पोखरा, ३ चैत– पोखरा न्युरोडस्थित दमकल मार्गमा एक युवक मोटरसाइकल रोक्छन् । मोटरसाइकल पार्क गरेर नजिकै रहेको आफ्नो अफिसमा छिर्छन् । केहीबेरमा बाहिर निस्कँदा त्यहाँ एक युवक हातमा रसिद समाएर पार्किङ शुल्क उठाउन आइपुग्छन् ।
आफूले शाखा बाटोमा मोटरसाइकल पार्क गरेको र त्यहाँ पार्क गर्दा शुल्क तिर्नु नपर्ने ती युवकले विनय गर्छन् । तर, पार्किङ शुल्क उठाउन खटिएका ती कर्मचारी मान्न तयार हुँदैनन् । केहीबेर त्यहाँ भनाभन चल्छ ।
मोटरसाइकल धनी आफूले तोकिएको क्षेत्रमा मात्रै शुल्क तिर्ने र बाँकी क्षेत्रमा नतिर्ने अडान नछोडेपछि शुल्क उठाउन खटिएका कर्मचारी फोन गुमाउँछन् । केहीबेरमा एकजना व्यक्ति आइपुग्छन् र थर्काउन थाल्छन् । उनको तर्क हुन्छ, ‘अब यहाँको पनि पैसा उठाउने सम्झौता हुँदैछ । अहिल्यै पैसा दिनुस्, माथि हाम्रो कुरा भइसक्यो ।’
पोखरामा ट्याक्सी चलाएर जिविका चलाउने गणेशबहादुर पुलामीमगरलाई पनि ठेकेदार पक्षका युवाले उसैगरी थर्काए । न्युरोडमा पार्किङ शुल्क माग्न आएका ठेकेदार कम्पनीका कर्मचारीलाई गणेशले ‘अदालतले पार्किङ शुल्क नलिनु भनेको छ त’ मात्रै के भनेका थिए मोटरसाइकलमा ६, ७ जनाका युवा समूह आए ।
ती युवाको भनाइ उद्धृत गर्दै मगर सुनाउँछन्, ‘घन्टाको २०÷२० रुपैयाँ खुरुखुरु तिर्ने । नतिरे हामी ठीक पार्छौं ।’ सडकलाई पार्किङको ठेक्का दिएपछि शहरमा गुण्डागर्दी पनि मौलाउन थालेका घटनाक्रमले देखाउँछ ।
सार्वजनिक होस या निजी सवारी । पोखराका सडकमा रोक्दा पुस १ गतेदेखि घन्टाका दरले शुल्क तिर्नुपर्छ । मोटरसाइकल र स्कुटरले भने दैनिक १० रुपैयाँमात्रै तिरे पुग्छ । तर, सार्वजनिक बस लगायत ठूला सवारी साधनले पोखराका सडकमा पार्किङ गर्दा प्रतिघण्टा ३० रुपैयाँ तिर्नुपर्छ भने मझौला सवारीले प्रतिघण्टा २० रुपैयाँ । सडक किनारमा पहेँलो पोशाक लगाएका युवा सडकमा केहीबेर रोकिँदा पनि पार्किङ शुल्क उठाउन आइहाल्छन्, नदिए धम्क्याउँछन् ।
यसरी सडकबाट सवारी पार्किङ शुल्क असुल्ने ठेकेदार कम्पनी फेवा सावित्री जेभीले खटाएका कर्मचारी हुन् । उनीहरुलाई पोखरा महानगरले गत मंसिर १४ गते सडकमा पार्किङ गर्न ३ करोड १६ लाख ७० हजार रुपैयाँमा ठेक्का दिएको छ । ठेकेदार कम्पनीले २०७६ फागुनमा २७ गते नै शर्त अनुसार पहिलो किस्ता बापत ६३ लाख ३४ हजार रुपैया महानगरलाई बुझाएको थियो ।
सम्झौता हुन नपाउँदै भएको लकडाउनले सडकमा पार्किङ शुल्क उठाउन ढिलाइ भएको ठेकेदार कम्पनीले दाबी छ । लकडाउन खुलेपछि स्थिति सामान्य भयो । पोखरा महानगरका प्रमुख कार्यकारी अधिकृत महेश बराल र ठेकेदार कम्पनीका सञ्चालक ठाकुरप्रसाद गुरुङले मंसिर १४ गते सम्झौतामा हस्ताक्षर गरे । पुस १ देखि ठेकेदारले पार्किङ शुल्क उठाउन थाले ।
पोखरा महानगरले सडकलाई पाकिङका लागि ठेक्का दिन पहिलो पटक २०७५ असोज ६ गते न्युनतम ७ करोड ५७ लाख रुपैयामा ठेक्का आह्वान गरेको थियो । ३ पटकसम्म ठेक्का आह्वान गर्दा समेत कसैले निवेदन नहालेपछि चौंथो पटक २०७६ भदौ २० गते ३ करोड ६ लाख रुपैया न्युनतम मुल्य राखेपछि २ वटा ठेकेदार कम्पनीले मात्र आवेदन दिएका थिए ।
आवेदन दिएकामध्ये फेवा सावित्री जेभीले ३ करोड १६ लाख ७० हजार रुपैयाँमा पार्किङ शुल्क उठाउने जिम्मा पायो । सम्भौता उक्त ठेकेरदार कम्पनीले पोखराका मुख्य सडक सहित १५ वटा सडकबाट पार्किङ शुल्क उठाउन पाउँछन् ।
सम्झौतामै नभएको ठाउँमा पनि जबर्जस्ती पार्किङ शुल्क असुली, प्रतिकार गर्दा दिन्छन् ‘ठीक पार्ने’ चेतावनी
तर, पार्किङ शुल्क उठाउन थालेको २ साता नबित्दै ठेकेदार कम्पनीले भने सम्झौताविपरीतका शाखा सडकमा समेत शुल्क उठाउन थाल्यो । सम्झौता अनुसार पोखरा महानगरको कार्यालय अगाडिसमेत शुल्क पाइँदैन । तर, महानगर अगाडि नै उनीहरु निर्वाध शुल्क उठाइरहेको दृश्य देख्न सकिन्छ । यसले महानगरमा आउने सेवाग्राहीलाई समेत चर्को असर पारेको छ ।
ठेकेदार कम्पनीले महानगरकै कर्मचारीसँग पनि अभद्र व्यवहार गर्दै गुण्डागर्दी शैलीमा शुल्क उठाउने गरेको उनीहरुको गुनासो छ । ‘मलाई अफिस आउँदा समेत मोटरसाइकल पार्क गरेको शुल्कलिए’, एक कर्मचारीले भने, ‘निषेध गरेको ठाउँबाट पनि शुल्क उठाएको खबर आइराखेका छन्, अनुगमन गरेर ठेकेदारलाई सचेत पार्नुछ ।’
महानगरभित्रका मुख्य सडकहरु पृथ्वीचोक, न्युरोड, नयाँबजार, लेकसाइड, महेन्द्रपुल, चिप्लेढुङ्गा लगायत सडकहरु अहिले पार्किङका लागि ठेक्का गइसकेका छन् । महानगरले सहरका सम्पूर्ण मुख्य सडक पार्किङका लागि ठेक्का दिँदा सडक सवारी गुडाउन भन्दा पनि पार्किङ गर्न बनेको सन्देश जाने पोखराका नारायण तिवारी बताउँछन् ।
तिवारी र अधिवक्ता राजेन्द्रमान श्रेष्ठले सडकमा पार्किङ गर्न ठेक्का दिएको भन्दै पोखरा महानगरका प्रमुख मानबहादुर जिसी लगायतलाई विपक्षी बनाएर मुद्धा दायर गरे । अदालतले महानगरलाई कारण देखाउ आदेश जारी गरेको छ । आदेशमा व्यवस्थित बनाएर पार्किङ गर्न र व्यवस्थित नहुँदासम्म तत्कालका लागि शुल्क उठाउन रोक्न आदेश दिएको अधिवक्ता श्रेष्ठले बताए ।
सडक निर्माणको प्रयोजन सवारी गुडाउन भएको भन्दै सार्वजनिक सडकमा निजी सवारी पार्किङ गर्न निजी कम्पनीलाई दिनु गलत हुने तिवारीको भनाई छ । सडकमा पार्किङ गर्न दिनु गैरकानुनी हुने अधिवक्ता श्रेष्ठले बताए ।
पोखरा महानगर मेयर मानबहादुर जिसी स्वयं यसअघि ‘सडकमा पार्किङ गर्न दिएर महानगरलाई आम्दानी गर्नु छैन’ भन्दै आएका थिए । सडक पार्किङ गर्ने ठाउँ होइन, यो कुरा नागरिक आफैले बुझ्नुपर्छ भन्दै उनले अब सडकमा पार्किङ जर्दा शुल्क लाग्ने बताए । तर, व्यवस्थित पार्किङका लागि उनीसँग कुनै योजना छैन ।
मेयर जिसीले सडकलाई पार्किङ गर्न ठेक्का दिएपछि पार्किङ शुल्क नभई पार्किङ व्यवस्थापन शुल्क लिएको बताए । महानगरले बनाएको कानुन अनुसार नै ठेक्का दिएको भन्दै उनले पार्किङ व्यवस्थापन ठुलो इश्यु नभएको बताए । ‘हामीले पार्किङ गर्न खाली ठाउँ खोज्यौं, तर पाएनौं’, उनले भने, ‘कहाँ पार्किङ गर्ने त ?’
ठेकेदार कम्पनी फेवा सावित्री जेभीका संचालक ठाकुरप्रसाद गुरुङले भने गुण्डागर्दी नगरेको दाबी गरे । ‘गुण्डागर्दीका बारेमा महानगरमा जानकारी गराउनुस’्, उनले भने, ‘महानगरले नै कारबाही गर्ला ।’ उनले संझौतमका उल्लेख भएको बाहेक अन्य सडकबाट भने शुल्क असुली नगरको दाबी गरे ।
पोखरा महानगरका प्रमुख कार्यकारी अधिकृत महेश बरालले सडकमा पार्किङका विषयमा अनुगमन गर्न नसकिने बताए । ‘सडकमा कहाँ कहाँ कति ठाउँमा पार्किङ छन्, कहाँ अनुगमन गर्न भ्याइन्छ र’, उनले भने, ‘कुनै समस्या आए लिखित निवेदन नआइकन कारबाही गर्न सकिँदैन ।’





