पोखरा, २४ फागुन– प्रथम ‘जितप्रसाद द्वा चलचित्र पत्रकारिता पुरस्कार’बाट पत्रकार श्रीराम सिग्देल पुरस्कृत हुने भएका छन् । चलचित्र पत्रकार संघ नेपाल, कास्कीले गण्डकी प्रदेशमा कार्यरत चलचित्र पत्रकारहरुमध्येबाट वर्षेनी एकजनालाई प्रदान गर्ने गरि यो पुरस्कार स्थापना गरेको हो ।
लामो समय चलचित्र पत्रकारितामा बिताएका सिग्देललाई पहिलो पुरस्कार प्रदान गर्ने निर्णय भएको संघले जनाएको छ । सिग्देल चलचित्र पत्रकार संघ कास्कीको संस्थापक अध्यक्षसमेत हुन् । आगामी फागुन २९ गते संघको साधारणसभाको अवसरमा सिग्देललाई पुरस्कार प्रदान गरिने संस्थाले जनाएको छ । संघका अनुसार यो पुरस्कारको राशी २५ हजार रुपैयाँ रहेको छ । संघले पहिलो पटक प्रदान गर्न लागेको चलचित्र पत्रकारिता पुरस्कारको प्रतिभा छनौटका लागि नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीको संयोजकत्वमा संघकै निवर्तमान अध्यक्ष रेम बिक र पोखरा फिल्म सोसाइटीका अध्यक्ष जितेश प्रधान सदस्य रहेको समिति गठन गरेको थियो । सोही छनौट समितिले सिफारिश गरेअनुसार सिग्देललाई पुरस्कार प्रदान गर्ने गरि संघको फागुन १८ गते बसेको कार्यसमिति बैठकले निर्णय गरेको थियो ।





