बागलुङ, १९ माघ– विवाहमा हुने खर्च कटाएर पर्वतको पाङका समाजसेवी फणीन्द्रनाथ पौडेलले स्थानीय एक विद्यालयलाई सहयोग गरेका छन् ।
कुश्मा नगरपालिका वडा नं. १ पाङमा रहेको पाङ धैरेनी माध्यमिक विद्यालयको ६१ औं वार्षिकोत्सवका अवसरमा पौडेले छोराको विवाहमा खर्च कटाएर बचेको ५० हजार रुपैयाँ सहयोग गरेका हुन् ।
विद्यालयमा अतिरिक्त क्रियाकलापहरु सञ्चालन गर्नका लागि समाजसेवी, पूर्वविद्याथी, शिक्षक तथा विद्यालय व्यवस्थापन समितिका सदस्यहरुले सहयोग गर्ने गरेका छन् । पुर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका पौडेलले शिक्षाको विकासका लागि सहयोग गर्दै आएका छन् ।
विद्यालयमा रहेको अरूण अक्षय कोषबाट करिब ८० हजार रुपैयाँ बराबरको छात्रवृत्ति संस्थापक राम्जी रिजाल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष स्वस्थानी रिजालले वितरण गरेका थिए । अक्षयकोषबाट बचत भएको १ लाख १ हजार रूपैयाँ विद्यालयको कल्याणकारी कोषमा जम्मा गरिएको छ ।
उक्त रकमले विद्यालयका भौतिक संरचना र शैक्षिक क्रियाकलाप सञ्चालनमा सहयानेग गर्ने अध्यक्ष रिजालले बताए । विद्यालयको सहयोगका लागि पाङबासीले जन्मोत्सव तथा विवाह र हरेक धार्मिक कार्यमा हुने खर्च कटाउने र सहयोग गर्ने गरेका छन् ।
वार्षिकोत्सवको अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष स्वस्थानी रिजालले पनि आफ्नो नातीनिको जन्मोत्सव खर्च कटाएर बचेको रकम ७ हजार ५ सय विद्यालयलाई सहयोग गरेका थिए । वडा अध्यक्ष देवेन्द्र सुवेदीले विद्यालयलाई दश हजार रुपैयाँ व्यक्तिगत सहयोग गर्ने घोषणा गरे ।
पाङमा रहेको वन समूहबाट पनि विद्यालयलाई १ लाख १ हजार रुपैयाँ सहयोग स्वरुप प्रदान गर्ने सामुदायीक वन उपभोक्ता समिति अध्यक्ष टेकबहादुर सुवेदीले जानकारी दिए ।





