मंगलबार, कार्तिक ३ २०८३

मंगलबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

पसल छाडेर तरकारी र पशुपालन

पसल छाडेर तरकारी र पशुपालन

गिरिराज र लोकल कुखुराको स्वाद खोज्नेलाई बढी मौका दिइने


  • ढोरपाटन संवाददाता
  • चैत्र ५ २०७७, बिहिबार
krisi form

बागलुङ, ५ चैत – लामो समयदेखि पसलको व्यापार गरेका युवाले चटक्कै छाडेर कृषि पेशामा हानिएका छन् । गलकोट नगरपालिका–५ का टोपबहादुर खत्रीले फोटो भिडियोको व्यवसाय छाडेर नमूना कृषि फर्म संचालनमा लागेका हुन् । उनले कृषिका फसल फलाउनेदेखि कुखुरा, बंगुर र अन्य पशुजन्य फर्म चलाउन लागेका हुन् ।
खत्रीले दरमखोला नजिकै ‘दरमखोला एग्रीकल्चर एण्ड लाइभ स्टक’ फर्म संचालनमा ल्याएका हुन् । आफ्नो जग्गाबाहेक २५ रोपनी भाडाको जमिन लिएर उनले फर्म थालेको बताए । वर्षमा डेढलाख रुपैयाँ उनले भाडामा मात्रै खर्चेका छन् ।
आफ्नै रेष्टुरेन्टसमेत चलाउने गरी थालिएको यो फर्ममा बिशेषगरी गिरिराज र लोकल कुखुराको स्वाद खोज्नेलाई बढी मौका दिइने उनले बताए । त्यसबाहेक लौकाट, टर्की, बट्टाइ, र हाँससमेत पालिनेछ । खत्रीले जिल्लाकै ठूलो ह्याचरी मेसिन पनि संचालन तयारी गरेका छन् । गलकोटभरीका किसानले उत्पादन गरेका अण्डाहरु कोरल्ने अवसर उनले जुटाउन लागेको बताए ।
फर्ममा बंगुर र माछा पालनलाई बढी प्राथमिकता दिइनेछ । त्यसका लागि उनले ठूला संरचना बनाएका छन् । बंगुरका पाठापाठी राखेर फर्म चलाइसकेका छन् । माछाका लागि पनि उनले अन्तिम तयारी गरेका छन् ।
अर्गानिक तरकारीमा फर्मलाई अब्बल बनाउने उनको योजना छ । उनको मेहेनतले सफलता पाएमा जिल्लाकै ठूलो फर्म बन्ने वडा अध्यक्ष नरबहादुर खत्रीले बताए । उनको फर्ममा कम्तिमा २० युवाले रोजगारी पाउनेछन् ।
हटियादेखि हरिचौरहुँदै ताराखोला जाने सडकबाट नजिकै तत्काल बस्ती बढ्ने संभावना नभएकोले उक्त जग्गा रोजेको उनले बताए । यहाँको परम्परागत कुलोमा ठूलो पानी एकैपटक चलाउन सकिने भएकोले हिउँद र वर्षात्मा सिंचाइ सुबिधा पनि पुग्छ । माछा र अन्य पशुपंक्षी पालन भएकोले सुरक्षित स्थान खोजेको उनले बताए ।
गलकोट क्षेत्रमा सानो फर्ममा कुखुरा, बाख्रा र बंगुर पालनका दर्जनौं फर्म छन् । तर उनको सबैभन्दा ठूलो फर्म हुनेछ । त्यसका लागि उनले गलकोटमै प्राविधिक राख्न पहल थालेको बताए । ‘नगरपालिकामा कुरा गरेको छु, उहाँहरुले पनि खोजी गर्ने भन्नुभएको छ’ खत्रीले भने, ‘पशुपंक्षीमा आउने समस्याबारे समय समयमा उपचार र प्राविधिक सहयोग चाहिन्छ, त्यसका लािग सबै किसानले माग गरिरहेका छन् ।’ उनका अनुसार, बिशेषगरी बंगुर, कुखुरा र अन्य पशुपंक्षीको मासु खान योग्य छ भनेर प्रमाणित गर्ने र रोगले मरेको भए परिक्षण गरिदिने पशु चिकित्सक आवस्यक पर्ने उनले बताए ।
खत्रीका अधिकांस साथीहरु जापान र युरोप हानिएका छन् । तर उनले गाउँमै लगानी गरेर केही उपलब्धीसमेत गराउने योजना सुनाए । उनको योजनामा स्थानीय अगुवाहरुले पनि हौसला थपेका छन् । नगरपालिकाका जनप्रतिनिधिले पनि हौसला थपेर साथ र सहयोग गर्ने प्रतिवद्धता जनाएपछि फर्म संचालन गरेको उनले बताए ।
‘अर्गानिक खाना खुवाउने योजना हो, त्यसैले सबैको साथ पाइएला’ उनले भने, ‘मैले विदेश मोह पनि त्यागें, अन्य व्यवसायलाई पनि छाडेर यता लागेको हुँ ।’ उनले एकैपटकमा १० हजार माछा उत्पादन गर्न सक्ने लक्ष्यसमेत राखेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->