नेपालमा विभिन्न समयमा संसदमा गाँजाको वैधानिकताका विषयमा चर्चा भइरहन्छ । पछिल्लो समय वि.स. २०७६ माघ महिनामा सत्तारुढ दल नेकपाका सांसद विरोध खतिवडा र अन्य ४५ जना सांसदहरुले गाँजा खेती खुला गर्नुपर्ने माग राख्दै संसद सचिवालयमा प्रस्ताव पेश गरेका थिए ।
हालसम्म विश्वका १५ वटा देशमा निश्चित मात्रामा निश्चित उमेर समुहले गाँजालाई मनोरञ्जनका लागि प्रयोग गर्न पाउने प्रावधान रहेको छ । औषधीजन्य प्रयोजनका लागि त विश्वका ६५ भन्दा बढी देशहरुले सरकारी निगरानी र नियमनमा रहने गरी गाँजा खेतीलाई खुला गरिसकेको छ । सन् १९७३ अघिसम्म नेपालमा यसको उत्पादन, बिक्रीवितरण र प्रयोग सहज थियो । त्यसपछि एक्कासि कसरी नेपालमा यसलाई अवैधानिक ठहरियो ? यस पछाडिको राजनीति के थियो ? यसबारे बुझ्न इतिहासमा फर्कनु पर्ने हुन्छ ।
लामो समय गाँजाको इतिहासमा अनुसन्धानरत (Barney Warf) बार्ने वार्फले आफ्नो एक रिपोर्टमा बताएका छन्, गाँजा हजारौं वर्ष पहिला मध्य एसियामा उत्पत्ति भएको विश्वास गरिन्छ, जुन भुभागहरु अहिले मंगोलिया र दक्षिण साइबेरियामा पर्दछन् । Marihauna : The First Twelve Thousand Years नामक पुस्तकमा लेखक स्प्रिंगरले करिब बाह्र हजार वर्ष पहिला मानव जातिले यसको खेती सुरु गरेको बताएका छन् । यता साइबेरियामा जलेको गाँजाको बीउ मानव चिहानमा भेटिएको थियो, जुन ३००० बिसी पहिलाको अनुमान गरिएको थिया । चिनियाँहरुले औषधीका रुपमा हजारौं वर्ष पहिला पनि यसको प्रयोग गरेको खोज अनुसन्धानले पत्ता लागेको थियो ।
पछि २००० बि.सि र १००० बिसीको अन्तरालमा दक्षिण एसियामा गाँजा आइपुग्यो । छोटो समयमै यो भारत र नेपालमा प्रचुर मात्रामा प्रयोगमा आउन थालेको थियो । संस्कृतमा लेखिएको अथर्व वेदमा पनि यो कुरा वर्णन गरिएको छ कि पाँच महत्वपूर्ण वनस्पतिमध्ये गाँजा पनि एक हो । वेदका अनुसार यसले स्वतन्त्रता, खुसी र एकाग्रता दिन्छ । विभिन्न रोग लाग्दा मानिस र पशुपक्षीलाई गाँजाको पात, फूल र फल खुवाउने प्रचलन पहिले देखि नै नेपालमा थियो ।
यता हिन्दु धर्म अनुसार के पनि विश्वास गरिन्छ भने भगवान शिवले समुन्द्र मन्थन गरेर अमृत निकाल्ने क्रममा विष पनि निस्किएको थियो । त्यस विष सेवन गरेपछि भगवान शिवको घाँटी निलो भएको थियो र यसलाई निको पार्न भाङ वा गाजा प्रयोग गरिएको थियो ।
त्यसताका फिरन्ते इन्डो युरोपियनहरु विभिन्न व्यापारका शिलशिलामा भारतमा आएका थिए । बिस्तारै उनीहरुसँगै यो रसिया र युक्रेनसम्म पुग्यो । अफ्रिका, दक्षिण अमेरिका हुँदै १९ औं शताब्दीतिर यो उत्तर अमेरिकामा आइपुग्यो । लामो यात्रापछि मात्र २० औं शताब्दीको सुरुवातमा गाँजा अमेरिकामा आइपुगेको थियो ।
जब १९१० मा मेक्सिकोमा गृहयुद्ध घोषणा भयो, तब धेरै मेक्सिकन नागरिकहरु शरणार्थीका रुपमा अमेरिका छिरेका थिए । मेक्सिकोमा गाँजा प्रतिबन्ध गरिएपनि अमेरिकामा भने खुला थियो । त्यसैले उनीहरु यसकै सेवनका लागि पनि अमेरिका आउन थालेका थिए । गाँजाको कुलतमा फसेका मेक्सिकनहरु अमेरिका पसेसँगै हत्या, हिंसा, बलात्कार जस्ता जघन्य अपराधहरु बढेको अमेरिकाको बुझाई थियो । त्यसैले अन्ततः सन् १९३७ मा अमेरिकाले यसलाई लागूऔषधमा समावेश गरी यसको प्रयोग र व्यापारमा पूर्ण प्रतिबन्ध लगायो ।
संयुक्त राष्ट्रसंघले सन् १९६१ मा ‘द सिंगल कन्मेशन अन नार्कोर्टिक ड्रग्स १९६१’ पारित ग¥यो । जसले गाँजालाई पनि अफिम सरहको कडा खालको लागुऔषध मान्दै यसको प्रतिबन्ध लगायोे । पछि अमेरिकाका राष्ट्रपति रिचार्ड निक्सनले सन् १९७१ ज्ुालाईमा ‘वार अन ड्रग्स’ घोषणा गरी लागुऔषध प्रयोग गर्नेलाई नम्बर वान शत्रुका रुपमा ठानी यसको नियन्त्रणमा ठूलै रणनीति अपनाएका थिए ।
यता १९६० र १९७० को दशकमा स्वतन्त्रता र प्रेमको नारासहित हिप्पी युगको सुरुवात भएको थियो । युरोपबाट, टर्की, इरान, अफगानिस्तान, भारत हुँदै हिप्पीहरु नेपाल आइपुगेका थिए । करिब ६ हजार माईलको यस यात्रा गर्न छुट्टै बसको समेत व्यवस्था गरिएको हुन्थ्यो । यस रुटमा पर्ने देशहरुमा गाँजाको राम्रो उत्पादन र बिक्री मात्र हुन्थेन, प्रयोग पनि बैध थियो । यता नेपालमा त्यस समय गाँजाको उत्पादन, बिक्री वितरण र प्रयोग खुला थियो । हिप्पीहरु आफूलाई फ्रिक्स भन्न रुचाउँथे । काठमाडौंमा त फ्रिक्स स्ट्रिट पनि बन्यो, जहाँ सजिलै गाँजा पाइन्थ्यो ।
नेपालमा धेरै हिप्पीहरु गाँजाकै लागि आउन थालेपछि भने सरकारले १९६१ मा नयाँ कानुन ल्यायो । गाँजा बिक्रीका लागि करिब ३० वटा पसलहरुलाई लाइसेन्स दिइयो र त्यहाँबाट कर उठाउन थालियो । जसमध्ये धेरै बसन्तपुरको फ्रिक्स स्ट्रिट अर्थात झोछें टोलमा थिए । ‘यहाँ गाँजा र चरेस पाइन्छ’ लेखिएको बोर्ड पसलहरुमा राखिन्थ्यो । त्यहाँ रहेका पसलहरुमध्ये पनि सबैभन्दा प्रसिद्ध थियो, देवी दत्त शर्माले खोलेको ‘इडेन ह्यासिस सेन्टर’ । उनले आफ्नै रेष्टुरा पनि खोलेका थिए, जहाँ गाँजा मिसाइएका विभिन्न परिकारहरु पनि पाइन्थ्यो । उनी र उनको यो पसल यति प्रसिद्ध भयो कि नेपाल आएका हिप्पीहरु प्रायले उनलाई चिन्थे ।
यही विषयलाई जोड्दै एक जना विदेशी मार्क लाइचटी (Mark Liechty) ले आफ्नो किताबFar out : Countercultural Seekers and the Tourist Encounter in Nepal लेखेका छन्, नेपालमा मारिज्वानाको पात सुकाएर बनाइने चिजलाई नेपालीले गाँजा भन्दा रहेछन् । जसलाई त्यसताका विदेशीहरुले खुबै रुचाएका थिए । डि.डि शर्माले फ्रिक स्ट्रिटमा खोलेको यो पहिलो गाँजा दोकानमा पश्चिमी युवाहरुको गाँजा माग राम्रो थियो । उनीहरुसँगै ओइरिएको थियो विदेशी डलर पनि ।
उनले यो पनि थपेका छन् कि त्यही गाँजाको प्याकेटमा लेखिएको नाम पढेर नै न्युयोर्कका गल्लीहरुमा धेरैलाई नेपाल भन्ने देश पनि रहेछ भन्ने ज्ञान भएको थियो ।
त्यस समय नेपालमा उत्पादित गाँजा विश्वमै गुणस्तर कोटीको गाँजाका रुपमा बजारमा जान्थ्यो । २००८ सालमा खाद्य तथा कृषि मन्त्रालयले प्रत्येक जिल्लामा १० विगाहा जग्गामा गाँजाको खेती गर्न पनि आह्वान गरेको थियो । यता तराईका बारा, सिरहा, धनुषा लगायत जिल्लाहरु र पश्चिमका हिमाली जिल्लाहरुमा ठूलो मात्रामा नगदे बालीका रुपमै गाँजा खेती गरिन्थ्यो ।
यता हिप्पीहरु नेपाल आएसँगै विदेशी डलर त नेपालमा भित्रियो तर सँगै धेरै चुनौतीहरु पनि थपिए । नेपालीहरु अन्य खेती गर्न छाडेर गाँजा खेतीतिर आर्कषित हुँदै गए । खाद्यान्य बालीको उत्पादन घट्यो अनि हरेक खाद्य वस्तुमा महंगी बढ्यो ।
त्यसबेला नेपाल सरकारले गाँजाबाट मात्रै वार्षिक १ लाख डलर कर उठाउँथ्यो । जुन कुरा अमेरिकालाई डाहाको विषय पनि थियो । यता हिप्पी ट्रेल हुँदै त्यसताका हजारौं अमेरिकी युवाहरु नेपालमा गाँजाकै लागि आउने गरेका थिए । कति त दुव्र्यसनमा फसेर यतै लामो समय बिताउने गर्थे । उनीहरुसँगै नेपाल भित्रिएको थियो ठूलो मात्रामा अमेरिकी डलर । यो अमेरिकाको लागि चिन्ताको विषय बन्यो । यता वार्षिक रुपमा टनका टन गाँजाहरु अमेरिका भित्रिन्थ्यो । यसलाई अवैधानिक बनाएपनि गैरकानुनी रुपमा ओसारपोसार गरिनेछ भन्ने अमेरिकालाई पहिल्यै ज्ञान थियो । त्यसमा लागेकाहरुलाई समात्ने, कडा सजायँ दिने र पक्राउ गरिएको गाँजालाई औषधीजन्य कार्यमा प्रयोग गर्ने अमेरिकाको अर्को रणनीति पनि थियो ।
यी विविध कारणहरुले गर्दा अमेरिका नेपालमा गाँजा गैरकानुनी बनाउन चाहन्थ्यो । संयुक्त राष्ट्रसंघको १९६१ को सन्धीमा नेपालले पनि हस्ताक्षर गरोस् भन्ने अमेरिका चाहन्थ्यो । यसका लागि अमेरिकाको अनुरोधमा राष्ट्रसंघले नेपाललाई दबाब दियो । सुरुमा त नेपालले अटेर गर्यो । नेपालले आफ्नो नीतिनियम नमानेको भन्दै राष्ट्रसंघले नेपालको कडा आलोचना ग¥यो । अन्ततः नेपाललाई बाध्य बनाइयो र नेपालले १६ जुलाई, १९७३ मा यस सन्धिमा हस्ताक्षर ग¥यो । अनि नेपालमा बन्यो ‘लागूऔषध नियन्त्रण ऐन २०३३ ।’
जब १९७६ मा नेपालले सो सन्धीमा हस्ताक्षर गर्यो, तब गाँजाको खेती, भण्डारण, सेवन र बिक्रीवितरणलाई अवैधानिक र दण्डनीय अपराध मानियो । यता ३० वटा पसललाई दिएको लाइसेन्स पनि खारेज गरियो । पाँच पटक संशोधन भइसकेको सो ऐनले २५ बोट गाँजा खेती गर्नेलाई तीन महिनासम्म कैद वा तीन हजार रुपैयाँसम्म जरिवाना तोकेको छ । सोभन्दा बढी खेती गर्नेलाई तीन वर्षसम्म कैद र पाँच हजार रुपैयाँ जरिवाना तोकिएको छ ।
गाँजालाई अवैधानिक मानिएपनि बाहिरी देशमा भने नेपालको गाँजाको ओसारपोसार रोकिएन । तथ्यांकले के बताउँछ भने विश्वमा माग हुने गाँजाको २ दशमलब ५ प्रतिशत देखि ५ प्रतिशतसम्मको गाँजा नेपालबाट गैरकानूनी रुपमा विश्वमा आपुर्ति हुन्छ ।
गाँजा । गाँजामा पाइने दुई मुख्य तत्वहरु हुन्, CBD (Cannanidiol) र / THC (Tetrahydro cannabinol). विशेगरी दुखाई, एन्जाइटी, छारेरोग, ग्लुकोमा, एचआइभी एडस, क्यान्सर, निन्द्रा नलाग्ने समस्यामा यसलाई औषधिका रुपमा प्रयोग गरिन्छ ।
नेपालमा गाँजाको महत्व र प्रयोग परम्परागत रुपमा नै चलिआएको मानिन्छ । उतिबेला बूढापाकाले शारीरिक पीडा र अनिद्रा हटाउन तथा एक्ला, अशक्त र दुःखद पलहरु बिताउन यसको प्रयोग गर्ने चलन थियो । भजनकिर्तनको आनन्द लिन, विभिन्न चाडपर्व मनाउन, जनावरहरु बिरामी हुँदा औषधि उपचार गर्न र साधुसन्तहरुलाई दानका रुपमा दिन पनि गाँजाकै प्रयोग गरिन्थ्यो र अझै पनि गरिन्छ ।
यसको उत्पतिमा आआफ्नै सिद्धान्तहरु रहे पनि यसलाई हिन्दुहरुले शिवको प्रसाद मानेर सेवन गर्ने चलन अझै पनि छ । अझै पनि शिवरात्री र फागु पूर्णिमा जस्ता पर्वहरुमा यसको सेवनमा भने कुनै रोक गरिएको छैन ।
ठुल्ठुला रोगहरुको उपचार यसबाट सम्भव हुने भएकाले ठुल्ठुला औषधी कम्पनीहरुको कमिसनको कारणले पनि यसलाई लामो समय अवैध बनाइएको भन्नेहरु धेरै छन् । सस्तो र सहज रुपमा पाइने गाँजा सेवनले चुरोट र रक्सीजन्य पदार्थहरु बिक्रि नहुने भएकाले चुरोट र रक्सी कम्पनीहरुले यसलाई अवैध बनाउन ठुलै राजनीति खेलेका थिए ।
गाँजालाई वैधानिक दिने विश्वका देशहरु ः
नेपालमा गाँजा खेती, खरिद बिक्री र प्रयोग गैरकानुनी बनाउन दबाब दिने अमेरिकाले भने अहिले ११ प्रदेशमा मनोरञ्जनका लागि र ३४ प्रदेशमा औषधी उपचारका लागि गाँजा खुला गरिसकेको छ । विश्वमै गाँजालाई वैधानिक बनाउने पहिलो देश हो, उरुग्वे । अहिले उरुग्वेकै बाटो पछ्याउँदै विश्वका कैयौं देशहरुले विभिन्न मापदण्डहरु निर्धारण गरी यसलाई वैधानिकता दिएको छ ।
सन् २०१९ मा मात्र अमेरिकाको कोलोराडो प्रदेशले वार्षिक रुपमा १ बिलियन डलर गाँजाबाटै आम्दानी कमाएको थियो । यता क्यानाडाको पछिल्लो तथ्यांक अनुसार त्यहाँका क्यानबिस उद्योगहरुले वार्षिक ८ दशमलब १६ मिलियन डलर देशको अर्थतन्त्रमा टेवा पु¥याएको देखाउँछ ।
यता छिमेकी राष्ट्र भारतले गाँजा खेतीबाट वार्षिक ६ खर्बको आर्थिक आम्दानी गरिरहेको विभिन्न तथ्यांकले देखाएको छ । नेपालमा पनि विभिन्न समयमा यसलाई वैधानिकता दिनुपर्छ भन्ने बहस नभएका हैनन् । नेपालमा गाँजा वैध भएसँगै भारतको गाँजा बजारलाई ठुलो असर पु¥याउने भएकाले नेपाललाई दबाएर राखेको धेरैको बुझाई छ ।
यता तथ्यांक अनुसार अमेरिकामा वार्षिक रुपमा ४ लाख ८० हजार मानिस चुरोटको प्रयोगले अकालमै मर्छन, भने ९५ हजार रक्सी सेवनले तर गाँजा सेवनले भने एक जना पनि मरेको तथ्यांक छैन ।
भनिन्छ, नेपालको जमिन गाँजा उत्पादनका लागि एकदमै उपयुक्त छ । नेपालमा सरकारको निगरानीमा व्यवसायिक रुपमा गाँजा खेती गरेर विश्व बजारमा गुणस्तर गाँजा विक्री गर्न सके, नेपालले राम्रै आम्दानी गर्न सक्छ । समृद्धिको लक्ष्य बोकेर हिँडिरहेको नेपाल सरकारलाई गाँजाको व्यावसायिक खेतिले ठूलो सघाउ पुग्ने धेरैको धारणा छ ।





