पर्वत, १६ माघ– कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणको लागि मंगलबारदेखि नेपालमा पनि खोप लगाउन सुरु गरिएको छ । भारतले १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप ‘कोभिशिल्ड’ उपलब्ध गराएपछि देशका सबै जिल्लामा बसधवारदेखि एकै साथ पहिलो चरणमा खोप लगाउन सुरु भएको हो ।
कोरोनाको विरुद्धमा बनेका केही खोपहरू आम नागरिकमा लगाउने क्रम चलिरहेको बेलामा कतिपय देशले बनाउँदै गरेका खोपहरू अझै पनि परीक्षणको क्रममा छन् । कोरोना भाइरस विश्वमा नै नयाँ हुनु र यसका विरुद्धमा बनेका खोपहरू समेत नयाँ भएका कारण तयार भइसकेका खोप लगाउन आम नागरिकदेखि उच्च तहमा रहेकाहरू समेत मौन रूपले सशंकित छन् ।
मंगलबार कोरोना रोकथाम तथा नियन्त्रणको लागि अग्रपंक्तिमा रहेर काम गरेकाहरूलाई खोप लगाइएको छ । उनीहरूमा खोपको कुनै असर देखिएला वा नदेखिएला भनेर पर्खिरहेका नागरिकको बीचमा खोप लिएकाहरूको अनुभवले अन्य व्यक्तिहरूलाई समेत खोप लगाउन तयार हुन सन्देश दिएको छ ।
अन्य जिल्लामा जस्तै पर्वतमा पनि कोरोना संक्रमणको पुष्टि भएकाहरूलाई ओसारपसार गर्न तथा संक्रमण रहेको अवस्थामा मृत्यु भएकाहरूको शव व्यवस्थापन गर्न अग्रपंक्तिमा रहेर काम गरेको नेपाली सेना हो । यही कारण पहिलो चरणको खोप अभियानमा खोप लगाएका केबलजङ्ग गुल्म पर्वतका सेनानी रमेश थापाले पनि लगाए । खोपको प्रभावका बारेमा कुरा गर्दा उनले आफूमा कुनै पनि ‘साइड इफेक्ट’ नरहेको बरु अब कोरोनालाई जितेर बाँच्न सकिन्छ भन्ने आशा जगाएको बताए । ‘म सहित सेनाबाट हामी चार जनाले लगाएका हौँ । हामीमा कुनै पनि खालको फरक फिलिङ भएको छैन। नेपालका लागि पहिलो भनेर हामी डराएका छैनौँ । किनकि वैज्ञानिकद्वारा परीक्षण गरिएको खोपलाई सरकारले मान्यता दिएर मात्र ल्याएको हो ।’ उनले भने, ‘यसले ममा कति शक्ति बढायो भन्ने त भर्खरै थाहा हुने कुरा भएन । यसले गरेको काम बिस्तारै थाहा होला। खोपमा विश्वास गर्नुपर्छ । खोप पाउनु हामी नेपालीको लागि खुसीको कुरा हो ।’
पर्वतमा पहिलो खोप लिएका स्वास्थ्य कार्यालय पर्वतका प्रमुख डा. भोजराज गौतम पनि खोपले अबको केही दिनमा आफूमा प्रतिरक्षा प्रणालीको थप विकास गर्नेमा ढुक्क छन् । खोपको बारेमा ‘ओरियन्टेसन’ गर्ने जिम्मेवारी नै आफ्नो भएको बताउँदै उनले अरूलाई यसको बारेमा जान्न सजिलो होस भनेर नै आफूले सुरुमा नै खोप लगाएको जानकारी दिए । ‘स्वास्थ्यकर्मीले समेत यो खोप के होला ? कसो होला ? भनेर शंका भइरहेको बेलामा उहाँहरूलाई ढुक्क बनाउनकै लागि पनि मैले सुरुमा नै खोप लिनुपर्ने थियो । पहिलो पटक भएका कारण कोहीमा डर त्रास हुनु अस्वाभाविक पनि होइन ।’ उनले भने, ‘अब हामीलाई केही नभएपछि अरुमा पनि आत्मविश्वास बढ्ने छ । अरूलाई पनि अब खोप लगाउन मन लाग्ने छ ।’ विश्व स्वास्थ्य संगठनले खोपको दोस्रो डोज लगाएपछि ७१ प्रतिशत ‘इम्युनीटी पावर’ बढाउँछ भनेकाले त्यसको अनुभव गर्न आफू प्रतीरक्षारत रहेको डा. गौतमको भनाई छ । खोप लगाएपछि आफू सुरक्षित छु भन्ने अनुभव भएको बताउँदै उनले खोप लिए पनि ‘हेल्थ प्रोटोकल’ मिच्न भने नहुने सुझाव दिन्छन् ।
प्रादेशिक स्वास्थ्य आपतकालीन कार्यसंचालन केन्द्र गण्डकी प्रदेशका संयोजक नवराज शर्माले गण्डकी प्रदेशमा पहिलो दिन मङ्गलवार लगाइएका खोपको विषयमा कहीँकतैबाट पनि नराम्रो भएको खबर नआएको बताए । प्रदेशमा लगाइएकामध्ये ६० प्रतिशत खोप महिलालाई लगाइएको र त्यसको सुखद प्रतिक्रियाले कोरोना नियन्त्रणमा नयाँ आसा जगाएको उनको भनाई छ । ‘धेरैजसो अस्पतालका प्रमुखहरूले नै सुरुको खोप लिनुभएको छ । त्यसपछि महिला स्वयंसेविका र नगरपालिका तथा गाउँपालिकाका कर्मचारीहरूलाई खोप लगाइएको छ’, शर्मा भन्छन्, ‘यसले साइड इफेक्ट गरेको भने कतैबाट पनि सूचना प्रदेशमा आएको छैन । यसले कोरोना नियन्त्रणको लागि नयाँ आशा जगाएको छ ।’





