पर्वत, २३ फागुन– गत जेठ ३१ गते पर्वतको कुस्मा नगरपालिका ३ दुर्लुङको ढकालबारी स्थित काउलेमा बस्तीमाथिबाट आएको पहिरोमा परी मृत्यु भएकामध्ये दुई जनाको सम्झनामा अक्षयकोषको स्थापना गरिएको छ ।
दुर्लुङ माइत भई बागलुङको जैमिनी नगरपालिकामा विवाह गरेकी दिर्पा थापा र उनका छोरा विवेकको सोही पहिरोमा मृत्यु भएकोमा माइती आएको बेलामा दुःखद घट्नामा परेको भन्दै उनीहरूको स्मृतिमा देशभित्र र बाहिर रहेका दुर्लुङबासी तथा पर्वतेलीहरुको सहयोगमा १५ लाख रुपैयाँको ‘दिर्पा विवेक अजर अमर अक्षयकोष’ स्थापना गरिएको हो ।
अक्षयकोषबाट प्राप्त हुने ब्याजबाट प्राकृतिक वा अन्य दुर्घटनामा परी मृत्यु भएका, घाइते बनेका लगायत त्यसबाट पीडित बनेकाहरूलाई राहत दिने लक्ष्य राखेर नै अभियान थालिएको अभियानका संयोजक विरोधविक्रम गुरुङले बताए । ‘त्यो पहिरोमा परी नौ जनाको मृत्यु भएको थियो । उहाँहरूको निधनले अझै पनि कसैका आँखा ओभाना छैनन् । आकाशमा बादल मडारिएको दिनमा यहाँका नागरिकको सातो जान्छ ।’ उनले भने, ‘माइती आएको बेलामा चेली र भान्जाले ज्यान गुमाउनुपरेको कुरा झनै डरलाग्दो छ । त्यसैले उहाँहरूको स्मृतिमा कोष निर्माण गरिएको हो ।’ सामाजिक सञ्जालबाट कोष निर्माण गर्ने अभियान थालेपछि त्यसमा सबैले सहकार्य गरेको उनले बताए ।
कोषका लागि हालसम्म दुई सय १५ जनाले चन्दा सहयोग गरेर आजीवन सदस्य बनेका छन् । कोषबाट प्राप्त हुने ब्याजबाट सुरुवाती चरणमा दुर्लुङ र आसपासका पीडितहरूलाई सहयोग गर्ने उद्देश्य राखिएको भए पनि यसमा रकम बढाउँदै जाने र क्षेत्र पनि फराकिलो बनाउने योजना छ ।
कोषको शनिवार गण्डकी प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले औपचारिक शुभारम्भ गरेका छन् । आर्थिक अवस्था कमजोर रहेको र दीर्घ रोगबाट पीडित रहेका दुर्लुङकै तीन जना टिका शर्मा, राजेश नेपाली र सबिना गुरुङको परिवारलाई उनीहरूको उपचारमा रकम खर्चिन जनही पाँच हजार रुपैयाँका दरले आर्थिक सहयोग गरिएको छ । सो अवसरमा बोल्दै मन्त्री लम्सालले प्राकृतिक विपत्ति कसैको नियन्त्रणमा नहुने भएकोले यसलाई सहन गर्नुको विकल्प नहुने बताए । विपदमा परेको बेलालाई स्मरण गरेर दुर्लुङबासीहरुले थालेको अभियानले अब यस्तै दुर्घटनामा पर्ने धेरैलाई राहत दिन तथा उद्धारमा सघाउन सजिलो हुने उनको भनाई थियो ।
दुर्लुङ पहिरोबाट पीडित भएका परिवारहरूको लागि सरकारी, गैर सरकारी, राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा गरेर झन्डै एक करोड रुपैयाँ बराबरको सहयोग हालसम्म भएको छ । जेठ ३१ गते राती करिब सवा आठ बजेको समयमा सबै सुतिरहेको अवस्थामा पहिरो आएको थियो ।





