
बागलुङ, १२ चैत – नेपालकै एकमात्र शिकार आरक्ष ढोरपाटनमा दोश्रो सिजनको सिकार सुरु हुने भएको छ । अघिल्लो वर्षदेखि कोरोना संक्रमण र लकडाउनले अलपत्र परेको सिकार यो बर्षको पहिलो सिजनमा पनि सुरु हुन सकेको थिएन ।
विदेशी साहसी शिकारीको रोजाइमा यो पटक ८ वटा नाउर र ४ झारलको शिकार हुन लागेको आरक्षका प्रमुख संरक्षण अधिकृत बीरेन्द्र कंडेलले जानकारी दिए । हरेक वर्ष कात्तिक र चैतमा दुई सिजन शिकार खुल्ने गरेको छ । चालु बर्षको दोश्रो सिजनका लागि स्पेनका ३ जना, अमेरिकाका १ जना, रसियाका १ जना, युक्रेनका १ र फ्रान्सका २ गरी ८ जना शिकारीले शिकार गर्ने छन् ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले १० नाउर र ६ झारलको लागि खुलाएको बोलपत्र आब्हानमा सोचेभन्दा थोरै शिकारी आएका हुन् । शिकारी आउने देशमा अझै कोरोना संक्रमणको समस्याले थोरै आएको अनुमान गरिएको छ । आएका शिकारीलाई आरक्ष कार्यालयले ब्लक अनुसारको क्षेत्र तोकेर पठाउने काम गर्ने सहायक संरक्षण अधिकृत सूर्य खड्काले बताए ।
आरक्षका अनुसार ग्लोबल सफारिज नेपालले ३ नाउर र १ झारल, नेपाल ट्राभल्स एक्पिडिसन प्रालिले ४ नाउर र २ झारल, हिमालयन सफारिजले १ झारल र १ नाउर शिकार गर्न पाउने अनुमति लिएका हुन् । विश्वव्यापी कोरोनाले शिकार प्रभावित भएको ग्लोबल सफारिज नेपाल प्रालिका संचालक शम्शेर पराजुलीले बताए । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा ११ अनुसार कुनैपनि व्यक्तिले शिकार अनुमतिपत्र लिएर शिकार खेल्न पाउने व्यवस्था छ ।
विभागले तोके अनुसारको राजश्व बुझाउने र हतियार चलाउन सक्ने लाइसेन्स समेत भएको व्यक्तिले मात्र शिकार अनुमतिपत्र लिन पाउने व्यवस्था छ । नेपाली र विदेशी जुनसुकै नागरिकले पाउने भएपनि अहिलेसम्म विदेशी शिकारीले मात्रै अनुमति लिएर शिकार गरिरहेका छन् ।
स्थानीय सहयोगीको रुपमा भने उनीहरुले बागलुङलगायत बिभिन्न क्षेत्रका व्यवासायिक शिकारीलाई साथ लिने गरेका छन् । ढोरपाटनमा शिकार गरेपछि अधिकांस शिकारीले मासु खाएर सिंग, खुर र छाला मात्रै आफ्नो देशमा लैजान्छन् । अन्तराष्ट्रिय तहमा हुने प्रतियोगितामा उनीहरुले सिंगको प्रतिष्पर्धा गरेर ट्रफी जित्ने गरेका छन् ।





