटिरहेका छन् । ‘एक घर ः एक रोजगारी’ अभियान अन्तर्गत सुरु भएको महाशिला विकास स्वयंसेवक विकास कार्यक्रममा आबद्ध भएर ती महिलाहरूले काम गरिरहेको गाउँपालिकाका प्रवक्ता जीवनविक्रम उचै बताउँछन् । उनका अनुसार स्थानीयको तहको निर्वाचनको बेलामा घोषणापत्रमा बेरोजगारीलाई रोजगारीको अवसर दिइने भनिएपछि त्यसको अध्ययनको क्रममा १२ सय घरमा रोजगारी दिनुपर्ने देखिएको थियो । सोही अनुसार गरिएको विज्ञापनमा छ सय जनाले आवेदन गरेकोमा चार सय ९२ जना छनोट भएका थिए । उनीहरू शिक्षा, कृषि, पशु, निर्माण, खानेपानी, गाउँ रक्षक लगायतका १२ प्रकारका काममा सीप र योग्यता अनुसार काममा लगाइएको थियो ।

छनोट भएकामध्ये ७० प्रतिशतको आवेदन निर्माण क्षेत्रमा परेको थियो। छनोटमा परेकामध्ये ८५ प्रतिशत महिला थिए भने त्यसमा पनि अधिकांश दलित समुदायका । तीनै महिलाहरू अहिले निर्माणको काममा जुटीरहेका उनीहरूले पुरुष समान नै श्रम गर्न सकेको प्रवक्ता उचैले बताए । ‘बल लगाउनुपर्ने काम महिलाले गर्न सक्दैनन् भन्ने त हामी सबैले सुनेकै हो। तर यहाँ आएर उहाँहरूको काम हेर्नेहरू दङ्ग पर्नुहुन्छ । उहाँहरूले गल, घन र गैँची हेर्नुहोस् त कति गज्जबले चलाउनुहुन्छ ।’ उनले भने, ‘गाउँपालिकाको गौरवको आयोजनाका रूपमा यसलाई अगाडि बढाइएको थियो । यसले धेरै श्रमिकहरूको मनमा खुसी दिएको छ । यहीँका मान्छेले श्रम गर्दा यहाँको पैसा गाउँमा नै अडिएको छ ।’

कामको सिलसिलामा चाक्लीपाताल भन्ने स्थानमा ढुङ्गा फुटाइरहेकी ४५ वर्षिया खैसरा बि.क.ले गाउँपालिकाले रोजगारी दिएपछि मजदुरकै काम खोज्दै अन्यत्र जान नपरेको सुनाइन् । घरमा कान्छा छोराको साथमा बस्दै आएका उनका श्रीमान् शारीरिक रूपमा काम गर्न नसक्ने भएका कारण तीन जनाको परिवार पाल्नै आधार नै यही काम बनेको खैसराले बताइन् । ‘यहाँबाट महिनामा छ हजार रुपैयाँ भए पनि कमाई भएको छ । बुढेसकालमा काम खोज्दै अब म कहाँ जाऊँ? ’ उनले भनिन्, ‘घरमा शरीर चलाउनै नसक्ने हुनुहुन्छ बूढा । छोरो नि घरमै छ । परिवार पाल्न यही काम गरेको छु । यो काम सधैँ गर्न पाए हुने हो ।’ १५ वर्षदेखि यसरी नै जीविका चलाउन बाध्य भएकी उनको परिवारमा महिनामा आठ हजार रुपैयाँ खर्च हुन्छ ।

गाउँपालिकाले काम दिएका कारण खान बस्न सकिएको छ । यसरी मजदुरीमा काम गर्दै आएको १५ वर्ष भयो । अहिले गाउँपालिकाले यता काम दिएपछि यता काम गरिरहेकी छु । घरमा केही गर्न नसक्ने बुढा हुनुहुन्छ । कान्छो छोरा मसँग छ। अहिले ३ जनाको परिवार मैले पालिरहेकी छु। महिनामा ८ हजार रुपैयाँ जति खर्च हुने गरेको छ ।

प्रवक्ता उचैका अनुसार यो कार्यक्रमको लागि छनोट भएका चार सय ९२ जनाका लागि एक महिना तालिम दिइएको थियो । उनीहरूका लागि शारीरिक सुगठन, आत्मानुसासन, शारीरिक सुस्वास्थ्य, उद्धार लगायतका १२ ओटा क्षेत्रमा तालिम दिएर काम लगाइएको थियो । यो कार्यक्रमका लागि गाउँपालिकाले यस वर्ष एक करोड ३५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । कार्यक्रममा सहभागी भएकाहरू बिहान १० बजेदेखि साँझ चार बजेसम्म काममा सहभागी हुन्छन् ।

उनीहरू एक महिनामा १५ दिन गाउँपालिकाको स्वयंसेवक कार्यक्रममा सहभागी हुन्छन् भने बाँकी रहेका १५ दिन घरका काम गर्छन् । घरका काम गर्दा पनि उनीहरूलाई सकेसम्म व्यावसायिक र उद्यमशीलतामा जोड्ने गरी काममा लाग्न प्रोत्साहन गरिएको गाउँपालिकाका प्रमुख राजुप्रसाद पौडेलले बताए । ‘गाउँपालिकाको काम गरेर बाँकी रहेको १५ दिनलाई घरमा खर्चिन भनेका छौँ । त्यो काम गर्दा पनि व्यवसायसँग जोडिएर गर्न भनिएको छ ।’ उनले भने, ‘गाउँपालिकाले उत्पादन महाअभियानमा जोड्ने गरी काम गरिरहेको छ । घरका साना कामलाई पनि उद्यमशीलतामा जोड्न उहाँहरूलाई प्रोत्साहन गरिरहेका छौँ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->