पोखरा, १० फागुन– पाहार ट्रष्ट नेपालको आठौंँ वार्षिक साधारणसभाले करिब साढे ८ करोड रुपैयाँको लागतमा विभिन्न विकास निर्माणका काम गर्ने घोषणा गरेको छ । ट्रष्टका कोषाध्यक्ष रिना थापाबाट आइतबार भएको साधारणसभामा प्रस्तुत बजेटबाट विद्यालय भवन, स्वास्थ्य केन्द्र भवन निर्माणका ११ वटा योजना, कर्मचारी कार्य क्षमता अभिवृद्धि तालिम, शैक्षिक छात्रवृत्ति, बालविकास केन्द्र सहयोग कार्यक्रमसहित पुस्तकालय विकास कार्यक्रममा ११ वटा नयाँ विद्यालयहरुमा पुस्तकालय स्थापना, १३ वटा दोश्रो र तेश्रो वर्षका पुस्तकालयहरुमा थप पुस्तक सहयोग, नयाँ विद्यालयहरुमा पुस्तकालयहरु व्यवस्थापका लागि स्थलगत सर्भेक्षण, पुस्तकालय शिक्षकहरुलाई पुस्तकालय व्यवस्थापन तालिम, हस्तान्तरण भएका ३० वटा पुस्तकालयको वार्षिक अनुगमन गरिने कार्यक्रमहरु रहेका छन् ।
साधारणसभामा पाहार ट्रष्ट नेपालका महासचिव कृष्णबहादुर गुरुङले वार्षिक प्रगति प्रतिवदेन प्रस्तुत गर्दै संस्था स्थापनाको ३० वर्षमा नेपालका ग्रामीण भेकका २१ जिल्लामा करिब २७० शिक्षा, स्वास्थ्य, पुस्तकालय, बालविकास, शौचालय भवन निर्माण गर्नुका साथै ७ जिल्लाका ५३ वटा विद्यालयहरुमा पुस्तकालयहरु स्थापना गरी सेवा प्रदान जानकारी दिए । उनका अनुसार प्रतिवेदनमा समावेश गरिएको गतवर्षभर १४ विद्यालय भवन निर्माण कार्य, विविध शैक्षिक सहयोग कार्यक्रम, पुस्तकालय परियोजना कार्यक्रम, पुस्तकालय भवन निर्माण कार्यक्रम एवम व्यवस्थापन, तालिम गरिएको जनाए । साधारणसभाको पोखरा महानगरपालिका वडा नं.८ का वडाध्यक्ष रुद्रनाथ बरालले उद्घाटन गरेका थिए ।
पाहार ट्रष्ट नेपालका एक परिकल्पनाकार एवम प्रमुख सल्लाहकार क्या.पुर्णबहादुर गुरुङ Þयोल्मोले संस्थाको ऐतिहासिकता र विगतको योगदानलाई सम्झनुपर्ने सुझाव दिए । कार्यवाहक अध्यक्ष बिजुलीबहादुर गुरुङको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको थियो ।





