पर्वत, २२ माघ– पर्वतको मोदी गाउँपालिका–५ बाजुङ्गको ओखलढुंगामा रहेका २२ परिवारलाई पिउने पानीको समस्याले वर्षौँदेखि सताइरहेको थियो । फागुन चैतजस्ता गर्मी महिनामा खडेरी लाग्दा गाउँमा रहेका दुईवटा धारामा पानी नै सुक्थ्यो । पिउनेदेखि चौपाया र अन्य प्रयोजनको लागि आवश्यक पानी बोक्न करिब पाँच सय मिटर टाढा रहेको खोल्सामा गएर पानी ओसार्नुपर्ने थियो । फेरि बर्खाको बेलामा गाउँमा रहेका दुवै धारामा हिलो र लेदोसहितको पानी आउँथ्यो । त्यही पानी पिउनुको कुनै विकल्प थिएन ।
यो समस्यामा परेको ओखलढुंगाका २२ परिवारसहित एउटा विद्यालयले अब भने यसबाट मुक्ति पाएका छन् । उनीहरूलाई गर्मीयाममा पनि आवश्यक पानी घर छेउकै धारामा खस्ने छ । बर्खामा पनि हिलो र लेदो आएको पानी पिउनुपर्ने छैन। न त ग्रागी कोखामा बोकेर महिलाहरू खोलीमा धाउनुपर्ने छ ।
नेपाली सेनाको सामाजिक आर्थिक विकासका पूर्वाधार निर्माण कार्यहरूअन्तर्गत सैनिक नागरिक सम्बन्धलाई थप प्रभावकारी बनाउने उद्देश्य सहित केवल जङ्ग गुल्मले पानीको आयोजना बनाइदिएपछि गाउँलेहरूले वर्षौँदेखि भोग्दै आएको समस्या समाधान भएको हो । गाउँबाट करिब आठ सय मिटर टाढा रहेको पानीको स्रोतलाई प्रयोग गरेर इन्टेकहरू निर्माण गरेर गाउँमा पानी वितरण गरिएपछि गाउँलेहरूलाई सुविधा भएको गुल्मका सेनानी रमेश थापाले बताए । ‘सैनिक र नागरिकको सम्बन्धलाई थप प्रभावकारी बनाउन सेनाले यस्ता कामहरू गर्दै आइरहेको छ । ओखलढुंगामा पानीको समस्या रहेको थाहा पाएपछि हामीले त्यहाँ पानीको सुविधा दिलाउने गरी काम गरेका हौँ ।’ उनले भने, ‘पहिले पानीको धेरै समस्या रहेछ, अब २२ घरका लागि २२ वटा धारा खसालेका छौँ । उहाँहरूले पानीको दुःख अब भोग्नुपर्ने छैन ।’
पानीको मुहानपछि २० हजार लिटर पानी अट्ने क्षमताको ट्याङ्की निर्माण गरेर अहिले गाउँमा पानी वितरण भइरहेको छ । २२ परिवारका लागि २२ ओटा धारा बनाइएको छ भने बाटो हिँड्नेहरूका लागि सार्वजनिक ठाउँमा दुई ओटा र बालज्योती आधारभूत विद्यालयमा एउटा धारा राखिएको छ ।
सेनाको १० लाख, मोदी गाउँपालिकाको दुई लाख र स्थानीयको जनश्रमदान एक लाख रुपैयाँ गरी १३ लाख रुपैयाँको लगानीमा खानेपानी आयोजना सम्पन्न भएको हो । वर्षौँदेखि भोग्दै आएको समस्या दुई महिनामा नै समाधान भएपछि गाउँलेहरू पनि खुसी भएका छन् । स्थानीय सुरेशबहादुर क्षेत्रीले अब कहिले फोहोर पानी पिउनुपर्ने त कहिले त्यही पानी पनि नपाउने अवस्थाको अन्त्य भएको बताए । ‘गाउँमा खानेपानीको समस्या रहेको भनेर वडादेखि पालिका र सरकारका अन्य निकायमा पनि धाएका थियौँ । तर छायामा परेको गाउँलाई कसैले योजना दिएन । अहिले आर्मीले २५ ओटा धारा राखेर गाउँमा पानी बाँडेको छ । सेनाले हाम्रो दुःख देख्यो ।’ उनले भने, ‘फागुन चैत जस्ता गर्मी महिनामा गाउँमा ल्याइएका दुई ओटा धारा सुक्ने गरेका थिए । त्यो बेलामा गाग्री बोकेर आधा किलोमिटर टाढा रहेको खोलामा पानी लिन जानुपर्ने बाध्यता थियो । बर्खा याममा हिलो र लेदोसहितको पानी धारामा आउँथ्यो त्यही पानी पिउनुको विकल्प थिएन। अब भने बर्खा र गर्मी दुवै अवस्थाको समस्या समाधान भएको छ ।’
अर्का स्थानीय कृष्णबहादुर क्षेत्रीले पनि सेनाले बनाइदिइएको खानेपानी आयोजनाले गाउँलेहरूको आयु नै लम्बाएको बताउँछन् । फोहोर पानी पिउँदा स्वास्थ्यमा प्रत्यक्ष असर परिरहेको बताउँदै उनले अब ओखलढुंगाबासीको पानीको सपना पूरा भएको उनको भनाई छ ।खानेपानी आयोजनाको नेपाली सेना पश्चिम पृतना हेडक्वार्टरका पृतनापति विनयविक्रम राणा र मोदी गाउँपालिकाका प्रमुख प्रेम पौडेलले संयुक्त रूपमा शुभारम्भ गरेका छन् ।





