बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

हात्तिपाइले बिरुद्धको औषधि नखाइदिँदा समस्या

हात्तिपाइले बिरुद्धको औषधि नखाइदिँदा समस्या


  • ढोरपाटन सम्वाददाता
  • चैत्र १५ २०७७, आइतबार

पर्वत, १५ चैत– कोरोना कहरलाई नियन्त्रणमा राख्नुपरेको चुनौतीको बीचमा पनि स्वास्थ्य कार्यालय पर्वतलाई हात्तीपाइले रोगको जोखिम न्यूनीकरण अर्को ठूलो चुनौति बनेको छ ।
छिमेकी जिल्ला म्याग्दीमा छ चरणमा औषधि खुवाएपछि हात्तीपाइले रोगको औषधि खुवाउनु नपर्ने अवस्था भयो तर पर्वतमा चैत २० गतेबाट १२ औँ चरणमा पुन औषधि खुवाउने अभियान सुरु हुँदैछ । यो अवस्था रहनु स्वास्थ्य क्षेत्रको लागि चुनौति बनेको छ । हुनत, पर्वत जस्तै गण्डकी प्रदेशकै अन्य दुई जिल्ला बागलुङ र लमजुङमा पनि यो पटक पनि औषधि खुवाउने अभियान चल्दैछ ।
स्वास्थ्य कार्यालय पर्वतका तथ्याङ्क अधिकृत प्रवीण भण्डारीका अनुसार औषधि सेवन गरेपछि केही वर्षको अन्तरमा सर्वेक्षण हुने गर्दछ । त्यसमा करिब ३ सयजनाको रगत लिएर परीक्षण गरिन्छ । जसमा एक प्रतिशत भन्दा तलको जनसंख्यामा सङ्क्रमण रहेको अवस्थामा जोखिम भएको मानेर औषधि खुवाउनुपर्ने हुँदैन । पर्वतको अवस्थालाई हेर्दा मुख्यगरी कुस्मा नगरपालिका–१ पाङमा समस्या बढी देखिएको छ भने फलेवास नगरपालिका–५ खानीगाउँमा रहेको समस्या हट्दै गएको छ ।
अधिकृत भण्डारीका अनुसार पर्वतमा पाँच पटकसम्म गरिएका सर्वेक्षणहरू असफल भएका छन् । १२ औँ चरणमा औषधि खुवाएपछि गरिने सर्वेक्षण समेत असफल भएमा पुनः ६ वर्षसम्म पर्वतबासीहरुले हात्तीपाइलेविरुद्धको औषधि सेवन गर्नुपर्छ ।
कुस्मा नगरपालिका–१ पाङमा पाँचौँ पटकसम्म गरिएको सर्वेक्षणमा पनि संक्रमणको दर एक प्रतिशतभन्दा तल नझरेपछि त्यहीँका बासिन्दाका कारण जिल्लाभरका सबै नागरिकले औषधि सेवन गर्नुपर्ने बाध्यता बनेको हो । स्वास्थ्य कार्यालयमा रहेको तथ्याङ्क अनुसार सन २००१ मा गरिएको सर्वेक्षणमा बेसलाई ४.८३ प्रतिशत रहेको थियो अर्थात् रगत संकलन गरिएकामध्ये त्यत्तिमा हात्तीपाइलेको जीवाणु फेला परेको थियो । सन २०११ बाट औषधि खुवाउन सुरु गरेपछि सर्वेक्षण गर्ने केन्द्रका रुपमा खानीगाउँ र पाङलाई राखियो, औषधि पनि खुवाइयो । सन २०१४ मा गरिएको सर्वेक्षणमा खानीगाउँमा सङ्क्रमणको अवस्था ०.९७ प्रतिशत आयो भने खानीगाउँको २.५८ प्रतिशत । एक प्रतिशतमा नझरेपछि औषधि खुवाउने क्रम चलिनै रह्यो । सन २०१६ मा गरिएको परीक्षणमा खानीगाउँको नतिजा ०.६७ र पाङको २.९५ प्रतिशत देखियो। जति औषधि खुवाइयो तर पाङमा संक्रमण झनै बढेको देखियो । सन २०१८ मा गरिएको सर्वेक्षणमा खानीगाउँमा ०.६७ र पाङमा २.९५ प्रतिशत हुँदै पाङको अवस्था खस्कियो । लगातार ११ वर्षसम्म औषधि खुवाएपछि पछिल्लोपटक सन २०२० मा खानीगाउँका तीन सय छ जना र पाङका तीन सय १५ जनाको रगत सङ्कलन गरेर हात्तीपाइलेको परीक्षण गर्दा खानी गाउँमा संक्रमणको अवस्था ०.३२६ र पाङमा झनै बढेर ५.३९ प्रतिशत पुग्यो ।
संक्रमणको अवस्थालाई एक प्रतिशतभन्दा तल लैजाने लक्ष्य राखेर हरेकवर्ष औषधि खुवाउने अभियान चलाए पनि पाङकै कारण जिल्लाभर औषधि खुवाउनुपर्ने भएको हो ।
पाङमा यस्तो किन भइरहेको छ ? भन्नेबारे स्वास्थ्यकर्मी र सम्बन्धितस्थानीय नागरिकमा कुरा राख्दा समस्याको मुख्य कारण धार्मिक किंवदन्ती रहेको पाइको छ । नमूनाका लागि छनोटमा परेको पाङको त्यो बस्तीका नागरिक यति कट्टर छन् कि उनीहरू अरू कसैले छोएको पानी नै पिउन मान्दैनन् । औषधि खानुलाई पनि नराम्रो नै मान्छन् ।
‘दलित भनेर होइन कि ब्राह्मणले नै छोएको पानी पनि उहाँहरू पिउनुहुन्न । स्वास्थ्यकर्मीहरू औषधि र पानी बोकेर जाँदा कुनै न कुनै बहानामा औषधि सेवन नगर्ने, पछि खान्छु भनेर हातमा लिए पनि नखाइदिने समस्या भोगियो’, स्वास्थ्य कार्यालयका एक कर्मचारीले भने, ‘उहाँहरूको हठका कारण जिल्लाभरका सबै नागरिकले कतिपटक औषधि खाँदै बस्दै गर्नुपर्ने हो ? एकपटक खाइदिँदा साथ त रोगको ट्रान्समिसन नै रोकिन्छ अनि ज्वरो आउँदा, टाउको दुख्दा औषधि खाएको पनि पाइएको छ । हात्तीपाइलेको किन नखाने ?’
स्वास्थ्य कार्यालय पर्वतले खानी गाउँमा रहेको समस्या हटेर गएको भए पनि पाङको समस्या उस्तै रहेकाले यस चरणको अभियानमा कडाइका साथ औषधि सेवन कार्यक्रम कार्यान्वयन गर्ने योजना बनाएको छ । यसमा सहकार्य गर्नको लागि कुस्मा नगरपालिकाको कार्यालय, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा पनि समन्वयका लागि निवेदन गरिएको स्वास्थ्यका कर्मचारीहरू बताउँछन् ।
पर्वतमा सन २०१० बाट हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउन सुरु गरिएको थियो । सुरुमा महिला स्वास्थ्य स्वयंसेविकाले वितरण गरेर सुरु गरिएको अभियानको पछिल्लो चरणमा आइपुग्दा स्वास्थ्यकर्मीको प्रत्यक्षमा निगरानीमा खाने व्यवस्था मिलाइएको छ । सबैले औषधि सेवन गरेर संक्रमणको अवस्था एक प्रतिशतभन्दा तल झरेपछि देशका ५१ जिल्लामा यो अभियान रोकिइसकेको छ । अहिलेसम्म सबैभन्दा बढी कपिलवस्तुमा १२ औँ चरणको अभियान सम्पन्न भइसकेको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->