बागलुङ, २७ फागुन– जिल्लामा पहिलोपटक विद्युतीय स्कुटर भित्रिएको छ । ‘एस एण्ड एस’ अटोमोबाइलले भारतीय कम्पनी टुनवालको विद्युतीय स्कुटर भित्राएको हो । स्कुटर शो रुमको बिहीबार बागलुङ नगरपालिकाका नगर प्रमख जनकराज पौडेलले बिहिबार शुभारम्भ गरे ।
उनले विद्युतीय सवारीसाधनले वातावरणीय स्वच्छता कायम राख्न सघाउनुका साथै र स्वदेशमै उत्पादित विद्युत्को खपत बढाउने बताए । ‘इन्धन खरिदमा नेपालबाट वार्षिक अर्बौँ रुपैयाँ बाहिरिने गरेको छ’, पौडेलले भने, ‘विद्युतीय सवारीसाधनको प्रयोगकले देशभित्रै पूँजी र स्रोतसाधनको परिचालन हुनेछ ।’
शो रुमका सञ्चालक विष्णुराज पन्तले रु. एक लाख ३५ हजारदेखि रु. दुई लाख १७ हजारसम्म मुल्य पर्ने स्कुटर बिक्रीमा राखिएको बताए । उनका अनुसार लिथियम र लिड गरी दुई किसिमका ब्याट्रीबाट चल्ने स्कुटर शो रुममा छन् ।
लिथियममा आधारित ब्याट्री भएको स्कुटर एकपटक चार्ज गरेपछि १०५ किमि र लिड ब्याट्रीबाट ६५ किमि गुड्छ । लिथियम ब्याट्रीको एक लाख ५० हजार किमि र लिड ब्याट्रीको ६५ हजार किमि ग्यारेण्टी रहेको पन्तको भनाइ छ ।
यस्तै स्कुटरलगायत अन्य पाटपुर्जामा एक वर्षको ग्यारेण्टी छ । स्कुटरको प्रतिघण्टा ५५ किमिसम्म गुड्न सक्ने क्षमता छ । विद्युत् भएको ठाउँमा ब्याट्री सजिलै चार्ज गर्न सकिने जनाइएको छ । बागलुङ बजारका केही मुख्य स्थानमा चार्जिङ स्टेशनसमेत राख्ने तयारी गरिएको सञ्चालक पन्तले बताए ।
यातायात व्यवस्था कार्यालय बागलुङका प्रमुख पारसिँह थापाले सरकारले विद्युतीय सवारीसाधनको प्रयोगलाई बढावा दिइरहेका बेला बागलुङमा विद्युतीय स्कुटर भित्रनु सुखद् रहेको बताए । कानून अनुसार दर्ता गरेर जिल्लामा विद्युतीय स्कुटर सञ्चालनको प्रबन्ध मिलाइने उनको भनाइ छ





