बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

‘कोठे बैठकले विपद् न्यूनीकरण हुँदैन, बैठक भन्दा पनि एक्सनमा लागौँ ।’

‘कोठे बैठकले विपद् न्यूनीकरण हुँदैन, बैठक भन्दा पनि एक्सनमा लागौँ ।’


  • संजय रेग्मी
  • माघ १९ २०७७, सोमबार

पर्वत, १९ माघ-  ‘यस्तै बैठकहरू धेरै भए । केन्द्रदेखि स्थानीय तहसम्म बैठक त धेरै भएका छन् । तर, दुर्घटना भएर उद्धार गर्नुपरेमा हाम्रो अवस्था के छ भन्ने त हामीलाई थाहै छ। प्रहरीको भ्यानले मान्छे ओसारेको बाहेक देख्न पाइँदैन ।’ कुस्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि पंगेनीले भन्दै थिए, ‘तत्काल राहत उद्धारको आवश्यक व्यवस्था मिलाउन यहाँ स्रोत होइन, भावनाको अभाव छ । कोरोना एक्कासि आउँदा यत्रो फन्ड बनाउन सक्ने हामीले विपद् पर्न सक्छ भनेर तयारी गरेको खोइ ?’
पोखरा–बागलुङ सडक खण्ड अन्तर्गत कुस्मा नगरपालिकाको खरेहामा इमर्जेन्सी रेस्क्यू टिम (आईआरटी) का लागि बनाइरहेको भवनका लागि आवश्यक बजेटमा दिन पालिकाहरू तत्पर नहुनुमा पनि उनलाई दुःख लागेको छ । तत्कालै उद्धारको लागि सशस्त्र प्रहरीले बनाइरहेको भवनमा कुस्मा नगरपालिकाले पाँच लाख रुपैयाँ विनियोजन गरेको भए पनि अन्य स्थानीय तहले त्यसमा चासो नदिनु राम्रो नभएको उनको भनाई छ ।
विपद्को पूर्व तयारीको विषयमा पर्वतमा भइरहेको अवस्थाका बारेमा जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक विश्वराज अधिकारी पनि सन्तुष्ट छैनन्। दुर्घटना वा विपद् भएकै स्थानमा स्वास्थ्यकर्मी लगेर घाइतेको उपचार गराउन नसकिनु, भूकम्प वा पहिरोमा परी पुरिएको मान्छेलाई निकाल्ने विशेष सामग्रीहरू नहुनु, आवश्यक परेको बेलामा जिल्लामा रहेका एम्बुलेन्सहरू तत्कालै उपलब्ध नहुनुमा उनको असन्तुष्टि छ । ‘एक्सीडेन्ट भएको बेलामा एम्बुलेन्सले घाइते ओसारेको केस त पर्वतमा रेयर नै छन् । घट्न हुँदा साथ प्रहरी भ्यानले घाइते त बोक्छ तर त्यो एम्बुलेन्स जस्तो कम्फर्टेवल हुँदैन । घटनास्थलमा स्वास्थ्यकर्मी नै लैजान सकिएको छैन ।’ डिएसपी अधिकारी भन्छन्, ‘आत्महत्या यसरी बढीरहेको छ की अब यसलाई पनि विपदमै राखे हुने भयो । यसका लागि प्रदेश सरकार र स्वास्थ्य कार्यालयले पनि अभियान चलाउनुप¥यो ।’
गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालयले पर्वतमा आयोजना गरेको जिल्ला स्तरीय विपद् प्रतिकार्य टोलीको समन्वयात्मक बैठकमा बोल्ने अरू धेरैको पनि विपद्को बेलामा अहिले भइरहेका प्रयासहरू सन्तोषजनक नभएको बताए । जिल्ला अस्पताल पर्वतका मेडिकल सुपरिटेन्डेन्ट डा. शिशिर देवकोटाले बैठक र गोष्ठीमा धेरैको उद्धार हुने गरेको भए पनि घट्न घटेकै बेलामा उद्धारको समस्या रहेको उल्लेख गरे । जिल्लामा हुन सक्ने विपद्को अवस्था हेरेर स्वास्थ्य संस्थाहरूलाई सोही अनुसारको तयारी अवस्थामा राख्न सकेमा डक्टरले ज्यान जोगाउने जिम्मेवारी पूरा गर्न सक्ने उनको भनाई छ ।
यस्तै डा. डि.बी. क्षेत्रीले पर्वतमा जिल्लामा एउटा पनि स्पाइनल बोर्ड नहुनु जिल्लाका लागि नै दुःखद खबर भएको बताए । ‘यत्रो जिल्लामा एउटा पनि स्पाइनल बोर्ड छैन् । यो कति दुःखद कुरा हो । विपद्मा कसैलाई स्पाइनल इन्जुरी भयो भने बुईमा वा जिपमा राखेर ल्याउँदा त्यो मान्छेमा झनै अपाङ्गता हुने खतरा छ ।’ उनी भन्छन्, ‘जिल्लामा रहेका प्रतिकार्य टोलीहरूलाई बेला बेलामा रिफ्रेस गराउनुपर्छ । उनीहरूलाई एक्टीभ र रेडी राख्नुपर्छ ।’
कार्यक्रममा उपस्थित भएका स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका जनस्वास्थ्य निरीक्षक नानीबाबु दानीले त जनप्रतिनिधिहरूको चासो विपद् न्यूनीकरणमा भन्दा मनपरी सडक खनेर विपद् निम्त्याउन केन्द्रित रहेको आरोप लगाए । विकास गरेको देखाउने बहानामा मनपरी तरीकाले खनिएका सडकका कारण विपद् बढेको बताउँदै उनले विपद्को भागीदार जनप्रतिनिधि समेत रहेको बताए । ‘जनप्रतिनिधिको प्राथमिकता भनेको देखिने कुरामा मात्रै छ । विकास गरेको देखाउन बाटो खन्दा विपद् आएको छ । यसका भागीदार जनप्रतिनिधि पनि हुन् ।’ उनले भने, ‘विपद्लाई सबैले साझा र प्राथमिकताको सवालका रूपमा लिनुपर्छ ।’
कार्यक्रममा बोल्दै स्वास्थ्य कार्यालय पर्वतका प्रमुख डा. भोजराज गौतमले विपद्को न्यूनीकरण र उद्धारको लागि कागजमा धेरै योजनाहरू बनेको भए पनि सक्रिय क्रियाकलाप नहुनु दुःखको कुरा भएको उल्लेख गरे । ‘प्रिडिक्सन’ गर्दै जोखिम कम नहुने भएकोले अबको काम ‘प्रिडिक्सन’ सँगसँगै ‘एक्सन’ पनि भएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->