मंगलबार, कार्तिक ३ २०८३

मंगलबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

मिनीटेलर हलोमा मनोमानी मूल्य, उपभोक्ता किसान मर्कामा

मिनीटेलर हलोमा मनोमानी मूल्य, उपभोक्ता किसान मर्कामा


  • ढोरपाटन संवाददाता
  • चैत्र ३ २०७७, मंगलबार

बागलुङ, ३ चैत– किसानले किन्ने मिनी टेलर हलोमा व्यापारीले मनोमानी मूल्य र ब्राण्ड बनाएर बेच्ने गरेका छन् । यसरी बेच्दा उपभोक्ताको रुपमा आउने किसानले हजारौं रुपैयाँ बढी तिर्न बाध्य छन् ।
मिनी टेलर हलोमा बिशेषगरी पेट्रोल र डिजेलबाट चल्नेहरु हुन्छन् । पेट्रोलबाट चल्नेमा ७ हर्स पावरको हुन्छ भने डिजेलबाट चल्नेहरु ६, ७ र ९ हर्स पावरका हुने गरेको नेपाल कृषि मेसिनरी व्यवसायी संघ गण्डकीका अध्यक्ष रामराज तिवारीले बताए । तर बजारमा व्यपारीले ७ दशमलब ५ हर्सपावरको भन्दै चार देखि १० हजार बढी मूल्यमा बेच्ने गरेको भेटिएको हो । त्यसरी बेच्ने काम किसानलाई सोझै ठग्ने व्यवहार भएको तिवारीले टिप्पणी गरे ।
बागलुङ र पोखरामा गरी तोकिएका व्यवसायीले मात्रै न्युनतम मूल्यमा बेच्ने गरेका छन् । संघमा आबद्ध व्यपारीले मिनिटेलरलाई ४७ हजार ५ सय देखि ४८ हजार रुपैयाँमा बेच्छन् भने त्यही सामान ७ दशमलब ५ हर्सपावरको स्टिकर राखेर ५५ हजारदेखि माथी बेच्ने गरेको भेटिएको छ । त्यसरी बेच्नेले अमेरिकन ब्राण्ड भनेर बेच्ने गरेका छन् । तिवारीका अनुसार अहिलेसम्म मिनीटेलरमा भारत र चीनका सामान मात्र नेपाल आउने गरेका हुन् ।
त्यसरी बेचेको थाहा पाएपछि कृषि ज्ञान केन्द्र बागलुङले सस्तो पाइने पसललाई नै तोकेर किसानलाइ जान भनेको छ । ‘हामीले घटीघटाउमा मूल्य मागेका थियौं, ४७ हजार ५ सय रुपैयाँमा बेच्न सक्छु भन्ने पसलबाट खरिदको प्रकृया मिलायौं’ कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराइले भने, ‘ठगी गर्ने वा चर्को मूल्य लिनेलाई हामीले सुचिकृत गर्न सकिएन ।’
ब्राण्ड फरक देखाएर चर्को मूल्य लिन नपाइने उनले बताए । केन्द्रमार्फत चालु बर्ष बागलुङमा ४६ वटा मिनीटेलर हलो ५० प्रतिशत अनुदानमा वितरण हुँदैछन् । आफ्नै पैसाले खरिद गर्ने थप २ सय किसान रहेको भट्टराइले बताए । केन्द्र गत पुसमा मात्रै स्थापना भएकोले किसानको माग अनुसारको अनुदान दिन नसकेको उनले बताए । किसानले पनि महंगो मूल्य असुल गर्नेलाई अनुगमन गरेर कारवाही गर्नुपर्ने माग गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->