पर्वत, २७ फागुन– हरेक वर्ष महाशिवरात्रिका दिनमा पर्ने नेपाली सेना दिवसको अवसरमा पर्वतमा रहेको केवलजंग गुल्मले मोदीवेणीमा रहेको वृद्धाश्रममा बस्दै आएकाहरूको लागि खाद्यान्न वितरण गरेको छ ।
परिवार छोडेर वृद्धाश्रममा बस्दै आएका ज्येष्ठ नागरिकहरूलाई बेला बेलामा खाद्यान्न सङ्कट हुने गरेको छ । यही अवस्था आउन नदिनको लागि दिवसको अवसरमा वृद्धाश्रममा रहेका १२ जना ज्येष्ठ नागरिकको लागि चामल, दाल, तेल, चिनी, नुन, बिस्कुट लगायतका खाद्यान्न वितरण गरिएको गुल्मपति सेनानी रमेश थापाले बताए । ‘हरेक वर्ष महाशिवरात्रिकै दिनमा हामीले सेना दिवस मनाउँदै आएका छौँ । वृद्धाश्रममा बस्दै आउनुभएका ज्येष्ठ नागरिकहरूलाई केही हदसम्म भए पनि सहयोग होस भन्ने हेतुले मोदीवेणीमा पुगेर खाद्यान्न सहयोग गरिएको हो ।’ उनले भने, ‘सेना दिवसको अवसर पारेर गुप्तेश्वर गुफामा रहने र अन्य ठाउँका केहीलाई पनि खाद्यान्न सहयोग गरेका छौँ ।’
दिवसको दिनमा खाद्यान्न वितरण गरेको भए पनि दिवस आउनु तीन दिन अगाडिबाट नै जिल्लाका विभिन्न स्थानमा रहेका धार्मिक ठाउँहरूमा पनि सेनालाई गर्दै आएका थियो । सैनिक नागरिक सम्बन्ध स्थापनाका लागि सेनाले विभिन्न काम गर्दै आइरहेकोमा यो कामले पनि नागरिक र सैनिकको बिचमा सरल सम्बन्ध बन्ने अपेक्षा सेनाले सह सेनानी रघुनाथ रुपाखेतीले बताए ।
नेपाली सेनाले मोदीवेणी धाममा समय समयमा विभिन्न कामहरु गर्दै आइरहेको छ । नृसिंह मन्दिर संरक्षण तथा धार्मिक पर्यटकीय विकास समितिका अध्यक्ष केशवदास वैरागीका अनुसार घाटसम्म पुग्ने बाटोलाई सजिलो बनाउने, दिव्य धाम र आसपासको क्षेत्रमा सरसफाइ गर्ने लगायतका काम सेनाले गर्दै आएको छ ।





