बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

बागलुङ बलेवाको नेपानेमा फस्टाउँदो पर्यटन

बागलुङ बलेवाको नेपानेमा फस्टाउँदो पर्यटन


  • ढोरपाटन संवाददाता
  • चैत्र १० २०७७, मंगलबार
बागलुङ नगरपालिका वडा नं. १४ नेपानेमा निर्माण भएको बन्जीजम्प क्षेत्र । तस्वीर: ढोरपाटन

बागलुङ, १० चैत – बागलुङ नगरपालिका वडा नं. १४ नेपानेमा निर्माण भएको बन्जीजम्प र त्यस आसपासमा बनेका पर्यटकीय स्थालमा दैनिक सयौंको भिड लाग्न थालेको छ ।
भिड बढेसँगै बलेवा क्षेत्रको व्यवसायपनि बढेको छ । दैनिक सयौं मानिस आउने भएपछि व्यवसायमा लगानी गर्न पनि स्थानीय सक्रिय छन् । ‘विदेश जान तयारी गरेका थियौं, अहिले यहीँ केही व्यवसाय बढ्ला जस्तो भएको छ’, स्थानीय हेमबहादुर जिसीले भने, ‘गाउँमै बसेर केही गर्न सकिने भए किन विदेशिनु भन्ने भएको छ ।’ गाउँका युवाहरुले रेष्टुरेन्ट खोल्न थालेका छन् भने किसानले तरकारी उत्पादनमा जोड दिएको उनले बताए ।
बन्जीजम्प बन्नुअघि बागलुङ र पर्वतका व्यवसायीले खोलेको यान्त्रिक पुल, नेपालकै अग्लो झोलुंगे पुललगायतले बलेवातर्फ व्यवसाय बिस्तार भएको थियो । दक्षिण बागलुङतर्फ जाने जिपहरुसमेत यहाँबाट चल्न थालिसकेका छन् । ‘दशकअघि यहाँ बाँदर मात्रै हिँड्ने भीर थियो, बिस्तारै रेष्टुरेण्ट खोल्ने, चहलपहल बढ्ने कारणले व्यवसाय बढ्दो छ’,वडाध्यक्ष चक्रबहादुर खत्रीले भने, ‘एयरपोर्ट बन्ने भएपछि व्यवसाय अझै बढ्ने देखिन्छ ।’
कुश्मा बजार नजिकै भएको, सहजै वारपार गर्न सकिने, धेरै पर्यटक आउने भएपछि व्यवसायले सफलता पाउन थालेको उनले बताए । चालु आर्थिक वर्षभित्र एयरपोर्ट समेत चलाउने गरी निर्माण भैरहेको छ ।
व्यवसायकै कारण यहाँको नेपाने, कैया र नारायणस्थानमा जग्गाको मूल्य समेत आकासिएको छ । पहिला ५० हजार नपर्ने घडेरी अहिले ४ लाख देखि ६ लाखमा बिक्री भएको जिसीले बताए । धेरै मानिसले महंगो मूल्य तिरेर भीर छेउछाउको जग्गा किन्न खोजी गरेपछि मूल्य बढेको हो । कतिपयले यहाँ जग्गा किनेका छन् भने कतिपयले तयारी गरिरहेका छन् । बन्जीजम्प चलाएको द किलिफले बन्जीसँगै हेलिकोप्टर सवार गरेर पर्यटकलाई घुमाएपछि झनै आर्कषण बढेको हो ।
‘पहिला खरबारी थियो, अहिले मानिसको भिड बढ्न थालेपछि भ्यू प्वाइन्ट र रेष्टुरेन्ट खोल्न छोराहरुले लगानी गरेका छन्’, जिसीले भने, ‘बिदेश जान खुट्टा उचालेका थिए, अहिले यहीं केही गरौं भन्दैछन् ।’ विदेश जान लाग्ने लगानी गाउँमै लगाउने योजना उनीहरुले बुनेको बताए । यहाँ बागलुङ नगरपालिकाले सबै संरचनाको सूचीकरण र दर्ता समेत गराएको छ ।
जैमिनी नगरको कुश्मीसेरादेखि सयौं लिटर दूध नेपाने र पर्वतको कुश्मा बजारमा बिक्री हुन थालेको छ । दूध बेचेरै कतिपय किसानले मासिक १५ देखि १८ हजार कमाउन सकेको बताए । पुलहरु बनेपछि फेरिएको नयाँ रुटमा रोजगारीको अवसर पनि बढेको हो । अग्लो पुल बनेपछि बागलुङको अमलाचौर, नारायणस्थान, कुश्मीसेरा, पैयुपाटा, बिनामारे लगायतका किसानले उत्पादन गर्ने तरकारी र दूधले सहज पहुँच पाएको किसानले बताए ।
पुलकै कारण बागलुङका दक्षिणी गाविसबासीले रातको समयमा पनि बिरामी बोकेरै कुश्मा लैजान सकेका छन् । भीरछेउका जमिनलाई कतिपयले वनभोज गर्ने स्थल पनि बनाएका छन् । बागलुङ र पर्वतका अधिकांश समूहले वनभोजकालागि ती स्थान रोज्न थालेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->