बेनी, १८ फागुन– नेपाल बैंक बेनी शाखामा सुरक्षा गार्डको रूपमा कार्यरत बेनी नगरपालिका–६,जरबुटाका ३६ वर्षीय नारायण जिसी शनिबार बिहान रात्री ड्युटी सकेर सिधै बारीमा पुगे । घर नजिकै बारीमा टनेलभित्र लटरम्म फलेको गोलभेंडा टिप्न थाले । दिउँसो जागिरमा जाँदा बिहान बेलुकी र रातको काम परेको समयमा दिनभरी तरकारी बारीमै बिताउँछन् ।
जागिरबाहेक बचेको समयलाई सदुपयोग गदैं आधा दशक अगाडीदेखि सुरू गरेको तरकारी र पशुपालनले बिस्तारै व्यावसायिक रूप लिएपछि जिसी दंग छन् । बाँझो जग्गामा प्रांगरिक मल र जैविक विषादीको प्रयोग गरी सुरू गरेको तरकारी खेतीबाट मनग्य आम्दानी गरेका छन् । तरकारी खेतीका लागि पाँचवटा हाइटेक प्रविधिको टनेलभित्र उत्पादन हुने तरकारीबाट मात्रै उनले बार्षिक साढे ३ लाखसम्म आम्दानी गर्ने गरेको बताए ।
२०७२ सालमा खानेपानीको समेत राम्रो सुविधा नभएको पाखाको बस्तीमा बेमौसमी तरकारी खेती गर्दा जिसीलाई धेरैले जिस्क्याए । अहिले भिरालो जमिनमा रहेको खेतका गह्रामा बेमौसमी तरकारी खेती भएपछि आश्चर्य चकित भएका छन् भने सीप र प्रविधिको जानकारी लिएर ब्यवसाय पनि सुरु गरेको जिसीले बताए । उनले उन्नत जातका टमाटर, काँक्रो, घिरौंला, केराउ, बोडी, सिमी, लगायत तरकारीको बीउ समेत बिक्री गर्ने गरेका छन् ।
हरेक वर्ष खर्च कटाएर पशुपालन र कृषिबाट ५ लाखसम्म आम्दानी गर्ने गरेका जिसीले कृषि पेशालाई व्यावसायिक र प्रविधिमैत्री बनाउनुपर्नेमा जो दिन्छन् । उनले खोलाबाट मोटरको प्रयोग गरी पानी ल्याउन पोखरीसमेत बनाएका छन् । ‘जागिरको कमाइले मात्रै पुग्दैन्,सामान्य कृषि ज्ञान भएकाले पनि प्लास्टिक घरभित्र तरकारी फलाउन सकिन्छ’, जिसीले भने ।
बजारमा बेमौसमी उत्पादनले राम्रो मूल्य पाउने र एक किलो तरकारीमा आधाभन्दा बढी नाफा हुने हुँदा अहिले बेमौसमी उत्पादनलाई महत्व दिएको उनले बताए । तरकारी र दूध बिक्रीसँगै उनले माछापालन सुरू गरेका छन् ।
उत्पादित टमाटरको बजारको पनि समस्या छैन । ८० देखि एक सय रुपैयाँ किलोमा टमाटर बिक्री भइरहेको छ । एउटै बोटमा ६ केजीभन्दा बढी फल्ने गरेको बताए । हाइटेक प्रविधिमा जनशक्ति कम लाग्ने भएकाले उनलाई परिवारका सदस्यले मात्रै सघाइरहेका छन् । थोपा सिंचाईको नमूना प्रयोग गरेका जिसीले कृषिमा सीप आदान–प्रदानको वातावरण नभएपनि आफू युवाहरुलाई सक्ने सहयोग गरेको बताए ।





