मंगलबार, कार्तिक ३ २०८३

मंगलबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

सिगानाको सुन्तला चैतलाई भण्डारण

सिगानाको सुन्तला चैतलाई भण्डारण


  • ढोरपाटन संबाददाता
  • माघ १८ २०७७, आइतबार

बागलुङ, १८ माघ– कोरोना महामारी नभएको भए यतीबेला सिगानमा सुन्तला उत्सव हुन्थ्यो । किसान र उपभोक्ताको साक्षात्कार हुने सुन्तला उत्सव सिगानको सुन्तलाको बजारीकरणको राम्रो माध्याम हो । यो बर्ष किसानले उत्सव लगाएर सुन्तलाको बजारीकरण त गर्न पाएनन् तर सिजनको फलबाट आम्दानी भने भित्रिईरहेको छ ।
सुन्तला गाउँका रुपमा परिचय कमाएको बागलुङ नगरपालिका–८ सिगानाका किसानहरुलाई यतिबेला सुन्तलाको फसल लिन भ्याई नभ्याई छ । बोटमै आउने व्यापारी र गाउँछेउका उपभोक्तालाई सुन्तला तौल गरेर बिक्री गर्दा दिन बित्ने गरेको किसानहरु बताउँछन् ।
चिसो बढ्दै छ । सुन्तलाको गुण समेत चिसो भएकाले बगानमा पुग्ने जो कोहीले किसानलाई गर्मी मौसमकालागि सुन्तला राख्न सुझाउँछन् । ‘बोट आउनेहरुले चैतमा बिक्रि गर्नुस भन्छन्’ किसान टोप बहादुर खड्का भन्छन् ‘धेरै सञ्चित गरेर राख्ने ठाउँ छैन् थोरैथोरै राखेका छौं ।’ टोप बहादुरको आफ्नै शित भण्डार छ । अहिले बगानबाट प्रति किलो ५० रुपैयाँमा बिक्री भएको सुन्तला दुई महिना मात्रै सुरक्षित राख्न सके चैत बैशाखको समयमा तीनगुणा बढी मुल्य पर्ने उनले सुनाए ।
उनी जस्तै सुन्तला फलाएका किसान सबैले आफ्नै लगानीमा शित भण्डार बनाउन सक्दैनन् । पछिल्लो पटक गणेश व्यवयसायीक कृषि सहकारीले किसानहरुलाई शितभण्डार बनानउ सहयोग गरेको छ । दुई वर्ष पहिला गण्डकी प्रदेश सरकारले यहाँ शित भण्डार निर्माणका लागि ३० लाख रुपैयाँ अनुदान दिएको थियो । सरकारको अनुदान, किसानको श्रमदान र वडा कार्यालयको थप सहयोगमा २० टन क्षमताको सुन्तला चिस्यान केन्द्र निर्माण भएको स्थानीय किसान गणेश थापाले बताए । ‘यो त सानो भण्डार हो, यहाँ सुन्तला धेरै फल्छ’ थापाले भने ‘सबै सुन्तला सुरक्षित राख्नेगरी यस्ता पाँच÷छ वटा चिस्यान केन्द्र बनाउनु पर्छ ।’ सिगानमा बनेको चिस्यान केन्द्रले धेरै थोरै किसानलाई सघाएको छ ।
गत बर्ष चिस्यान केन्द्रमा राखिएको झण्डै ८ टन सुन्तला कुहिएर गयो । बिद्युतमा आईरहने समस्याका कारण सुन्तला कुहिएको किसान सुरेन्द्र खड्काले बताए । ‘बैकल्पिक व्यवस्था नहुँदा बिजुली जाँदा चिस्यान केन्द्र तातेर सुन्तला कुहीए’ खड्का भन्छन् ‘यो बर्ष थोरै राखेर सुरक्षित गर्ने योजनामा छौं ।’ किसानले समस्या बताएपछि बागलुङ नगरपालिकाले बैकल्पिक उर्जाको प्रबन्ध गर्न थालेको छ । ६ लाख रुपैयाँ खर्चेर जेनेरेटरको व्यवस्था गरेको नगरप्रमुख जनकराज पौडेलले बताए । ‘हामी सिगानमा ७ बर्षमा २ लाख सुन्तलाका बिरुवामा फलाएर ८ अर्ब भित्राउने लक्षमा छौं’ पौडेलले भने ‘किसानको अवश्यकता पुरा गर्न सधैं तयार छौं ।’ चिस्यान केन्द्रमा राखिएको सुन्तला पोखरा, चितवन र बागलुङ बजार लगायतका स्थानमा गर्मी समयमा बिक्रि हुनेगरेको छ ।
गत वर्ष सिगानाका सुन्तला किसानहरुले दुई करोड भित्राएका थिए । चिस्यान केन्द्रमा राखिएका सुन्तला कुहिँदा किसान मर्कामा परे । यो बर्ष उत्पादनमा कमी आएकोले चिस्यान केन्द्र मार्फत महंगोमा बेच्ने दाउमा उनीहरु छन् । ‘एउटै चिस्यान केन्द्रले हामीलाई आशाबादी बनाएको छ’ खड्का भन्छन् ‘अझै ठुलो परिणाममा सुन्तला राख्न सक्ने चिस्यान भए, फलेका मध्ये आधा सुन्तला गर्मी मौसममा बिक्री हुन्थ्यो ।’
यो बर्ष १० टन सुन्तला कोल्ड स्टोरमा राखिएको किसानले बताए । वडा कार्यालयमार्फत तीन वर्षको अवधीमा २८ हजार सुन्तलाका विरुवा रोपीएको छ । ती बिरुवामा फल लाग्दा थप चिस्यानको आवश्यकता पर्ने वडाअध्यक्ष राजन जिसीले बताए । वडा कार्यालयले प्रत्येक वर्ष किसानहरुलाई १० हजार सुन्तलाका बिरुवा ५० प्रतिशत अनुदानमा बितरण गर्दै आएको ो । सुन्तला लगाउँदा गुमेको कृषी उपज बराबरको रकम समेत नगरपालिकाले दिएको छ । नयाँ बिरुवाले उत्पादन दिन थालेपछि बार्षिक एक करोडका दरले सुन्तला उत्पादनमा बृद्धि हुँदै जानेछन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->