बिहिबार, असोज २२ २०८३

बिहिबार, असोज २२ २०८३
  • २२ असोज २०८३ , बिहिबार
  • October 8 2026

‘मुख्यमन्त्री कप’ भलिबल प्रतियोगिता फागुन पहिलो साता

‘मुख्यमन्त्री कप’ भलिबल प्रतियोगिता फागुन पहिलो साता


  • ढोरपाटन संवाददाता
  • माघ २१ २०७७, बुधबार
volleyball

पर्वत, २१ माघ– कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण लामो समयसम्म सुनसान बनेको गण्डकी प्रदेशको राजधानी पोखरामा प्रदेश स्तरीय भलिबल प्रतियोगिता हुने भएको छ ।

गण्डकीमा पहिलोपटक मुख्यमन्त्री कप भलिबल प्रतियोगिता हुन लागेको कास्की जिल्ला भलिबल संघका अध्यक्ष भीम पराजुलीले बताए । कोरोनाका कारण सुनसान बनेको खेल जगतलाई पुरानै लयमा फर्काउन तथा पोखरालाई पर्यटकीय मात्र नभई खेल नगरीको रूपमा पनि विकास गर्न टेवा पुग्ने गरी प्रतियोगिताको आयोजना गरिएको उनको भनाइ छ ।

कास्की जिल्ला भलिबल संघको आयोजनामा हुने प्रतियोगिता फागुन ४ देखि ८ गतेसम्म हुने जनाइएको छ । अध्यक्ष पराजुलीका अनुसार प्रतियोगितामा प्रदेशका ११ वटै जिल्लाका टिमको सहभागिता रहने गरी सबैलाई खबर गरिएको छ । प्रतियोगितामा महिला र पुरुषका छुट्टाछुट्टै खेल राखिएको छ ।

‘पोखरालाई खेलका माध्यमबाट पनि चिनाउनको लागि सहयोग पुग्छ भन्ने हाम्रो उद्देश्य छ । अर्को कुरा कोरोनाका कारण सुनसान बनेको खेल जगतलाई अब पुरानै लयमा ल्याउनैपर्छ, यसका लागि प्रतियोगिता आयोजना गरिनुपर्छ,’ पराजुलीले भने, ‘प्रतियोगिता सञ्चालन गर्न केही रकम विनियोजन गर्न प्रदेशको सामाजिक विकास मन्त्रालयमा कुरा भइरहेको छ । अरू रकमको जोहो गर्न हामी लागिपरेका छौँ । सकेसम्म मुख्यमन्त्री कप भलिबललाई हरेक वर्ष निरन्तरता दिनुपर्छ ।’

प्रतियोगितामा विजेता महिला र पुरुष टोलीले २÷२ दुई लाख नगदसहित र ट्रफी प्राप्त गर्नेछन् । यस्तै, दोस्रो टिमले एक लाख र तेस्रोले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा फरक फरक पाँचवटा बिधामा उत्कृष्ट हुने महिला तथा पुरुष खेलाडीले प्रतिव्यक्ति पाँच हजार रुपैयाँका दरले पुरस्कार पाउने आयोजकले जानकारी दिएको छ ।

प्रतियोगिताको तयारीका लागि अहिले प्रदेशका सबै जिल्लामा खेलाडी छनोटको काम भइरहेको छ । संघका अध्यक्ष पराजुलीका अनुसार गण्डकी प्रदेशमा हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई ध्यानमा राखेर त्यसैलाई खेलाडी आपूर्ति समेत हुन सक्ने गरी प्रतिभावान् भलिबल खेलाडीको खोजी पनि यो प्रतियोगितामा हुने छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->