पोखरा, १३ माघ– उनी सारङ्गीको ‘तार’ र ‘गजो’ दुबै थिए । कहिले मादल भिरेर घिन्ताङमा टाउको हल्लाउने, कहिले सारङ्गीको धुनमा नै अनुहार सर्काउनु उनको विशेषता थियो । उनी अर्थात्, लोकगायक तथा संगीतकार धनबहादुर गन्र्धव । कर्खा र लोकगीत दुबै गाउन सक्नु उनको विशेषता थियो । गाउने मात्र नभएर उनी बजाउँथे र बजाउन उत्प्रेरित गर्थे । पोखराको बाटुलेचौरमा जन्मेका उनै धनबहादुर गायक ५६ वर्षमा नै अस्ताएका छन् । सारङ्गी संरक्षण पाठशालाका संस्थापक अध्यक्ष तथा लोक संस्कृतिका संरक्षणकर्ता धनबहादुरको सोमबार उपचारको क्रममा पोखराको मणिपाल शिक्षण अस्पतालमा सोमबार निधन भएको हो ।सानै उमेरदेखि संगीतमा रुची राख्ने उनले विद्यालय जान छाडी भागेर संगीततर्फ लागेका थिए ।
उनले रचना तथा संगीत भरेको यो दाजुको मिर्मिरे आँखामाले उनलाई चर्चित बनाएको थियो । यो कालजयी गीत चर्चित गायक प्रविण गुरुङ र विमाकुमारी दुराले गाएका थिए । त्यो बाहेक उनले यो मायाले साँहिली, रेलमा सलल, हेर दाइ पुतली उड्यो फरर, फूल मायामा नभुल’, ‘बेली र चमेली’, साँझको बेला रमाइलो मेला, चञ्चले टाढा माया पुग्दैन गम्छाले, देउसी भैलो गीत, तीज गीत, झ्याउरे गरी दर्जनौ गीत गाएका छन् ।
उनको यात्रा गीत र सारङ्गीमा मात्र रहेन्, कलाकारिताको उत्तिकै छाप बसालेका छन् । कान्छी, सन्तान, पहिलो प्रेम, के घर के डेरा, फेरि भेटौला, सिन्दुरलगायत फिल्ममा काम गरिसकेका छन् । मुनामदनलगायत विभिन्न नाटकमा समेत उनको अभिनय रहेको छ ।
आमा बाबाको आँखा छलेर संगीतमा लागेका उनले लोप भइसकेको सारङ्गी बादनको स्कूल नै चलाए ।
विभिन्न बाजाहरु समेत बजाउन सक्ने उनले सारङ्गीको महत्व र संरक्षणमा निकै ठुलो योगदान दिएका छन् । उनी नाच्न पनि उत्तिकै खप्पिस थिए । उनले विभिन्न चलचित्र तथा नाटकहरुमा समेत अभिनय गरेका छन् ।
उनले अभिनयमार्फत पनि सारङ्गी संरक्षण अभियानमै लागे । सानैमा उनले झलकमान गन्र्धवको उपनाम पाएका थिए । उनलाई सबैले सानो झलकमान भनेरसमेत बोलाउने गर्थे ।
बैदाम अर्थात् लेकसाइडमा पुगी सारङ्गी बजाउने धनबहादुर पढाईलाई भन्दा बाजालाई बढी मन पराउँथे । त्यो बेला गन्धर्व जातिको पुख्र्यौली पेशाको रुपमा रहेको सारङ्गी लोप हुने अवस्थामा पुगिसकेको थियो ।
सारंगीलाई जीवन दिन उनले २०६६ सालमा झलकमान गन्धर्व राष्ट्रिय लोक बाजा सारङ्गी संरक्षण पाठशाला स्थापना गरे । उनले आफ्नो जातिमा मात्र सीमित राखेनन् । त्यसलाई फैलाउँदै लाने काम गरे । उनी घरमै पुगेर पनि सिकाउँथे । दुईवटा सारङ्गीबाट पाठशालाको सुरु गरेका उनलाई अलिमियाँ लोक वाङमय प्रतिष्ठानबाट १८ थान सारङ्गी सहयोग प्राप्त भएको थियो । गायकले सारङ्गीमात्र नभई मादल, गितार, हार्मोनियमलगायत सम्पूर्ण बाजा बजाउन सक्थे । पुख्र्यौली पेशालाई आधुनिकीकरणमा जोड्दै लोपोन्मुख अवस्थामा पुगेको यसलाई आधुनिक बाजासम्म जोड्ने प्रयासमा गायक सधैँ लागिपरेका थिए ।
हिमाली सांस्कृतिक समुह, संगीत प्रशिक्षण केन्द्र, पोखरेली युवा सांस्कृतिक परिवार, शुक्ला साहित्य समिति गन्धर्व समाज, गन्धर्व सग्रहालय भवन निर्माण समिति, लोकदोहोरी गीत प्रतिष्ठान कास्की लगायत थुप्रै संस्थामा आवद्ध थिए । २०३६ सालदेखि विद्यालयहरुमा सारङ्गी, मादल सिकाउदै आएका उनले सूर्योदय, भानुभक्त, प्रगती, गोरखा, हिल पोइन्ट, मनकामना, गण्डकी बोर्डिङ स्कूललगायतका विद्यालयमा सारङ्गी, मादल सिकाएका थिए ।
जनकवी केशरी धर्मराज थापा, झलकमान गन्धर्व, मुक्तिनाथ पण्डित, सोमनाथ प्यासी, कृष्ण थापा, तीर्थ तामाङलगायतको प्रेरणाकै कारण ११ वर्षको उमेरदेखि सांगीतिक क्षेत्रमा प्रवेश गरेका गायक २०२१ साल वैशाख ६ गते पोखराको बाटुलेचौरमा जन्मिएका हुन् । उनको बुबाको नाम बखतबहादुर गायक र आमाको नाम चदरी गायक हो । धनबहादुरको परिवारमा श्रीमती, २ छोरा र १ छोरी छन् । उनले संगीत क्षेत्रमा योगदान गर्दै थुप्रै सम्मान तथा पुरस्कारबाट सम्मानित भएका छन् । उनको सोमबार नै इसाई परम्परा अनुसार अन्त्येष्टि गरिएको छ ।





