पोखरा, २५ माघ– प्रधानमन्त्री केपी ओलीले शुक्रबार काठमाडौंमा शक्ति प्रदर्शन गरे । त्यसको भोलिपल्ट पोखराका स्रष्टाहरु शक्तिशाली कविता सुनाए, कला प्रस्तुत गरे । पोखराको पृथ्वीचोकको फुटट्रेक अन्यन्त्रभन्दा फराकिलो छ । प्रधानमन्त्री ओलीले गरेको संसद विघटनका विरुद्ध त्यही ठाउँमा यसअघि काँग्रेस र जनता समाजवादी पार्टीले प्रदर्शन गरे । शनिबार कवि कलाकारले ।
थिएटर कलाकारहरुले प्रधानमन्त्री ओली र उनका समर्थकलाई ब्यङ्ग्य गर्न मुख र आँखामा पट्टी बाँधे । पट्टीमा आँखा भएको ठाउँमा आँखा र मुख भएको ठाउँमा ठुलो हाँसोसहितको मुखको चित्र थियो । मञ्चमा उभिएर लेखक त्रिवेणीले देशमा कुशासन छ ? भनेर सोधे । पट्टी बाँधेर उभिएका युवालै छैन भनेर जवाफ दिए । त्यसो त उनीहरुले हातमा ‘छैन’ लेखिएको प्लेकार्ड बोकेका थिए ।
यो पर्फमेन्स आर्ट नाट्यकर्मी शरद संयोजन गरेका हुन् । यो आर्टको परिकल्पना गरेका वरिष्ठ कलाकार सुनिल सिग्देलले नेता र तिनका भक्तहरुलाई व्यङ्ग्य गर्न यस्तो प्रस्तुती दिएको बताए । ‘नेताले जे भने पनि हो भन्नेहरुलाई व्यङ्य गरिएको हो’, सिग्देलले भने, ‘नेताको अन्धभक्तकै कारण देश यस्तो अवस्थामा आइपुगेको हो ।’
पफमेन्स आर्टपश्चात कविहरुले कविता वाचन गरे । कवितामार्फत उनीहरुले देशका लागि आवाज बुलन्द गर्न आह्वान गरे । कवि विकाश मगरले कवितामा आम नागरिकले बोल्न छाड्दा शासक स्वेच्छाचारी भएको बताए । उनको कविताको एउटा अंश यस्तो छ ।
जब बोल्न छोड्ने छौं
हामी हुनेछौं
तर कसैगरी हुने छैन
हामीभित्रको हामी ।
हाम्रो मौनताको टेको लगाएर
उँघिरहेको छ यो देशको शासक
र, उसलाई ब्युँझाउन पनि
यो समय
जरुरी छ तिम्रो हाम्रो आवाजको आन्दोलन ।
प्रधानमन्त्री ओलीले पुष ५ गते गरेको प्रतिनिधिसभा विघटनका विरुद्ध दलहरु मात्र होइन, नागरिकहरु पनि आन्दोलित बन्दै गएका छन् । पोखरामा कवि कलाकारले गरेको आन्दोलनमा प्रधानमन्त्री ओलीले प्रतिगामी कदम चालेको र आम नागरिकको भावनामाथि खेलवाड गरेको बताएका थिए ।
विरोध कार्यक्रममा कविहरु रोशन तिमिल्सिना, रिता अधिकारी, डा. चैतन्य अधिकारी सुरज उपाध्याय लगायतले कविता वाचन गरेका थिए । उनीहरुले कवितामार्फत् सरकार निरंकुश र तानाशाही बनेको भन्दै आम नागरिकले यस्ता शासकलाई पछार्ने चेतावनी दिएका थिए ।
कार्यक्रममा बोल्दै बृहद नागरिक आन्दोलनका संयोजक युग पाठकले प्रधानमन्त्री ओलीले संसद विघटन गरेर अपराध गरेको बताए । उनले भविश्यमा यस्तो निरंकुश सरकार नआओस भन्नका लागि नागरिक सडकमा आउनुपर्ने अवस्था आएको बताए । उनले कवि भुपाल राईको ‘बालुवाटार वृत्तान्त’ शीर्षकको कविता सुनाएका थिए ।
पोखरामा नागरिक आन्दोलनको संयोजन गरिरहेका सुदर्शन पौडेलले हरेक पुस्ता लोकतन्त्रका लागि लड्नुपरेको भन्दै आक्रोश व्यक्त गरे । आफु अहिले विद्यार्थी रहेको भन्दै उनले भविश्यका लागि लोकतन्त्र सुदृढ हुनुपर्ने बताए । अर्का वक्ता दीपक वाइवा तामाङले प्रधानमन्त्री केपी ओली नसच्चिए आन्दोलन मार्फत सच्याउनुपर्ने बताए ।
प्रधानमन्त्री ओलीलाई उनका कार्यकर्ताले ‘बा’ भनेको प्रति कविहरुले कविता मार्फत ब्यङ्ग्य गरे । असंवैधानिक प्रतिनिधी सभा विघटन गरेका प्रधानमन्त्री ओलीका लागि संविधान कागजको खोस्टो मात्र भएको उनीहरुले बताए । कवि सुरज उपाध्यायले कवितामा भने–
बा
बा नै हुन् ।
बालाई अपमान गर्ने छुट कसैलाई छैन
उनीहरु भन्दैछन्
लय हालेर
बा भनेकै संविधान हुन् ।
बाका अगाडि
कागजको खोस्टो
कसरी संविधान हुन सक्छ ?





