पोखरा, ३ चैत– राष्ट्रिय गौरवको परियोजना हो, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल । कोभिड–१९ले निम्त्याएको लकडाउनले पनि विमानस्थलको काम रोकिएन । आउँदो असार २६ गते विमानस्थल तम्तयार हुन्छ । चिनियाँ निर्माण कम्पनी ‘सिएमसी’ले विमानस्थल नेपाल सरकारलाई बुझाउनुपर्छ । सिएससीले तोकिएकै समयमा काम सक्ने प्रतिवद्धता व्यक्त पनि गरेको छ ।
परियोजनाका नेपाली परामर्शदाता इञ्जिनियर यामबहादुर भण्डारीका अनुसार करिब ७२ प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ । दैनिकजसो ३ सय चाइनिज र ४ सयजति नेपाली कामदारले काम गरिरहेका छन् । रिठेपानीको डाँडा काट्ने, बाच्छेबुडुवामा रहेको ल्याण्डफिल साइट सार्ने वा बन्द गर्ने, विमानस्थल क्षेत्रमा आउने सेती नदीको पानी तर्काउने, इन्धन डिपो निर्माण गर्ने काम चाहिँ बाँकी छ ।
‘विमानस्थल तोकिएकै समयमा सकिन्छ तर हवाई उडान सुरक्षाको लागि ल्याण्डफिल साइट बन्द हुनैपर्छ, रिठेपानीको डाँडा काटिनैपर्छ र इन्धन डिपो चाहिन्छ’,इञ्जिनियर भण्डारीले भने,‘ यी काम नभए एयरपोर्ट बनेर पनि उडान भर्न गाह्रो हुन्छ ।’
रेडियो अन्नपूर्णले सोमबार आयोजना गरेको अन्तरक्रियात्मक संवाद श्रृंखला राउण्ड टेबलमा उनले यत्ति भनेपछि विमानस्थल निर्माण अभियन्ता विश्वशंकर पालिखेले पोखराबाट कहाँ र कसरी उडान भर्नेबारे तयारी नै नभएकाले एयपोर्ट बने पनि उडानबारे अनिश्चितता बढेको बताए ।
‘अबको १ सय १८ दिनमा पोखरा विमानस्थल तयार हुन्छ तर यहाँबाट अन्तर्राष्ट्रिय उडान कहाँ र कसरी गर्ने भन्ने तयारी नै छैन, नियतवश पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई असफल बनाउने कार्यमा केही शक्ति लागेजस्तो देखिएको छ । ’
३ हजार मिटरको धावन मार्ग हुने अपेक्षा गरेकोमा २ हजार ५ सय मिटरको मात्र बनेकोमा चिन्त्ता व्यक्त गर्दै पालिखेले पोखरा विमानस्थल संचालनअघि भारतसँग थप हवाई मार्ग खोल्न पहल हुनुपर्नेमा पनि जोड दिए । हाल नेपाल भित्रने सिमरा र नेपालगन्जको हवाई मार्गमा बढी ट्राफिक जाम भइरहेको तथ्य प्रस्तुत गर्दै उनले नयाँ विमानस्थल सो समस्या समाधानको कारक बन्नुपर्ने बताए ।
नेपाल पर्यटन बोर्डका पूर्वसदस्य तथा पर्यटन व्यवसायी बासुदेव त्रिपाठीले २४ सयभन्दा बढी व्यत्ति अनसनमा बसेर, सिंहदरबारसम्म घेर्न पुगेपछि विमानस्थल निर्माणले गति लिएको स्मरण गर्दै विमानस्थल संचालनमा ढिलाई भए धक्का दिने आन्दोलन थालिने चेतावनी दिए । उनले जग्गा अधिग्रहणको नाममा पटक–पटक स्थानीयलाई दुःख दिनुभन्दा आवश्यकताको आधारमा उचित मापदण्ड तयार पारेर नागरिकको व्यवस्थापन गर्नुपर्ने पनि बताए । उनले हाल पोखरामा वार्षिक १० लाख पर्यटक भित्रिएको तथ्याङ्क पेश गर्दै विमानस्थल घाटामा नजाने बरु यसले थप १५ लाख पर्यटक पोखरा भित्र्याउने दावी गरे ।नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख काशीराज भण्डारीले सगरमाथा क्षेत्रभन्दा पोखरा र अन्नपूर्ण क्षेत्रमा बढी पर्यटक आउने हुँदा पोखराबाट हुने अन्तर्राष्ट्रिय उडानले यो क्षेत्रको कायापलट हुने धारणा राखे । उनले अन्नपूर्ण क्षेत्रका पदयात्रा मार्गहरु मासिँदै गएकोमा चिन्ता व्यक्त गर्दै विमानस्थलसँगै पर्यटकको बसाई लम्ब्याउने योजना आवश्यक पर्ने धारणा राखे ।
क्षेत्रीयको फुर्को चाहिँदैन
कार्यक्रममा बोल्ने वक्ताहरुले पोखरामा बन्दै गरेको विमानस्थलबाट अन्तर्राष्ट्रिय सहरमा उडान हुने भएपछि यसमा ‘क्षेत्रीय विमानस्थल’को फुर्को जोड्न नहुनेमा सहमति जनाए ।
‘क्षेत्रीय भन्ने शब्द चाहिँदैन, यो अन्तर्राष्ट्रिय विमानस्थल नै हो’,इञ्जिनियर भण्डारीले भने,‘नाम सच्चिएला ।’ वक्ता विश्वशंकर पालिखे र बासुदेव त्रिपाठीले देश संघीयतामा गए पनि केन्द्रीकृत सोचका कारण पोखरा विमानस्थलमा क्षेत्रीयको फुर्को झुण्ड्याइएको आरोप लगाए ।





