पर्वत, २२ माघ– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले २२० केभी क्षमताको खुर्कोट सब स्टेशन उद्घाटन गरेका छन् । बिहीबार कालीगण्डकी कोरिडोर प्रसारण लाइन आयोजनाअन्तर्गत पर्वतको कुश्मा नगरपालिका–२ मा निर्माण भएको २२० केभी क्षमताको खुर्कोट सब स्टेशन मन्त्री रायमाझीले उद्घाटन गरेका हुन् । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी प्रसारण कोरिडोरको खुर्कोट–दाना खण्डको उद्घाटनका लागि प्रधानमन्त्री के.पी. शर्मा ओली आउने कार्यक्रम थियो । अन्तिम समयमा प्रधानमन्त्री नआएपछि मन्त्री रायमाझि उद्घाटनका लागि पर्वत आएका हुन् । प्रधानमन्त्री आउने भनी केही दिन अगाडिबाटै प्रचारप्रसार सहित सब स्टेसनमा भव्य तयारी गरिएको भए पनि अन्तिम अवस्थामा प्रधानमन्त्री आउने कार्यक्रम स्थगित भएको हो ।





