बागलुङ, १४ फागुन– बागलुङका सबै सडकमा सवारी साधनको भाडा समायोजन नभएकोमा युथ कांग्रेस बागलुङले प्रशासनको ध्यानाकर्षण गराएको छ ।
शुक्रबार प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेलाई ज्ञापन पत्र बुझाउँदै एक बर्षअघिनै भाडादर समायोजन गर्न सहमति भएपनि अहिलेसम्म लागू नभएको टिप्पणी गरेका छन् । युथ कांग्रेस बागलुङका अध्यक्ष सुजन सापकोटाले सबै पालिका तहसम्म पठाएको परिपत्र अनुसार भाडादर कायम नभएको जानकारी दिए ।
बागलुङदेखि बुर्तिवाङहुँदै निसीखोलाको पातीहाल्ने सम्मको अधिकांस खण्ड कालोपत्रे भैसकेको छ । कच्ची सडक हुँदाको भाडा कालोपत्रे भैसक्दापनि उत्तिकै तिर्नुपर्दा स्थानीय पीडित भएका छन् । उक्त समस्यालाई लिएर उनीहरुले ध्यानकर्षणसमेत गराएका हुन् ।
सदरमुकामदेखि ग्रामीण क्षेत्रका अन्य गन्तव्यसम्म पुग्नका लागि पनि भाडादर समायोजन नभएको उनले टिप्पणी गरेका छन् । गाउँगाउँका सडकहरु स्तरीय बन्दै जाने, सवारीधनीले भने महंगो भाडा असुल गरेर उपभोक्तालाई शोषण गरेको उनले बताए ।





