बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

सुन्तलाले फेरेको जीवन

सुन्तलाले फेरेको जीवन


  • सुस्मिता कुँवर
  • फाल्गुन १ २०७७, शनिबार

पर्वत, १ फागुन–  सत्ताइस वर्षअघि रामबहादुर कुँवरले शिक्षक पेशासँगै व्यवसाय गर्ने योजना बनाए । उनले कोदो र मकै मासेर एकैपटक २ सय सुन्तलाको बिरुवा रोपे ।
पर्वतको फलेवास नगरपालिका वडा नं. ११ पाङराङको श्रीकाङका कुँवरले छिमेकीलाई पनि सुन्तला लगाउन सल्लाह दिन्थे । तर उनको कामलाई धेरैले नराम्रो सोचे । उनको सल्लाह पनि छिमेकीले सुनेनन् । दुइचार वर्षमै जब कुँवरको बारीमा लटरम्म सुन्तला फल्न थाले कुँवर दम्पत्ति मख्ख थिए । सजिलै सुन्तला बेच्न पाइने आसले उनीहरुले बजारको खोजी गरे । तर सदरमुकाम टाढा भएकोले डोकोमा बोकेर लैजान फेरी कठिन भयो । केही वर्ष उनीहरुको सुन्तलाले बजार पाउन सकेन ।
उक्त सास्ती देखेर छिमेकीले फेरी कुँवरलाई गाली गरे । हुँदाखाँदाको खेती मासेर सुन्तला लगाएपछि दुःख पाएको भनेर होच्याए । तर उनीहरुको दुःखका दिन धेरै समय टिकेन । कुश्मा फलेवासहुँदै सेतीवेणी जाने कालीगण्डकी राजमार्गको रेखांकन भएपछि भने सुन्तलाले बजार पायो । सडकमा गुड्ने जिपले सजिलै उनीहरुको सुन्तला बजार लैजान थालेपछि कुँवर दम्पत्तिले नगद हात पारेको देखेपछि भने पहिला होच्याउने छिमेकी पनि सुन्तला नलगाएकोमा पछुतो मान्न थाले । त्यसपछि पाङराङबासीले बल्ल सुन्तलालाई व्यवसायिक खेतीको रुपमा लिन थालेका छन् ।
‘केही समय कोदो र मकै नफल्दा परिवार पाल्न समस्या थियो’ कुँवरकी श्रीमती निर्मलाले भनिन्, ‘दुःख छउन्जेल छिमेकीबाट सहयोगभन्दा आलोचना बढी भयो ।’ सबै छिमेकीलाई सुन्तलाका बिरुवा रोप्न सल्लाह दिंदा कसैले नरोपेको उनले सुनाइन् । व्यवसायिक हुने गरी धेरै बिरुवा नलगए पनि थोरै रोप्न दिएको सल्लाहसमेत उनीहरुले नटेरेको कुँवरले बताइन् ।
बिस्तारै कुँवर दम्पत्तीले सुन्तला बढाएर ४ सय बिरुवा पु¥याए । अहिले उनीहरुको बारीमा झण्डै ४ लाखको सुन्तला फल्छ । कुँवरको अगुवाईमा सुरु भएको सुन्तलाको व्यवसायिक उत्पादनको अभियानले अहिले पाङराङमा मात्रै करोडौं भित्रन थालेको छ ।
पोखरा र बुटवलदेखिका व्यवसायी घरमै आएर उनीहरुको सुन्तला उठाउँछन् । सुन्तला राम्रो फल्न थालेपछि कृषि ज्ञान केन्द्र कुश्माले पनि प्राविधिक सहयोग बढाएको कुँवरले बताइन् । २०६४ सालमा रामबहादुरको दुर्घटनामा मृत्यु भयो । तर उनकी श्रीमती निर्मला श्रीमानले देखाएको बाटोमै छिन् । सुन्तला खेतीबाटै कमाएको पैसाले छोराछोरी पढाउने र बिहादान गरिन् । त्यही कमाइबाट अहिले उनको पसलसमेत छ । ‘उत्पादन हात पार्न धेरै मेहेनत गर्नुपर्छ, तर समयमै गरिएको जोहोले भविष्य सुखद बनाउने रहेछ’ कुँवरले भनिन्, ‘जती दुख खेपेपनि बुढेसकालको सहारा सुन्तला बनेको छ ।’
ढीला भएपनि सुन्तलाबाटै यहाँका तारालाल कुँवरले पनि कमाइ गर्न थालेका छन् । उनले पनि निर्मलाको सल्लाहले कमाइ गर्न पाएको बताए । ‘सुन्तला लगाउँदा अन्न खान पाईदैनकी भनेर पहिला टेरेनौं’ उनले भने, ‘दशबीस हजारको अन्न नफल्ने बारीमा अहिले लाखको कमाइ भएको छ ।’ स्थानीय तारालाल कुँवरले पनि सुन्तलाबाटै मनग्ये कमाइ गर्न थालेको बताए । उनी समेत सुन्तलाखेतीबाट सन्तुष्ट छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->