बागलुङ, १८ चैत– पढ्ने बेला परिवार र साथीभाईले प्राविधिक विषय पढेपछि रोजगारी पाईन्छ भनेर सुझाए । सोही अनुसार इलेक्ट्रोनिक्स सव–ओभरसियर कोर्ष उनले पास गरे । सरकारी जागिर खान निकै समस्या, निजी क्षेत्रमा गरिने जागिरले खर्च चलाउनै मुस्किल । पढेको विषय नभएपनि घरपरिवारले परम्परागत रुपमा बंगुर पाल्ने गरेका थिए ।
इलेक्ट्रोनिक्स सव–ओभरसियरको पढाई सकेका बागलुङको बरेङ गाउँपालिका–२ हुग्दीशिर बाराकोटका ३० वर्षीय कुमार बुढाथोकीले अहिले त्यही परम्परागत बंगुरपालनमा भविश्य खोजिरहेका छन् । जागिर खाएपछि मात्रै आम्दानी हुन्छ भनेर इलेक्ट्रोनिक्स सव–ओभरसियर पढेका बुढाथोकीले अहिले बंगुर फार्मबाट वार्षिक रुपमा ५ लाख रुपैयाँ आम्दानी गर्छन् ।
आँफैले गरेको व्यवसायबाट भएको आम्दानीले उनी फुरुङ्ग छन् । वार्षिक हुने आम्दानीबाट बुढाथोकीले १ लाख ५० हजार रुपैयाँ बचत गर्ने सुनाए । उनले हरेक वर्ष पाठापाठी बेचेरै आम्दानी बटुल्छन् । ‘सानो रकमले सुरु गरेको हुँ’ बुढाथोकी भन्छन्,‘एकै वर्षमा दर्जनौं पाठा जन्मिन्छन्, बजारको समस्या नभएकाले राम्रो आम्दानी छ ।’
उनले २०७२ सालदेखि निरन्तर पाठापाठी बेच्दै आएका छन् । बरेङमा उनको बंगुर फर्म निकै चर्चित छ । ‘सव–ओभरसियर पढेर पनि जागिर पाइन, पाँच वर्ष त्यत्तिकै बित्यो’ बुढाथोकीले भने, ‘केही त गर्नुपर्छ भन्ने सोचले बंगुर फर्म सञ्चालन गरेँ ।’
तीन लाख रुपैयाँबाट सुरु भएको उनको व्यवसायमा अहिले दश लाख बढीको लगानी छ । बंगुरले खाने दानाका लागि खर्च हुन्छ भने काममा उनी आँफै खटिन्छन् । ‘यो पेशाबाट मसन्तुष्ट छु, पाठा बिक्री गर्न अन्यत्र लैजानु पर्दैन, घरमै आउँछन्’, बुढाथोकीले भने ।
उनले गुल्मीको शान्तिपुर, बागलुङको गलकोट, बरेङका विभिन्न वडाबाट बंगुरका पाठापाठीको माग आउने गरेको बताए । बुढाथोकीले फर्मलाई थप व्यवस्थित बनाउने योजना बनाएको सुनाए । ‘बस्तीबीचमा रहेको फार्म केही टाढा लैजाने सुरसार गरेको छु’ उनले भने,‘बंगुरको संख्या बढाएर २ सय पु¥याउने लक्ष्य छ ।’
उनलाई सरकारले पनि साथ दिएको छ । गण्डकी प्रदेश सरकारबाट १ लाख ५० हजार रुपैयाँ अनुदानको लागि सम्झौता भएको उनले सुनाए । बंगुर फर्मको लागि सुरुवातमा बरेङ गाउँपालिकाले १० हजार रुपैयाँ अनुदान दिएको थियो । ‘दुख गरे राम्रो आम्दानी छ, पढेकै विषयमा काम गर्नुपर्छ भन्ने छैन्’, उनले भने ।





