बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

अन्यौलमा नयाँ औद्योगिक क्षेत्र, फुड ब्याङ्कप्रति स्थानीय असन्तुष्ट

अन्यौलमा नयाँ औद्योगिक क्षेत्र, फुड ब्याङ्कप्रति स्थानीय असन्तुष्ट


  • ढोरपाटन संबाददाता
  • फाल्गुन ९ २०७७, आइतबार

पोखरा, ९ फागुन- चालु आर्थिक वर्षको बजेट भाषण प्रस्तुत गर्दै गण्डकी प्रदेशकाम आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले भनेका थिए,‘नवलपुरको लोकाहा खोला र पोखराको भोटेपोखरीमा प्रदेश औद्योगिक क्षेत्र स्थापना गर्न पूर्वाधार विकासका लागि रू २ करोड विनियोजन गरेको छु । स्थानीय तहसँगको सहकार्यमा एक स्थानीय तह, एक औद्योगिक ग्रामको स्थापनाको कार्यक्रमलाई निरन्तरता दिंदै रू ६ करोड विनियोजन गरेको छु ।’ उनले घोषणा गरेको औद्योगिक क्षेत्र अहिलेसम्म बन्न सकेको छैन । कारण, औद्योगिक क्षेत्र बनाउन संघीय सरकारले जग्गाको स्वामित्व प्रदेशलाई दिएकै छैन । गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ प्रदेश सरकारको तेस्रो वार्षिकोत्सवमा पनि भन्दै थिए,‘हामीले औद्योगिक क्षेत्र बनाउँछु भन्यौँ तर संघले जग्गा दिँदैन, हात बाँधिदिएको छ ।’
त्यसो त, २०७२ सालमै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले लेखनाथको पट्नेरीमा ठूलो औद्योगिक क्षेत्र खोल्ने घोषणा गरेको थियो ।पट्नेरीमा औद्योगिक क्षेत्रको काम थाल्न सरकारले आर्थिक वर्ष २०७३७४ मै बजेट विनियोजन गरेको थियो । २०५५ सालमा बनाइएको लेखनथाको विकाससम्बन्धी गुरुयोजनामा पनि पट्नेरीमा बसपार्क बनाउने सपना देखिएको थियो । पट्नेरीमा करिब ५ सय रोपनी सार्वजनिक जग्गा छ । त्यो जग्गामध्ये केहीमा सुकुम्बासीको घर छ । ती घरको व्यवस्थापन र थप जग्गा अधिग्रहण नहुँदा बसपार्कको योजना कागजमै सीमित छ । संघीय सरकारले हरेक प्रदेशमा ठूला औद्योगिक क्षेत्र बनाउने योजनासँगै प्रदेश सरकारको चाहना पनि जग्गा प्राप्त नहुँदा सम्भव नभएको मुख्यमन्त्री गुरुङकै भनाई छ । वाणिज्य तथा आपूर्ति मन्त्रालयले पट्नेरीमा औद्योगिक क्षेत्र बनाउने योजना अघि सार्द त्यहाँ ४१ वटा घर सुकुम्बासी थिए । अहिले त्यो संख्या बढेको छ । औद्योगिक विकास निगमले सो ठाउँमा आफ्नै लगानीमा औद्योगिक क्षेत्र बनाउने योजना छाडेको पनि छैन । यो वर्ष पनि औद्योगिक क्षेत्रको सम्भाव्यता अध्ययन गर्न वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजेट विनियोजन गरेको छ ।
हो, संघ सरकारले त्यहाँको फिजिविलिटीको लागि बजेट छुट्याएको छ’, पोखरा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख भुषणप्रसाद उपाध्यायले भने,‘हाम्रो टिमले छिट्टै सो क्षेत्रको निरीक्षण गर्दैछ ।’ सो ठाउँमा औद्योगिक क्षेत्र बनाउन प्रदेश सरकारले पनि चासो दिएको उनले सुनाए । पट्नेरीको वरपर जग्गा अधिग्रहण गरी औद्योगिक क्षेत्रलाई १५ सय रोपनीभन्दा बढीको बनाउने योजना यहाँको उद्योग मन्त्रालयले बनाइरहेको छ । उनले त्यहाँ औद्योगिक क्षेत्र बनाउँदा शुक्लागण्डकी नगरपालिकाको केही जग्गा पनि अधिग्रहण गर्नुपर्ने आवश्यकता औंल्याए ।
‘मुख्यकुरा त्यहाँको सुकुम्बासी बस्ती व्यवस्थापनको कुरा छ, त्यसको लागि औद्योगिक क्षेत्रनेर नै अपार्टमेण्ट बनाउने र वैधानिक रुपले उनीहरु ( सुकुम्बासी) लाई लाजपूर्जा दिन्छौँ भन्ने हो’, पोखरा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख उपाध्यायले भने,‘२०३१ सालमा बनेको औद्योगिक क्षेत्र सानो भएकाले नयाँ औद्योगिक क्षेत्र जसरी पनि बनाउनुपर्छ ।’
पोखरा महानगरपालिका वडा नम्बर १० मा रहेको औद्योगिक क्षेत्र कार्यालय प्रमुख भुषणले भनेजस्तै २०३१ सालमा स्थापना भएको हो । ५०१ रोपनी क्षेत्रफलमा फैलिएको औद्योगिक क्षेत्र अहिले सानो भएको छ । औद्योगिक क्षेत्रले दक्षिण एसियामै चाउचाउ उत्पादनको इतिहास बनाएको छ । औद्योगिक क्षेत्रमा खाद्यान्न, डेरी, निर्माण र अत्यावश्यक ( अक्सिजन, दानापानी) जस्ता गरी ७७ वटा उद्योग संचालनमा रहेको पोखरा औद्योगिक क्षेत्र उद्योग संघका अध्यक्ष सुरेशकुमार राजभण्डारीले बताए । औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय प्रमुख भुषणले औद्योगिक क्षेत्र गण्डकी प्रदेशकै ‘फुड ब्याङ्क’ भएको जिकिर पनि गरे ।
‘मानौं लकडाउन भयो, प्राकृतिक विपत्ति प¥यो भने काठमाडौंबाट वा वीरगञ्जबाट यहाँ खाद्यान्न ल्याउन सकिँदैन । आपतकालीन अवस्थामा चाहिने औद्योगिक क्षेत्र नै हो’, उनले भने,‘त्यस्तै परे यहाँ विपत्तीको बेला मानिस राख्न पनि सकिन्छ ।’ तर, पछिल्लो समय भने सहरको बीचमा औद्योगिक क्षेत्र भएको भन्दै सार्नुपर्ने आवाज स्थानीयबाट आइरहेको छ । स्थानीयको माग स्वभाविक भए पनि जायज नभएको पनि उनले बताए । ‘औद्योगिक क्षेत्र आउनुभन्दा अघि त यो टाढाको थियो’, कार्यालय प्रमुख उपाध्यायले भने,‘ यहाँका मजदुरहरु वरपरकै घरमा बस्छन् डेरामा । रोजगारी यसैले दिएको छ । जग्गाको भाउ औद्योगिक क्षेत्रले बढाइदिएको हो । फोहर हुन्छ, स्वभाविक हो तर यहाँको फोहर दुषित बनाउने खालको छैन ।’ उनले मोही मोथ्दाको ठेकीको पानीले केही असर नपु¥याएको उदाहरण दिँदै औद्योगिक क्षेत्रबाट निस्कने फोहर पनि हानिकारक नभएको जिकिर गरे । औद्योगिक क्षेत्रले करिब ३ हजार जनालाई प्रत्यक्ष रोजगारी दिएको छ भने यसले देशको राजश्वमा वार्षिक ५० करोडको योगदान दिँदै आएको छ ।
पोखरा उद्योग वाणिज्य संघका उद्योगतर्फका उपाध्यक्ष गोकर्ण कार्कीले औद्योगिक क्षेत्रले पोखराको विकासमा दिएको योगदानलाई बिर्सन नहुने बताए । उनले उचित व्यवस्थापन गरे आफूहरु अन्यत्र सर्न पनि तयार रहेको बताए । ‘औद्योगिक क्षेत्र बनेर नै यता बस्ती बसेको हो, यसले रोजगारी दिएको पनि बिर्सनु हुँदैन’, उनले भने,‘हामीले प्रदुषण घटाउन हरसम्भव प्रसा गरेका छौँ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->