बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

‘च्यारिटी’ छाडेर हल खोज्दै जनजाति सिनेमा

‘च्यारिटी’ छाडेर हल खोज्दै जनजाति सिनेमा


  • ढोरपाटन सम्वाददाता
  • माघ १२ २०७७, सोमबार

पोखरा, १२ माघ– नेपालका सिनेमा घरहरुमा नेपालीभन्दा हिन्दी सिनेमा बढी चल्छन् । केही सुविधासम्पन्न हलहरुले अंग्रेजी फिल्म पनि चलाएकै छन् । नेपाली सिनेमा नै मुस्किलले चल्ने हलमा विभिन्न भाषाभाषीका सिनेमा नियमित चल्ने त कुरै भएन । विभिन्न भाषाभाषीका सिनेमा बन्ने क्रम बढे पनि ती सिनेमाहरु हलमा चल्ने भनेको ‘च्यारिटी’ नै हो । भाषाभाषीका सिनेमा बनाउनेहरुले पनि नेपालको हलभन्दा विदेशमा हुने ‘च्यारिटी सो’मै ध्यान दिन्छन् । आफै सिनेमा बनाउने, आफै टिकट बेच्ने र दुई–चार दिन हलमा सिनेमा चलाएर सन्तोष मान्नु भाषाभाषी फिल्म निर्माताको बाध्यता हो । हल नपाउने र नखोज्ने दुबै प्रवृृत्तिका बीच पनि भाषा र संस्कृति संरक्षणको लागि सिनेमा नबनेका चाहिँ हैनन् ।
जनजाति चलचित्र ः भाषिक र सांस्कृतिक पहिचान नामक पुस्तकका लेखक अनुभव अजितका अनुसार नेपालको पहिलो जनजाति चलचित्र ‘सिलु’ हो । नेवारी भाषाको यो सिनेमा २०४४ सालमा बनेको थियो । यसको निर्देशन प्रदीप रिमालले गरेका थिए । २०४६ सालमा थारु भाषामा करमको निर्माण गरियो । २०४८ सालमा लिम्बु भाषामा तरेवा आयो । यसको निर्देशन नविन सुब्बाले गरेका थिए ।
त्यसपछि २०५२ सालमा ‘पाते’ नामक चलचित्रबाट गुरुङ चलचित्र निर्माण भएको थियो । प्रितम गुरुङको लेखन रहेको यो सिनेमाको निर्देशन युवराज मास्की मगरले गरेका थिए । युवराजले सोही समयमा मगर भाषाको लङघन ( प्रयास ) को निर्देशन गरेका थिए । उनले संजोग लाफा मगरको उपन्यास रेवसमा आधारित थियो । सोही वर्ष तामाङ भाषामा सेमरी छोरङान (मनमा चेतना) बन्यो । पछिल्लो समय देशका सबैजसो भाषाभाषी÷जनजातिसँग सम्बन्धित सिनेमा बनिरहेका छन् ।
यी सबै सिनेमाहरु निजी लगानीमा बनेका थिए÷बन्दैछन् । निजी लगानीमा जनजातिका सिनेमा बनाउने अभियानमा चाहिँ गुरुङहरु अगाडि देखिए । गुरुङ चलचित्रकर्मीहरुको संगठन गुरुङ फिल्म एसोसियन (जिफान) का अनुसार हालसम्म १४४ वटा गुरुङ चलचित्र बनिसकेका छन् ।
यति धेरै सिनेमा बने पनि यी फिल्महरु नियमित हलमा चल्दैनथे तर अब भने समय केही फेरिएको छ । जिफानले अब गुरुङ फिल्महरु हलमै चलाउने प्रबन्ध मिलाएको छ ।
गुरुङ फिल्म एशोसियशन नेपालका अध्यक्ष भोजबहादुर गुरुङका अनुसार गुरुङ फिल्महरु आउँदो माघ २३ गतेबाट नियमित रुपमा सिनेमा हलमा प्रदर्शन गरिने छ ।
गुरुङ चलचित्र निर्माण भएको २५ वर्ष पुग्दाको खुसीयालीमा आफ्ना सिनेमाहरु गुरुङ समुदायमा मात्रै सीमित नराख्ने अभियानस्वरुप हलमै फिल्म देखाउन लागिएको उनले जिफानका अध्यक्ष गुरुङले बताए । ‘२५ वर्षको लामो यात्रा तय गर्दा पनि गुरुङ चलचित्रको विकास र बिस्तार हुन सकेको छैन । हामीलाई लाग्यो गुरुङ चलचित्र अब समुदायमा मात्रै सीमित रहनुहुँदैन’, उनले आइतबार चलचित्र पत्रकार संघ कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा भने,‘ त्यसैले माघ २३ गतेदेखि नियमित रुपमा शुक्रबार र शनिबार पोखराको मिडटाउन ग्यालरीयामा चलचित्र प्रदर्शन गरिनेछ ।’ उनले लामो समयसम्म फिल्म चलाउन मिडटाउनसँग सम्झौता भएको बताए । मिडटाउन पोखराको सुविधासम्पन्न हल हो ।

फानले ‘घर दैलोमा टिकट किनेर होइन, चलचित्रहलमा गएर सहयोग गरौं’ भन्ने अवधारणालाई अघि सारेको पनि जनाए । जिफानका महासचिव लप्सन गुरुङले माघ २३ गतेबाट २०७८ असारसम्म नियमित रुपमा प्रदर्शन हुने गुरुङ चलचित्रको तालिका सार्वजनिक गरेका छन् । उनका अनुसार माघ २३ र २४ गते तमु फिल्मस् प्रालिको ब्यानरमा जसु गुरुङ निर्देशित चलचित्र ‘कर्म क्याँ’ प्रदर्शन हुनेछ भने नौजंग गुरुङद्वारा निर्देशित चलचित्र‘तिमी नभए’ असार ४ र ५ गते प्रदर्शन गरिने भएको छ । प्रदर्शन गरिने सबै चलचित्रको समय मध्यान्ह १२ बजेदेखि २ बजेसम्मलाई तोकिएको छ । अब च्यारिटी सोमा जस्तो गुरुङ फिल्म हेर्न अतिरिक्त पैसा पनि तिर्नुपर्ने छैन । गुरुङ फिल्म एसोशिएसन २०६५ सालमा स्थापना भएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->