बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

भ्यू फ्रम मर्दी हिमाल

भ्यू फ्रम मर्दी हिमाल


  • दिवस गुरुङ
  • माघ १९ २०७७, सोमबार

मर्दी हिमाल । माछापुच्छ«ेसँगै टाँसिएको अर्को हिमाल । केही समय पहिला गुमनाम थियो यस हिमाल । लाग्थ्यो, माछापुच्छ«ेको सुन्दरतामा ओझेल परेको गुनासो हँुदो हो मनमनै यसको । तर छोटो समयमै यसको चर्चा यति चुलियो कि यसबारे अनविज्ञ कमै होलान् । मर्दी आरोहण, पदयात्रा, हाइअल्टिच्युट म्यारथुन, चरावलोकन, साइक्लिङजस्ता एडभेन्चर प्रोडक्टहरुसँगै मर्दी क्षेत्रको उचाइ ह्वातै चुलियो । हालसम्म पाँचपटक मर्दी हिमालको चुचुरोमा पुगिसकेका छन्, उनी । हो, मर्दीकै काँखमा लामो समयदेखि रमाइरहेका उनै हुन्, जगन्नाथ तिमिल्सिना ।
जन्म घर उनको, सराङ्कोट । हरेक बिहान उठ्ने बित्तिकै देख्थे आँखै अगाडि माछापुच्छ«े अनि मर्दी हिमाल । त्यसैले सानैदेखि हिमालसँगको सानिध्यता बढी नै थियो, उनको । सम्झना छ उनलाई, ‘भिजिट नेपाल १९९८’ सँगै उनी पर्यटनमा होमिएका थिए । सुरुवात पोर्टरबाट नै । समयसँगै उनले आफ्नो सीप र क्षमतालाई परिष्कृत गर्दै लगे, अनि बने ट्रेकिङ गाइड । अन्नपूर्ण, एभरेष्ट र नेपालका अन्य सबै पदयात्रा क्षेत्रहरुमा पर्यटनलाई घुमाउन थाले ।
सन् २०१० मा उनले सुरुवात गरे– हाइ अल्टिच्यूड माउन्टेनरिङ । छोटो समयमै उनले आफूलाई यसमा यति पोख्त बनाए कि दुई वर्षपछि अर्थात सन् २०१२ मा नै पहिलो प्रयासमैसगरमाथाकोसफलतापूर्वक आरोहण गरे । त्यसपश्चातपर्वतारोहण क्षेत्रमा उनमा यति क्रेज बढ्यो कि हालसम्म उनले विश्वका नामी ३० हिमालहरु आरोहण गरिसकेका छन् । आरोहणकै कौतुहलता र उत्सुकताले उनलाई नेपालका कुनाकन्दरा पुु¥यायो । घुमायो र डुलायो । अध्ययन, अनुसन्धान र खोजका लागि कार्यक्षेत्र बन्यो सिंगो नेपाल उनको । अनि घुमे नेपालकै ७७ वटा जिल्लाहरु । अध्ययनको दायरा कहाँ नेपालभित्रै मात्र सीमित कहाँ रहन सक्थ्यो, उनका रहरहरु ? एकवर्ष अमेरिकाको अलास्कामा उनले पर्वतारोहणकै तालिममात्र लिएनन्, सँगै बने ओल्ड वाइड सर्टिफाइड माउन्टेनरिङ गाइड ।हाल उनी आफूमात्र हिमाल चढ्दैनन्, विश्वभरका विभिन्न देशमा यसैसम्बन्धी तालिम अनि प्रशिक्षण दिन प्रशिक्षकका रुपमा पुगिरहन्छन् ।
यता, नेपालको पर्वतारोहणको इतिहास भने त्यति लामो छैन । सन् १९५० मा मौरिस हर्जोकले अन्नपूर्ण र सन् १९५३ मा एडमन्ड हिलारी र टेन्जिङ नोर्गे शेर्पाले सगरमाथाको आरोहण गरेपछि पर्वतारोहण फस्टाउँदै गएको थियो नेपालमा । मर्दी हिमाल । उचाई जम्मा ५५८७ मिटर । गुमगाम एक हिमाल । ब्रिटिस फोटोग्राफर बेसिल गुडफेलोले सन् १९५३ मा खिचेको मर्दी हिमालको मनमोहक फोटोले सबैको ध्यान यसतर्फ तानियो । नभन्दै सन् १९६१ म पहिलोपल्ट जिम्मी रोबर्ट र दुई शेर्पाले यसको आरोहण गरेका थिए । त्यसपछिका वर्षहरुमा एकाध मानिसहरुले मात्र आरोहण गरेका छन् यसको ।
उनी सन् २०१६ मा माछापुच्छे« मोडल ट्रेकको अध्ययन र अनुसन्धानका लागि गएको टोलीसँगै पुगेका थिए मर्दी हिमालको फेदमा । उनमा यसको आरोहण गर्ने भोक जागिसकेको थियो । सन् २०१७ नोभेम्बरमा उनी र उनको टोली आरोहणका लागि हानिएका थिए । दक्षिणी भेगबाट आरोहणका प्रयास गरे तर चट्टानै चट्टान र कमजोर भु–बनोटले आरोहण सम्भव भएन । त्यतिबेलाको अविस्मरणीय अनुभव उनी यसरी पस्काउँछन्, ‘त्यतिबेला मेरो र छिरिङ शेर्पाको भागमा‘रोप फिक्सिङ’ को जिम्मा परेको थियो । मौसम यति बिग्रिएको थियो कि केही मिटरभन्दा टाढा केही देखिदैनथ्यो । म चट्टानमा डोरी फिक्स गर्दै थिए र मेरो धेरै तल मित्र छिरिङ शेर्पा थिए । एक्कासी बडेमानको ढुंगा बेतोडले गुर्किदै तल आयो । मैले त यसलाई छलेर कुनातिर पुगे र ठूलो भाग्यले बाँचे तर पिर थियो साथी छिरिङको । ढुंगागुर्किदै तल खोचमा खस्यो । मैले छिरिङलाई जति बोलाउँदा पनि उनी बोलेनन् । हतार हतार ‘डिसेन्ड’ गरेर तल ओर्ले । उनी त ढुंगाको चेपभित्र लुकेर पो बसेछन् । उनलाईसकुशल देख्दा मन हलुंगो भएको थियो । अनि हामी आरोहण नगरी फर्किएका थियौं ।’तर,यति सजिलै उनी कहाँ हार मान्थे र ? त्यसको एक महिनालगत्तै डिसेम्बरमा उनले फेरि प्रयास गरे र चुचुरोमा पुगी छाडे ।
सन् २०२० । कोरोना कहरले थिलथिल परेको थियो, नेपालको पर्यटन । नोभेम्बर महिनामा एक नामी माउन्टेनरिङ गाइड प्रेम गुरुङले उनलाई निम्त्याए मर्दी आरोहणका लागि । ६ जनाको टोली थियो त्यसबेला । पश्चिमी दक्षिण भागबाट आरोहणको प्रयास गरे तर सम्भव भए । पिउने पानी, खानेकुराको अभावले चुचुरोमै पुग्न सम्भव भएन । फेरि एक हप्तापछि पूर्ण तयारीसहित प्रयास गरे र सम्भव पनि भयो, चुचुरोको सफल आरोहण ।
हिमालको दक्षिण र पश्चिमी भागबाट बनाइएका रुटहरु एकदमै अफ्ठ्यारा थिए । आरोहण सम्भव होला तर एकदमै जोखिमपूर्ण । र, बाँकी आशा थियो पूर्वी भागबाट आरोहणको प्रयास । पछिल्लो आरोहणको करिब दश दिनपछि उनी र उनको टोली पूर्वी भागबाट आरोहणका लागि लम्किए । अस्थायी बेस क्याम्प ४७०० मिटरमा खडा गरेका थिए । ‘बिहानै दुई बजे आरोहणका लागि उक्लिएका थियौं हामी,’ उनी थप्छन्, ‘तलतल चट्टानै चट्टान अनि ढुंगामात्रै थियो । करिब ५ हजारको उचाइमा माछापुच्छ«े र मर्दी हिमालको खोच बाटो पछ्याउँदै अघि बढ्यौं । माछापुच्छे«को कोँखैमा पुगेको आभास भएको थियो । त्यसपछि उत्तरी भागबाट माथि उक्लदा जुन दृश्य देखियो त्यो पत्याउनै नसकिने खालको थियो ।४ सय मिटर तलबाट चुचुरोसम्मै हिउँ नै हिउँको थुप्रो । खुसीले फुरुंग थियौं हामी । बुटमा क्य्राम्पन लगायौं अनि डोरीको सहारामा चुचुरो पुग्यौं ।’
उनीहरु बिहान आठ बजे चुचुरोमा पुगेका थिए । हिमालको काँखैबाट देखिने सूर्योदय, आँखै अगाडिको अजंगको माछापुच्छे«, धौलागिरीदेखि मनास्लुसम्मको प्यानारोमिक भ्यु उनले धीतमरुन्जेल नियालेनन् मात्र, अघाउन्जेल कति हृदयमा त कति क्यामरामा कैद गरे । चुचुरोबाट ओर्लदा ४ घण्टामै बेस क्याम्प पुगेका थिए, उनीहरु । अनि उनी निष्कर्षमा पुगेका थिए, पूर्वी भागको रुट नै सबैभन्दा सजिलो र सहजमात्र रहेनछ, सँगै मिनी एभरेष्टको झल्को मेटाउन सकिँदो रहेछ । किनकि ढुंगैढुंगा, चट्टान, हिउँ र आइसको बाटो हुँदै चुचुरोमा पुग्दा भिन्नभिन्न स्वाद चाख्न पाइदो रहेछ ।अर्थात मिनी एभरेष्टको झल्को दिदो रहेछ, मर्दी हिमालले ।
उनलाई आरोहणले मात्र कहाँ धीत मथ्र्यो र ? चुुचुरोबाटै प्याराग्लाइडिङ सम्भव होला त ? यसैको अध्ययनका लागि उनी फेरि हानिएका थिए मर्दी हिमाल । हावाको वेग, गति र अन्य विविध पक्षलाई गहिरो अध्ययन गरी उनले निष्कर्ष निकाले, चुचुरोबाट सम्भव रहेछ प्याराग्लाइडिङ । उनी भन्छन्, ‘टेक अफको लागि पनि पर्याप्त ठाउँ छ । धेरै प्राविधिक पक्षहरुले पनियो उपयुक्त लाग्यो । जिम्मेवार निकाय चुचुरोबाट प्याराग्लाइडिङ गर्ने नियम कानुनमा समावेश छैन भन्दै पन्छिन मिल्दैन । नेपाल एभियसनले यसको सूक्ष्म अध्ययन गरेर स्वीकृति मात्र दिने हो भने मर्दी पर्यटनमा अर्को आयाम थपिनेमा कुनै दुई मत छैन ।’
मर्दी हिमाल आरोहण नै किन ? धेरैमा यो प्रश्न उब्जिन सक्छ । यसबारे उनको धारणा भने यस्तो छ, ‘सर्वप्रथम त यो हिमाल आरोहणका लागि नेपाली त के कुनै विदेशीलाई कुनै शुल्क लाग्दैन । दोस्रो, यो पोखराजस्तो पर्यटकीय शहरबाट पनि हप्तादिनमै आरोहण गरी पोखरा सजिलै फर्कन सम्भव छ । तेस्रो, यस्तै होचा हिमालहरु जस्तै मिरा पिक, आइस पिक, धम्पुस पिक आरोहण गर्दा जति खर्चिलो छ, यो त्यति खर्चिलो छैन । साथै यसको पूर्वी भागबाट आरोहण गर्दा ढुंगा, चट्टान, आइस, हिउँ सबैको अनुभव गर्ने अवसर मिल्छ, जुन यति होचो उचाइमा अन्त कतै सम्भव छैन । अनि ८ हजारभन्दा बढी उचाइका हिमालको आरोहण पूर्व यसको आरोहणले धेरै राहत पनि दिन्छ आरोहीलाई ।’
मर्दी आरोहणका लागि पछ्याउने धेरै रुटहरु छन् । पोखराबाट प्रुम्दुम, मेस्रुम, कोच्रुङ, सिर्का खर्क, बेस क्याम्प हुँदै चुचुरो पुग्ने सबैभन्दा सजिलो र सहज रुट ठान्छन् उनी । पोखरा टु मर्दी हिमाल अनि ब्याक टु पोखरा केवल एक हप्तामा । यसबाहेक, रेबान, लाचोक घाचोक, मिर्सा, करुवा, सरिपाखाजस्ता गाउँहरुबाट पनि बेस क्याम्प पुग्न सकिन्छ ।
मर्दी हिमाल आरोहण नेपालीहरुका लागि पनि आर्थिक रुपमा पनि खर्चिलो नरहेको उनको बुझाइ छ । स्थायी बेस क्याम्प बनाउने योजना हुँदैछ त्यहाँ । ठाउँठाउँ ‘टि हाउस’ बनाएसँगै धेरै सहजता मिल्नेछ । यता गाउँपालिका, स्थानीय संघसंस्था र सरोकारवालाहरुले बेसक्याम्पमै आरोहण सामग्रीहरु भाडामा उपलब्ध मात्र गराउन सकिए, आरोहणमा धेरै सहज हुनेछ । एक त कम शुल्कमा सामग्री पाइन्छ, अर्को एक हप्ताभर बोकिराख्नु पर्दैन । बिमासहित सम्पूर्ण आरोहणको खर्च २५ देखि ३० हजारभित्र सम्भव हुने उनको बुझाई छ । यो अन्य हिमालको आरोहण गर्दाको खर्चभन्दा धेरै कम रहने उनी ठान्छन् ।
उनी विभिन्न विषयमा दक्षता हासिल गरिसकेका छन् । सन् २०१६ मा अमेरिकाबाट एन.ओ.एल.यस अर्थात ‘नेश्नल आउटडोर लर्निङ स्कुल’ बाट सर्टिफाइट ट्रेनर हुन् उनी । साथै त्यही एल.एन.टी अर्थात ‘लिभ नो ट्रेस’ का मास्टर ट्रेनर समेत हुन् उनी । यस्तै विभिन्न विषयमा हासिल गरेको ज्ञान अनि दक्षता उनी अरुलाई बाड्छन् । जति उनले सिके, त्योभन्दा बढी अरुलाई सिकाउँछन् ।
यतिमा मात्र कहाँ सिमित रहन्थ्यो र उनका रहरहरु ? ‘फ्रिडम सोसल फाउन्डेसन’ नामक परोपकारी संस्थाका संस्थापक हुन् उनी । नेपालमा अझै आममानिसमा पर्वतारोहण, रक क्लाइबिङ जस्ता एडभेन्चरमा त्यति रुचि रहेको भेटिदैन् । त्यसैले विशेष त स्कुल ड्रप आउट अर्थात बीचैमा स्कुल छोडेका विद्यार्थीहरु, आर्थिक रुपमा कमजोर बालबालिकाहरुलाई उनी तालिम दिन्छन् । तनहुँ, चितवन, कास्की लगायत विभिन्न जिल्लाहरुमा बीस बाइस वटा यस्तै तालिमहरुउनले सैयौं बालबालिकालाई निशुल्क दिइसकेका छन् । यति मात्र हैन, शारीरिक रुपमा कमजोर भएका बालबालिकाका लागि उनको यस संस्थाले गरेको कार्यक्रम एकदमै प्रशंसनीय थियो । पर्वतारोहणक्षेत्रमा बढी भन्दा बढी दक्ष जनशक्ति उत्पादन मात्र गर्न सकियो भने एक त नेपालको पर्यटन फस्टाउँदै जान्छ र अर्को, धेरै भन्दा धेरैले रोजगार पाउँछन् । अनि लम्किन्छ नेपाल विकासको गतिमा ।
जलवायू परिवर्तनसँगै पर्वतारोहण क्षेत्रमा धेरै चुनौतीहरु थपिएका छन् । हिमालहरुमा हिउँ छैन । कहिले हिमपहिरोमा पुरिएर कैयौं मानिसहरुले ज्यान गुमाएका छन् त कहिले आँधीहुरीमा । यो आफैंमा चिन्ताको विषय रहेको उनी ठान्छन् । उनी थप्छन्, ‘अहिलको एक्काइसौ शताब्दीमा पर्वतारोहण क्षेत्रको एक मुख्य चुनौती जलवायु परिवर्तन हो । राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा चालेका कदमहरु आफ्नो ठाउँमा छ, सँगै हरेक जिम्मेवार पर्वतारोहीको पनि ठूलो भूमिका रहन्छ । व्यक्तिगत रुपमा हरेकले पालना गर्नु पर्ने सातवटा सिद्धान्तहरु रहेका छन् । यसलाई अनुशरण गर्न म सबैलाई हौस्याउँछु ।’
कोरोनापछिको नेपालको ‘माउन्टेनरिङ टुरिजम’मा उनी धेरै आशावादी छन् । मर्दी हिमालको सन्दर्भमा हेर्दा पनि मर्दी आरोहणसँगै प्याराग्लाइडिङ, स्काइ डाइभिङ, क्यानोनिङ जस्ता प्रोडक्टहरुलाई ब्रान्डिङ गर्न सकिने उनको धारणा रहेको छ । यस अर्थमा ‘मल्टिपल आउटपुट’ अर्थात बहुउपयोगिता हासिल गर्न सकिन्छ । यसका लागि सरोकारवालाहरुको समयमै ध्यान जाओस् । नियम कानुनदेखि हरेक व्यवस्थापनमा सहजीकरणको आवश्यकता देखिन्छ ।उनको उमेरले पनि अब ८÷१० वर्ष मात्र सक्रिय रुपमा आरोहणमा लाग्न साथ दिन्छ होला, उनलाई लाग्छ । यस अगावै मर्दी हिमालमा व्यावसायिक आरोहण सुरुवात भएको उनी यर्थाथमा देख्न चाहन्छन् । अनि त्यहीँका स्थानीय युवाहरुलाई प्रशिक्षण गराउँदै दक्ष जनशक्ति उत्पादन गर्ने उनको सपना छ ।
उनीजस्तै कैयौं पर्यटनप्रेमी जुझारु युवाहरुउनकै पदछापहरु पछ्याउँदै अघि बढ्ने मात्र हो भने पनि नेपालको पर्यटनमा ठूलो छलाङ मार्न सकिनेमा कुनै दुईमत छैन ।उनका सपनाहरुले साकार रुप लिऊन् । शुभकामना ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->