बागलुङ, ३ चैत– जिल्लाको निसीखोला गाउँपालिकाका सबै वडामा सडक सञ्जाल विस्तार गरिएको छ । स्थानीय सरकार गठन पछिका चार वर्षमा गाउँपालिकाले सबै वडा सडक विस्तार गरेको हो । सडक बनेपछि स्थानीयलाई ओहोरदोहोरमा मात्रै होईन स्थानी वस्तुको बजारीकरणमा समेत सहज भएको छ ।
पहिले सडक नरहेका वडामा गाउँपालिकाले प्राथमिकताका साथ बजेट विनियोजन गरेको थियो । गाउँपालिकाको पहलमा बितेका चार वर्षमा ८८ किलोमिटर सडक बनेको गाउँपालिका अध्यक्ष तारानाथ पौडेलले बताए ।
‘मध्यपहाडी लोकमार्गले सबै वडामा छोएको छ, त्यो बाहेक वडा मुकाम र गाउँहरुमा सडक सञ्जाल थिएन’ पौडेलले भने ‘चार वर्षमा हामीले सडकमा मात्रै ठुलो लगानी गरेर ट्याक बनाएका छौं ।’ मध्यपहाडी लोकमार्गले सातवटै वडा चिरेको गाउँपालिकाको मुख्य सडक लोकमार्ग नै हो ।
लोकमार्ग बाहेकका सडक गाउँतहमा जोड्नका लागि थप सहज भएको पौडेलले बताए । कालोपत्रे भएको लोकमार्गबाट वडा र टोलहरुमा जोडिएका सडकका कारण दैनिकीमा सहज भएको स्थानीय बताउँछन् । निसीखोलामा प्रदेश र संघीय सरकारले बनाएका सडकको भने अभिलेख राखिएको छैन् । नयाँ सडक निर्माणमा ध्यान केन्द्रित गरेको गाउँपालिकाले आफ्नो सक्रियतामा पक्कि सडक बनाउने विषयमा भने नसोचेको अध्यक्ष पौडेल बताउँछन् ।
‘बल्ल त सडक सञ्जाल पु¥याऔं, अब स्तरोन्नती र कालोपत्रेको विषयमा सोच्छौं’ पौडेलले भने ‘कठिन भूगोल भएका गाउँहरुमा कच्चि सडक पु¥याउनका लागि नै हाम्रो समय खर्च भयो । निसीखोलामा मध्यपहाडीबाहेक भएका सबै सडक कच्चि छन् । डोजर अपरेटरकै भरमा बनाईएका सडक हिउँदमा धुलाम्मे र वर्षात्को समयमा हिलाम्मे हुने गरेका कारण स्थानीय मारमा पर्ने गरेका छन् । भएका सडकको स्तरोन्नती गरेर बाह्रै महिना चल्ने बनाउँदा सडकको सदुपयोग राम्रो हुने स्थानीयले बताए ।
बागलुङमा साविकका गाउँविकास समितिहरुलाई एकिकृत गरेर बनाएका गाउँपालिकामध्ये निसीखोला दुर्गम गाउँपालिकाको रुपमा परिचित छ । यहाँ स्थानीय सरकारमा जनप्रतिनिधि निर्वाचित भएर आउनुपूर्व वडा मुकामहरुमा समेत सडक सञ्जाल पुगेको थिएन् । अहिले कच्चि सडकले निसीखोलाका हरेक वडाहरु जोडेको छ । वडामा पुगेका सडकहरुले बिचमा पर्ने गाउँ टोल र बस्तीहरु जोडीसकेकाले अब भने गाउँपालिकाले सडकको स्तरोन्नतीमा ध्यान दिने जनाएको छ ।





