बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

म्याग्दीका बानियाँलाई पोखरामा मदन पुरस्कार हस्तान्तरण

म्याग्दीका बानियाँलाई पोखरामा मदन पुरस्कार हस्तान्तरण


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १ २०७७, शनिबार

पोखरा, १ फागुन – लेखक चन्द्रप्रकाश बानियाँको ‘महारानी’ उपन्यासलाई दिइएको मदन पुरस्कार-२०७६ शनिबार पोखरामा हस्तान्तरण गरिएको छ । कोभिड-१९ का कारण गत कात्तिक २ मा अनलाइनमार्फत सम्मान समारोह भए पनि पुरस्कार प्रत्यक्ष हस्तान्तरण हुन बाँकी थियो । मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितले पोखरा आएर बानियाँलाई पुरस्कार हस्तान्तरण गरेका हुन् । ‘महारानीलाई मदन पुरस्कारबाट सम्मानित गर्न सक्दा नेपाली समाज, इतिहास र भाषाका विविधता हेर्ने र बुझ्ने फरक आँखा भेट्टाएको अनुभव गरेका छौं,’ दीक्षितले भने, ‘एक ठाउँको राजनीति, इतिहास र आख्यान वा गैरआख्यान लेखनी भन्दा भिन्न रहेर फरक क्षेत्र, भाषा, इतिहास र संस्कृतिको विषयमा लेख्ने समय आएको छ ।’

पुरस्कृत स्रस्टा बानियाँले सकुन्जेल साहित्यिक क्षेत्रमा लागिरहने प्रतिबद्धता जनाए । ७ वर्षदेखि बस्दै आए पनि पोखराले आफूलाई र आफूले पोखराले नचिनेको भन्दै उनले स्रष्टाकै भूमिमा आएर पुरस्कृत गर्दा पोखरा र आफूले एकअर्कालाई चिन्ने अवसर पनि पाएको बताए । ‘स्रष्टाकै भूमिमा पुगेर पुरस्कृत गर्दा पुरस्कार र स्रष्टाको गरिमा अझै बढ्छ,’ उनले भने, ‘यो अपवाद नहोस् अब परम्परा बनोस् ।’ ‘कोरोना भाइरसले गुन लगायो । मलाई पुरस्कार दिन पोखरा आउनुहुन्छ भन्ने थाहा पाएको भए त म बेनी नै आउनुस् भन्थें नि ! पोखरा किन भन्थें ?’ बानियाँले भने ।

म्याग्दीको बेनी नगरपालिकाका स्थायी बासिन्दा बानियाँ केही वर्षयता भने पोखरा बस्दै आएका छन् । उनले लेखेको उपन्यास पर्वत राज्यको इतिहास सम्बन्धी हो । बानियाँले उपन्यास पनि पोखरामै बसेर लेखेको सुनाए । महारानीबाहेक बानियाँका भौंज्याहासहित ४ वटा कृति प्रकाशित छन् ।

कार्यक्रममा कवि तीर्थ श्रेष्ठको विद्वत प्रवचन पढेर सुनाइएको थियो । श्रेष्ठको प्रवचनमा पोखराको वर्णन गरिनुका साथै संस्कृति, पर्यटन, साहित्य, कला, संगीत, शिक्षा, स्वास्थ्य क्षेत्रबारे उल्लेख गरिएको थियो । पोखराले मोदी, मादी र आँधीभित्रको क्षेत्रलाई समेट्नुपर्ने श्रेष्ठले जनाए । यसैगरी भारतको सिलीगुडीमा जगदम्बा श्री पुरस्कार पनि शनिबारै शान्ति ठटाललाई अर्पण गरिएको गुठीले जनाएको छ । दुवै पुरस्कारको राशी जनही ४ लाख रुपैयाँ छ ।

यसअघि पोखराका सरुभक्तले २०४८ सालमा पागल बस्तीका लागि मदन पुरस्कर जितेका थिए । ‘मंगली कुसुम’ कीर्तिका लागि पोखराकै धर्मराज थापाले २०२५ सालम उक्त पुरस्कार पाएका थिए भने सबैभन्दा पहिला मदन पुरस्कार पाउने पोखरेली लेखक मुकुन्दशरण उपाध्याय हुन् । उनको कृति प्राकृत पोखरा २०२१ सालमा पुरस्कत भएको थियो । गण्डकी प्रदेशबाट मदन पुरस्कार पाउने बानिया चौंथो लेखक हुन्।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->