तनहुँ, १० चैत – सोमबार दिउँसो तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले शुक्लागण्डकी नगरपालिकामा सञ्चालित पाउरोटी उद्योगको अनुगमन गरे । उपभोक्ताको गुनासो आएपछि यहाँको बेलचौतारा र खैरेनीटार बजारमा सञ्चालित उद्योग अनुगमन गरेका उनले कुनै पनि उद्योगले मापदण्ड पूरा गरेको भेटेनन् ।
बेलचौताराको कृष्ण पाउरोटी उद्योग, खैरेनीटारका सूर्य पाउरोटी भण्डार, आयसा अरमान पाउरोटी उद्योग र प्रिती बेकरी उद्योगमा अनुगमन गर्दा सबैमा एउटै समस्या । उद्योग सञ्चालनका निम्ति आवश्यक प्रक्रिया पूरा भएकै छैन । अर्कोतिर उपभोक्ताको स्वास्थ्यमा खेलवाड गरेको भेटियो । न उद्योगमा उत्पादित वस्तुको लेबलिङ छ न त सरसफाइ नै । उद्योग वरपर झिंगा भन्किरहेको थियो । मंगलबारको उत्पादन मिति राखेर बजार पठाउन प्याकेजिङ गरिरहेको समेत फेला परेको छ ।
जिल्ला प्रशासन कार्यालयले गरेको अनुगमनमा कुनै पनि उद्योगले मापदण्ड पूरा नगरेपछि सञ्चालकलाई मंगलबार कागजातसहित बोलाइएको छ । उद्योग सञ्चालकलाई कानुनी कारबाही गर्ने सहायक सिडिओ बरालले बताए ।
‘अधिकांश उद्योगहरु फोहोर । व्यवस्थित तरिकाले नराखेको । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट अनुज्ञापत्र नलिएको र व्यवस्थित तरिकाले नचलाएको पाइयो’, बरालले भने, ‘खाद्यको नमूना संकलन गरेका छौं ।’
खाद्य ऐन २०२३ र उपभोक्ता संरक्षण ऐन र नियमावली अनुसार कारबाही गरिने बरालले बताए । उनले कहींकतै उपभोक्ता मारमा परेको भए सूचना दिन अनुरोध गरे । सञ्चारकर्मीसँग सक्षिप्त कुराकानी गर्दै अनुगमनलाई निरन्तरता दिने सुनाए ।
उपभोक्ताको स्वास्थ्यलाई मध्यनजर गर्दै हरेक महिना बजार अनुगमन गर्नुपर्ने शुक्लागण्डकी उद्योग वाणिज्य संघका उपाध्यक्ष सुजित हिराचन बताउँछन् । उनी भन्छन्, ‘बजार अनुगमनले उद्योगी व्यवसायीलाई अनुशासित बनाउँछ । गुणस्तरीय सेवा दिन प्रतिबद्ध बनाउँछ ।’ उनले व्यवसाय गर्दा उपभोक्तको हितलाई पनि ख्याल गर्न सुझाव दिए ।
आइतबार जिल्ला प्रशासन कार्यालय तनहुँको अनुगमन टोलीले व्यास नगरपालिकामा सञ्चालित उद्योगमा अनुगमन गरेको थियो । अनुज्ञापत्र नलिई उत्पादन गर्ने तनहुँको व्यास नगरपालिका–२ मालेगबरमा सञ्चालित न्यु झलक दालमोठ उद्योग बन्द गराइएको थियो ।





