बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

सरकारी पुनर्कर्जा हामीलाई चाहियोः होटल ब्यवसायी

सरकारी पुनर्कर्जा हामीलाई चाहियोः होटल ब्यवसायी


  • ढोरपाटन सम्वाददाता
  • माघ २६ २०७७, सोमबार

पोखरा, २६ माघ– कोभिड–१९बाट ग्रसित उद्योग व्यवसायलाई राहतका लागि सरकारले ब्यवस्था गरेको पुर्नकर्जा होटल ब्यवसायीलाई दिनुपर्ने माग गरेका छन् । सरकारले चालु बजेट मार्फत् पुनर्कर्जा कोषको व्यवस्था गरे पनि त्यस्तो कर्जा आफूहरुले पाउन नसकेको गुनासो गर्दै पोखराका होटल व्यवसायीले माग गरेका हुन् । व्यवसायीले सरकारले पुनर्कर्जाको व्यवस्था गरे पनि त्यो पाउन नसकिएको, बैंकले अनेक बाहना बनाएर व्यवसायीलाई दुःख दिएको र साना व्यवसायीलाई वास्ता नगरेको गुनासो गरे । विद्युत शुल्कमा समेत पुरानो विल छुटेछ भन्दै नेपाल प्राधिकरणले लाखौंको विल पठाउने गरेको, आफ्नो गल्तीको भागिदार व्यवसायीलाई बनाएको आरोप लगाए ।
कोभिड संक्रमणले होटल तथा पर्यटन व्यवसायमा देखा परेका समस्याहरुमा केन्द्रित भएर पश्चिमाञ्चल होटल संघ पोखराले आइतबार आयोजना गरेको छलफल कार्यक्रममा व्यवसायीले पुर्नकर्जा वास्तविक पिडितले पाउनुपर्ने माग राखे । नेपाल राष्ट्र बैंकले विभिन्न बैंक मार्फत सहुलियत दरको पुनर्कर्जा व्यवसायीलाई प्रदान गर्ने घोषणा गरे पनि व्यवहारमा त्यो लागु भएको छैन् । कुनै पनि व्यवसायीले त्यस्तो कर्जा नपाएको होटल संघका अध्यक्ष विकल तुलाचनले जानकारी दिए । कोभिडसँगै होटल व्यवसाय र पर्यटन क्षेत्र ठूलो मारमा परेकोले समाधानका लागि पहल गर्ने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रममा नेपाल सरकारद्वारा व्यवसायीहरुलाई राहत प्रदान गर्ने उदेश्यले बैंक तथा वित्तिय संस्थाहरु मार्फत् प्रदान गर्ने पुनर्कर्जा, कर्जाको पुनर्ताजिकिकरण र सहुलियत कर्जा प्राप्त गरे नगरेको तथा गण्डकी प्रदेश सरकारद्वारा ल्याइएको व्यवसाय जीवन रक्षा (कोष) कर्जा सम्बन्धमा छलफल गरिएको थियो । विद्युत माग (डिमाण्ड) शुल्क तथा महशुल एवम् विभिन्न अन्य कर सम्बन्धमा पनि व्यवसायीले छलफल गरेका थिए । भवनहरुको अभिलेखिकरण सम्बन्धि विषय समेत कार्यक्रमले समेटेको थियो । सो अवसरमा गण्डकी प्रदेश सरकारले व्यवसायीका लागि ल्याएको पुनर्कर्जा समेत हालसम्म वितरण हुन नसकेको र ढिलोगरी बल्ल आवेदन माग गरिएको थियो ।
सो अवसरमा बोल्दै होटल संघ नेपालका सदस्य एवं पश्चिमाञ्चल होटल संघ पोखराका सल्लाहकार विप्लव पौडेलले सहज ढंगले व्यवसायीले पुनर्कर्जा पाउन नसक्नु दुःखद भएको बताए । अहिले पर्यटन व्यवसाय डुब्ने कि उत्रने भन्ने जस्तो अवस्थामा रहेको स्मरण गराउँदै पौडेलले गण्डकी प्रदेश सरकार र मुख्यमन्त्रीलाई समेत व्यवसायीका समस्या बारे अवगत गराइसकिएको जानकारी गराए ।
पश्चिमाञ्चल होटल संघ पोखराका सल्लाहकार हरिप्रसाद शर्मा गैह्रेले पर्यटन क्षेत्रले उद्योग सरहको लाभ लिन नपाएको भन्दै यसका लागि व्यवसायिक एकता मार्फत् सरकारलाई दवाव दिन जरुरी भएको वताए । एकतामा नै बल हुने भन्दै सल्लाहकार गैह्रेले नेतृत्वलाई आबश्यक सल्लाह र सुझाव र परेको बेला सक्रियता प्रदर्शन गर्न संघका सदस्यहरु तयार रहनुपर्ने भनाई राखे ।
होटल संघ नेपालका केन्द्रिय सदस्य एवं पश्चिमाञ्चल होटल संघ पोखराका निवर्तमान अध्यक्ष भरतराज पराजुलीले व्यवसायीलाई हेर्ने सरकारी दृष्टिकोण सकारात्मक नहुँदा पनि पर्यटन व्यवसाय अहिले थप प्रताडित हुनु परेको दुःखेसो पोखे । तर पनि संघको नेतृत्व र केन्द्रिय होटल संघका तर्फबाट समेत सरकार र सम्बन्धित ठाउँमा घच्घच्याउने काम जारी राखिएको पराजुलीले सुनाए ।
संघका सल्लाहकार गोविन्दराज पहारीले सबैभन्दा पीडित होटल क्षेत्र भएको भन्दै यो क्षेत्रलाई रुग्ण उद्योगको रुपमा सरकारले घोषणा गरेर सहुलियत दिनुपर्ने माग गरे । कर तिरेर पनि होटल व्यवसायीले अहिले संकट पर्दा सुविधा पाउन नसकेको भन्दै फोहोर मैला शुल्कमा ५० प्रतिशत छुट बाहेक केही पाउन नसकेको यथार्थ सुनाए ।
अग्रज पर्यटन व्यवसायी रामचन्द्र बहादुर भट्टराईले कोभिडको असर अझै कम्तिमा तीन बर्ष पर्यटनमा पर्ने भन्दै दीर्घकालिन योजनाका साथ अगाडि बढ्न जरुरी भएको सुझाव राखे । आन्तरिक पर्यटनले मात्र होटल क्षेत्र टिक्न गाह्रो हुने भन्दै उनले अन्तर्राष्ट्रिय उडान र सबै होटल खुल्ने वातावरण बनाउन जरुरी रहेको भनाई राखे । कार्यक्रममा व्यवसायी दयानन्द पोखरेल, लक्ष्मीनारायण श्रेष्ठ, रविचन्द्र हमाल, हितमान गुरुङ, ओमनाथ अधिकारी लगायतले मन्तब्य राखेका थिए । कार्यक्रमको संचालन संघका महासचिव गणेशराज पहारीले गरेका थिए ।

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->