पर्वत, १० चैत – उद्योग वाणिज्य संघ पर्वतको अध्यक्षमा साझा समावेशी व्यावसायिक प्यानलका गोपी अधिकारी निर्वाचित भएका छन् । गत शनिवार भएको निर्वाचनपछि सोही रातीबाट सुरु भई मङ्गलवार बिहान सम्पन्न भएको मतगणना अनुसार उनले एक हजार १६ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी व्यावसायिक साझा प्यानलका शिव शर्मा पौडेलले आठ सय ९७ मत प्राप्त गरेका छन् । योसँगै अधिकारीले एक सय १९ मतको अन्तरमा पौडेललाई पराजित गरेका हुन् ।
यस्तै दुई जना महिला सदस्यहरूमा पनि साझा समावेशी व्यावसायिक प्यानलका माया गिरी र देवी अधिकारी क्रमशः नौ सय १७ र एक हजार २६ मतको साथमा विजयी भएका छन् । बाँकी रहेका २० जना सदस्यमध्ये १३ जना अधिकारी प्यानलका विजयी भएका छन् भने सात जना पौडेल प्यानलका रहेका छन् ।
अधिकारी प्यानलबाट विजयी बनेका सदस्यहरूमा शेर बहादुर चोचाङ्गी (९०४), राजन गुरुङ (९०२), कृष्ण प्रसाद श्रेष्ठ (९३४), नारायण प्रसाद पौडेल (८९०), प्रदीप तिमिल्सिना (९१४), मीन प्रसाद शर्मा (९२६), रमेश शर्मा लामिछाने (९७७), कमल शर्मा लामिछाने (८९३), नारायण बहादुर के.सी (९०४), ठाकुर बी पौडेल (१०३७), कमल बहादुर जी.सी (९५३), गणेश कुमार श्रेष्ठ (९४९) र गणेश लामिछाने (९७५) रहेका छन् ।
यस्तै पौडेल प्यानलबाट कृष्ण प्रसाद शर्मा (मेटल) (८९९), रामु शर्मा (८९३), कृष्ण प्रसाद शर्मा (९२८), मानसिंह भण्डारी (९०५), दीपेन्द्र गिरी (८९३), विनोद आचार्य (८८३) र राजकुमार बस्नेत (१००२) रहेका छन् ।
जिल्लामा मतदाताको सङ्ख्या करिब २३ सय रहेको भए पनि निर्वाचनमा एक हजार नौ सय ९३ मत खसेका थिए । खसेकामध्ये ६८ मत बदर भएका छन् ।





