पर्वत, १३ फागुन– ‘केटाकेटीको बिहे गर्न भनेर मलाई कसैले बोलाए भने अब त त्यहाँ पुगेपछि पहिले केटा र केटीको जन्म दर्ता र नागरिकता नहेरेसम्म बिहे गराउँदिन । पहिले थाहा नभएर जे जे भयो भयो । अब मैले २० वर्ष नकाटेसम्म केटीको विहे हुने भए लगन नि जुराउँदिन, मण्डपमा पनि जान्न ।’ पर्वतको फलेवास नगरपालिका—१ कार्कीनेटा घर भएका पण्डित छविचन्द्र पाध्याले भने, ‘पण्डितले यत्ति गर्दिने हो भने केटाकेटीको सानैमा बिहे नहुने रहेछ । कसैले सौता हाल्न पनि नपाउने रहेछ । प्रहरीका सरले धेरै ज्ञान दिनुभयो ।’
छविचन्द्रले ढिला गरी बूढेसकालमै भए पनि सानै उमेरमा विवाह गर्दा हुने शारीरिक, मानसिक तथा कानुनी प्रावधानको बारेमा थाहा पाएका छन् । अहिलेसम्मको जीवनमा सानै उमेरका किशोरीहरूको विवाहको लगन जुराएको भए पनि अब भने लगन जुराउनुअघि उमेरको विषयमा सरकारी निकायले प्रमाणित गरेको कागजात उनले माग्नेछन् ।
पर्वतकै कुस्मा नगरपालिकाका पण्डित सूर्यप्रसाद ढकालले पनि विहे अगाडि केटाकेटीको उमेर प्रमाणित गरेर मात्र बिहे गराउने वाचा गरेका छन् । यदि २० वर्ष भन्दा कम उमेरका किशोरीको विवाह गराएमा ३० हजार रुपैयाँ जरिवाना वा तीन वर्ष जेल वा दुवै सजाय हुन सक्छन् भन्ने कुरा उनले थाहा पाएका छन् । आफूले अहिलेसम्म सानै उमेरमा कसैको पनि विवाह नगराएको र अब झनै नगराउने ढकाल बताउँछन् ।
देशका अन्य जिल्लामा जस्तो बाल र बहु विवाहको अवस्था पर्वतमा भयाभह नरहेको भए पनि भएको अवस्थालाई समेत न्यूनीकरण गर्नका लागि प्रहरीले थालेको नयाँ कार्यक्रमबाट पण्डितहरूको काम गर्ने तरीका फेरिएको हो । नेपाली समाजमा मागी विवाह गर्नको लागि पण्डितको उपस्थिति अनिवार्य जस्तै रहेकाले कसले, कहाँ र कति उमेरमा बिहे ग¥यो भन्ने कुरा उनीहरूलाई थाहा हुन्छ । यही कारण पण्डित वा पुरोहितका माध्यमबाट बालविवाह वा बहुविवाहको अन्त्य गर्न सकिने ठानेर पर्वत प्रहरीले उनीहरूलाई भेला पारेर नेपालका प्रचलित कानुनका बारेमा जानकारी गराएपछि पण्डितहरूमा कानूनी सचेतना बढेको हो । बालविवाहको अन्त्यका लागि यो उपाय प्रभावकारी हुन सक्ने ठानेर आफूहरूले पण्डितहरूलाई भेला पारेर सचेतनामूलक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक विश्वराज अधिकारीले बताए ।
‘हाम्रो समाजमा पण्डितले विहे गर्न हुन्छ भनिदिए विहे गरिदिने हुँदैन भनिदिए बिहे नगरिदिने परम्परा रहेको छ । यसको अर्थ विवाह पुरोहितबाट निर्देशित छ भन्न सकिन्छ । हरेक विवाहमा उहाँहरूको उपस्थिति रहने भएकोले बाल विवाह रोक्न उहाँहरूलाई प्रभावकारी माध्यमका रूपमा लिएका हौँ’, डिएसपी अधिकारी भन्छन्, ‘उहाँहरूलाई भेला सानै उमेरमा विवाहगर्दा हुने असरहरू र तथा विवाह गर्ने र गराउनेहरूलाई कानूनमा रहेका प्रावधानको बारेमा जानकारी दिएका छौँ ।’
बागलुङको बेलावा घर भई पर्वत सदरमुकाम कुस्मा बजारमा बस्दै आएका पण्डित धनपति रेग्मीले प्रहरीले दिएको प्रशिक्षणबाट आफूहरूलाई धेरै ज्ञान मिलेको बताउँछन् । पण्डित तथा पुरोहितहरूबाट पनि समाजमा परिवर्तन सम्भव छ भन्ने कुरा प्रहरीले सोचेर आफूहरूलाई प्रशिक्षण दिनु खुसीको कुरा भएको रेग्मी बताउँछन् । ‘समाजमा गुरुहरूले बोलेपछि सबैले विश्वास गर्छन् । गुरुहरूको निर्देशन समाजमा अग्रणी छ । उहाँहरूको निर्णयमा नै मृत्यूकर्म, संस्कार, विवाह लगायतका निर्णय हुने गरेका छन् ।’ उनले भने, ‘गुरु तथा पुरोहितहरूबाट नै समाजमा परिवर्तन सम्भव छ भन्ने कुरा पर्वत प्रहरीलाई लागेको रहेछ भन्ने थाहा पाउँदा हामीहरूलाई खुसी लागेको छ। उहाँहरूबाट धेरै सिक्न पाइयो, यो अभियान निकै उपयोगी पनि लाग्यो ।’ पण्डितहरूलाई बाल विवाह गराउने बाबु, आमा, लमी, पुरोहित वा सहयोगी सबैलाई कसुरअनुसारको सजाय हुने, उजुरीको प्रक्रिया र तरीका, बहुविवाहको अवस्था लगायतका बारेमा जानकारी गराइएको उनले बताए ।
डिएसपी अधिकारीले बाल विवाह र बहु विवाह हो भन्ने थाहा हुँदा हुँदै पनि पुरोहितहरू त्यसको कर्मकाण्डमा संलग्न नहोउन्, त्यस्तो गर्दै गरेको भएमा नजिकैको प्रहरी कार्यालयमा जानकारी गराइयोस्, बाल र बहु विवाह सामाजिक कुरीति हुन भन्ने कुरा सबैमा पुगोस्, यस्ता समस्याले व्यक्ति परिवार र समाजमा हुने असरको बारेमा थाहा होस तथा सामाजिक विकृतिहरूको अन्त्य होस भन्ने हिसाबले आफूहरूले कार्यक्रम गरेको र त्यसको प्रभावकारिता राम्रो रहने कुरामा आफूहरू विश्वस्त रहेको बताए ।





