बागलुङ, ७ फागुन– पश्चिम बागलुङको यात्रा तय गरेकाहरुले अहिले खाना खाने स्थान फेरेका छन् । अर्गानिक खाना, रमणीय बसाइ र सवारी साधनको पार्किङका लागि बडिगाड गाउँपालिका वडा नं. ५ को फुलबारी एग्रो रिसोर्ट धेरैको रोजाइमा पर्न थालेको छ ।
गाउँको घरखेत बेचेर शहर पस्नेहरु दिनदिनै बढेको बेला गाउँमै रमाउने गरी स्थानीय युवाले थालेको रिसोर्ट धेरैको रोजाइको केन्द्र भएको हो । बडिगाड गाउँपालिका ५ ग्वालीचौरका कृष्णबहादुर घिमिरेसहित दिननाथ पौडेल, शिव घिमिरे, शिवलाल घिमिरे र योगेन्द्र खरेलको लोभलाग्दो व्यवसायबाट धेरै मानिस प्रभावित पनि भएका छन् ।
छिमेकीहरु चितवन र मुख्य शहरी क्षेत्रमा बसाई सरेपनि उनीहरुले गाउँमै रोजगारी बढाउने योजना बनाएको बताए । उनीहरले झण्डै २ करोड लगानीमा गाउँमै कृषि फर्मसहितको होटल संचालनमा ल्याएका हुन् । योजना अनुसार २० युवालाई गाउँमै रोजगारी दिने लक्ष छ । मध्यपहाडी लोकमार्गको खार बजार नजिकैको ‘फूलबारी एग्रो रिसोर्ट’ धेरैको रोजाइमा परेको हो ।
नाममै कृषि जोडिएकोले उनीहरुले पशुपालन, तरकारी खेती, माछा कुखुरा लगायतको उत्पादनसहित होटल संचालनमा ल्याएको घिमिरे बताए । ‘राजमार्गमा हिड्नेले यहाँ आएर मौलिक स्वाद पाउने वातावरण बनाएका छौं’ घिमिरेले भने, ‘कुनैपनि आयात गरिएको खाना दिन नपारोस् भनेर काम थाल्यौं ।’ आफ्नो जग्गाबाहेक वार्षिक ५ लाख भाडा तिर्ने गरी उनीहरुले ५० रोपनी जमिन लिएका छन् ।
उनीहरुले बेमौषमी तरकारी, गाई र भैसीको गोठ, कुखुरा र बाख्राको खोर बनाएका छन् । ती खोर हेर्न चाहनेका लागि पनि अबलोकन स्थल जस्तो भएको हो । ‘गाउँमा युवा पलायन भैसके, अब नरोके रित्तो हुन्छ भनेर लगानी गरेका हौं’ घिमिरेले भने, ‘कालोपत्रे सडक भएकोले बागलुङको पुर्व र पश्चिमबाट यात्री सजिलै आउन सक्छन् ।’
यात्रीकै आर्कषक गन्तव्य बनाउँदा रोजगारी र लगानी बढाउन सकिने उनीहरु बताउँछन् । लकडाउन हटेपछि उनीहरुको व्यवसायले पनि राम्रो गति लिएको छ । अझै यो सडक खण्डमा यस्तै आधादर्जन फर्म चलाउनुपर्ने खरेल सुझाव दिन्छन् ।





